एजेन्सी – भारतको बम्बे उच्च अदालतले महाराष्ट्र सरकारसँग लुडो भाग्यको खेल हो कि दिमागी क्षमता उपयोग गर्ने खेल हो भन्ने विषयमा जवाफ मागेको छ । 

महाराष्ट्र नवनिर्माण सेनाका पदाधिकारी केशव रमेश मुलेले दायर गरेको निवेदनउपर सुनुवाइ गर्दै अदालतले जवाफ मागेको हो । 

मुलेले लुडो सुप्रिम याप नामक मोबाइल याप्लिकेसनको मालिक क्याशग्रेल प्राइभेट लिमिटेडविरुद्ध जुवातास प्रवर्द्धन गरेको आरोप लगाउँदै मुद्दा दर्ता गरेका हुन् । 

न्यायाधीश एसएस शिन्दे र अभय आहुजाको संयुक्त इजलासले महाराष्ट्र सरकारलाई गत बिहीवार नोटिस दिएको हो ।
लुडोलाई जुवातास जस्तो गरी पैसा राखेर खेल्ने हो भने महाराष्ट्र प्रिभेन्सन अफ ग्याम्बलिङ ऐनका प्रावधान लगाउनुपर्ने मुलेको तर्क छ । लुडोमा तीन वर्षको बच्चाले पनि जित्न सक्ने हुनाले यो दिमागी क्षमता भन्दा पनि भाग्यको खेल भएको मुले बताउँछन् । 

शुरूमा मुलेले क्याशग्रेलविरुद्ध गिरगाँव प्रहरी चौकीमा उजुरी दर्ता गराउन खोजेका थिए । तर प्रहरीले उजुरी लिन नमानेपछि मुले अदालतको शरण परेका हुन् । 

अदालतले महाराष्ट्र सरकारलाई २२ जुनसम्ममा जवाफ दाखिला गर्न भनेको छ । 

यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।

द मार्जिन

लेखकबाट थप...

सम्बन्धित समाचार