काठमाडौँ - नेपाली कांग्रेसबाट बुढानीलकण्ठ नगरपालिकाको मेयर पदको उम्मेदवार विनोद चालिसे घरदैलो कार्यक्रम गरिरहेका छन् ।स्थानीय तह निर्वाचनमा कांग्रेस सभापति शेरबहादुर देउवा बस्ने टोल र कांग्रेसकै युवा नेता गगन थापाको निर्वाचन क्षेत्रमा पर्ने यस नगरपालिकामा चालिसेप्रति स्थानीय मतदाताहरु बढी आशावादी देखिन्छन् ।
काठमाडौं जिल्लाभित्र ११ नगरपालिकामध्येको एक हो, बुढानीलकण्ठ । उत्तरमा शिवपुरी राष्ट्रिय निकुञ्ज सहित करिब ३ किलोमिटर भिरालो हरियाली र दक्षिणतर्फका केही सामुदायिक वनले यो नगरपालिकाको सौन्दर्य बढाएको छ । सम्भावना रहँदारहँदै पनि पछिल्लो पाँच वर्षमा स्थानीय सरकारले चुनावमा मतदातालाई दिएको आश्वासन पुरा गर्न नसकेको देखिन्छ । 'देखिने गरी केही काम नहुँदा आफू बेखुस भएको' नगरपालिकाका मेयर उद्धव प्रसाद खरेलले मिडियासामु बताइसकेका छन् ।
कांग्रेस राजनीतिक पृष्ठभूमिबाट आएका चालिसे बितेको पाँच वर्षमा स्थानीय सरकारको अकर्मण्यता देखेर नै आफू मेयरको चुनाव लड्न आइपुगेको चालिसे बताउँछन् । आफ्नो विजयपश्चात् बुढानीलकण्ठ नगरपालिकाका बासिन्दाहरू धुवाँ धुलोबाट आजित भइसकेको, मुख्य सडक र सहायक सडकहरू स्तरोन्नति हुन नसकेको, महाभूकम्पले क्षति पुर्याएका सम्पदाहरू फेरी उठाउन नसकिएको, फोहर व्यवस्थापनले गति लिन नसकेको जस्ता समस्याहरूको समाधान हुने उनले बताए । ‘धेरै मोटा कुराभन्दा पनि नगरबासीका लागि सहज सेवा विस्तारमा मेरो ध्यान जानेछ । मलाई जिताएकोमा कसैले पछुतो मान्नुपर्ने छैन', उनले भने ।
२०४६ सालदेखि प्रजातन्त्र प्राप्तिको आन्दोलनदेखि राजनीतिमा होमिएका विनोद चालिसे कपनका स्थानीयवासी हुन् । २०४८ सालको संसदीय निर्वाचन नेपाली काँग्रेस पार्टीलाई विजयी बनाउन आफ्नो क्षेत्रबाट महत्त्वपूर्ण योगदान गरेका थिए । २०५० सालदेखि नेविसंघ गाउँ कमिटी सचिव, क्षेत्रीय सभापति, जिल्ला सदस्य, जिल्ला सहसचिव लगायत २०५३ सालमा नेविसंघको तर्फबाट विश्व भाषा क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियनमा निर्वाचित भएका थिए ।
तत्कालीन क्षेत्रीय सभापति परशुराम पोखरेलको कमिटीमा आमन्त्रित सदस्य भई काम गरिसकेका चालिसे तत्कालीन गाउँ विकास समितिको इकाई सभापति, बुढानीलकण्ठ नगर कमिटी सचिव, क्षेत्र नम्बर ४ को सचिव, प्रदेश ‘ख’ क्षेत्र नम्बर ४ को सभापति हुँदै पार्टीको १४औँ महाधिवेशनका लागि सङ्घीय महाधिवेशन प्रतिनिधिमा समेत निर्वाचित भए ।
व्यवस्थापन विषयमा स्नातकोत्तर तथा शिक्षा शास्त्रमा स्नातकसम्म अध्ययन गरेका चालिसेले विद्यालय तथा कलेजमा लामो समय प्राध्यापन गरेका छन् । उनी कवि एवम् गीतकार समेत हुन् । उनको ‘तिम्रो आँखाको आकाश’ कविता सङ्ग्रह तथा ‘मनको धुन’ गीति एल्बम बजारमा आइसकेको छ । उनले आफ्नो नयाँ गजल तथा गीति सङ्ग्रह प्रकाशोन्मुख रहेको बताए ।
सामाजिक गतिविधिको अभियान नै सञ्चालन गरेर उनको नेतृत्वमा धेरै सामाजिक कामहरू भएका छन् । वि.स. २०७२ सालको भूकम्पमा स्वयंसेवकको रूपमा काम गरेको अनुभव उनीसँग छ । कोभिड–१९ को महामारीको बिच राहत तथा स्वास्थ्य सामाग्री वितरणमा पनि उनको सहभागिता रहेको थियो । यसैगरी, कोभिड–१९ महामारीमा उनको नेतृत्वमा पार्टीको तर्फबाट नगर विपद् व्यवस्थापनमा आर्थिक सहयोग गर्नुको साथै विपद् व्यवस्थापनमा पार्टीको महत्त्वपूर्ण भूमिका देखाएका थिए ।

१. नगर प्रशासनलाई स्वचालित र भ्रष्टाचार मुक्त, पारदर्शी र नागरिक मैत्री बनाउन,
२. स्थानीय मौलिक, धार्मिक तथा सांस्कृतिक धरोहरहरू (मन्दिर, गुम्बा, जात्रा, पर्व, भाषा, साहित्य, कला संस्कृति) को विकास र संवर्द्धन गर्न,
३. सामुदायिक विद्यालयहरूको शैक्षिक गुणस्तर सुधार गर्न,
४. पानी व्यवस्थापनलाई ठोस रूपमा अघि बढाई स्वच्छ खानेपानीको उचित व्यवस्था गर्न,
५. व्यक्तित्व विकास, सशक्तीकरण र सामाजिक सुरक्षाका माध्यमले सबल र सशक्त समाजको निर्माण गर्न,
६. सूचना तथा सञ्चारमैत्री, र प्रविधियुक्त नगरको निर्माण गर्न ।
यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।
लेखकबाट थप...