टोकियो/किरात याक्थुङ चुम्लुङ, जापानले मिति २०२४ जनवरी २८ तारिख आइतबार जापानको राजधानी टोकियोको सिनओकुबोस्थित सोलमारी मुरा हलमा विधान सम्मेलन गर्ने मिति तय गरेको छ ।
आसन्न छैटौं महाधिवेशलाई सहज रूपमा सम्पन्न गर्न महाधिवेशन अगावै विधान सम्मेलन गर्न लागिएको संस्थाका महासचिव मुक्साम लाओतीले बताउनु भएको छ । विधान सम्मेलनमा संशोधित विधान मस्यौदा प्रस्तुत गरि पारित गरिने छ । साथै, विधान सम्मेलनकै समयमा संस्थाको साङ्गठनिक तथा आर्थिक प्रतिवेदन समेत प्रस्तुत गरि छलफलबाट पारित गर्ने कार्यक्रम तय गरिएको छ ।
किरात याक्थुङ चुम्लुङ, जापानको संशोधित विधान मस्यौदा निर्माणका लागि उपाध्यक्ष देवेन्द्र लाओतीको संयोजकत्वमा सचिव लाखध्वज मादेम्बा र सदस्य लोकेन नेयाङहाङ दुई सदस्य रहनेगरि तीन सदस्यीय संशोधित विधान मस्यौदा निर्माण समिति बनाई जिम्मेवारी प्रदान गरिएको छ । साङ्गठनिक प्रतिवेदन तयारीका लागि महासचिव मुक्साम लाओती र आर्थिक प्रतिवेदन तयारीका लागि कोषाध्यक्ष सन्दीपकुमार चेम्जोङलाई जिम्मेवारी प्रदान गरेको छ ।
किरात याक्थुङ चुम्लुङ, जापानले साधारण सदस्यताका लागि आव्हान गरि जापानमा रहेका दुई सय एकहत्तर जना याक्थुङहरूलाई साधारण सदस्यता वितरण तथा नवीकरण गर्ने कार्य सम्पन्न गरेको छ । साधारण सदस्यहरूलाई मिति २०२४ जनवरी २० सम्ममा छैटौं महाधिवेशनमा प्रतिनिधि बन्नका लागि नाम दर्ता गर्न आव्हान गरेको छ ।
विधान सम्मेलनमा संस्थाको कार्यमितिका पदाधिकारी तथा सदस्यहरू, सल्लाहकारहरू, क्षेत्रीय समितिका पदाधिकारीहरू र महाधिवेशन प्रतिनिधिहरूको सहभागिता हुनेछ । सम्मेलनले संशोधित विधान तथा साङ्गठनीक र आर्थिक प्रतिवेदन पारित गर्नुका साथै भावी लक्ष्य तथा योजनाबारेमा बृहत् छलफल गर्नेछ ।
यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।
लेखकबाट थप...