काठमाडौं - साहित्यकार तारानाथ शर्माको ८७ वर्षको उमेरमा आज बिहान निधन भएको छ । बिर्सने रोग (डिमेन्सिया), उच्च रक्तचाप र मधुमेहबाट पीडित शर्माको घरमै निधन भएको पारिवारिक स्रोतले जनाएको छ ।
२०२६ सालको मदन पुरस्कार विजेता शर्माको मंगलबार मध्याह्न १२ बजे पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने कार्यक्रम रहेको नेपाल प्रज्ञा प्रतिष्ठानका उपकुलपति प्रा. डा. जगमान गुरुङले जानकारी दिएका छन् । उनको शवलाई घरबाट प्रतिष्ठानमा नल्याई सिधै पशुपति आर्यघाट लैजाने कार्यक्रम रहेको गुरूङले बताए ।
इलामको बरबोटेमा जन्मेर संस्कृत शिक्षाबाट पठन सुरु गरेका शर्माले २०१३ सालमा बनारसमा पढ्दै गर्दा बल्लभमणि दाहाल, बालकृष्ण पोखरेललगायतका साथीभाइसँग मिलेर सुरु गरेको ‘झर्रोवादी आन्दोलन’ नेपाली साहित्यको आन्दोलनमा मानक बनेर उभिएको छ ।
शर्माका बेलायततिर बरालिँदा, घनघस्याको उकालो काट्दालगायत कृति चर्चित छन् । शर्माका ‘बेलाइततिर बरालिँदा’, ‘पाताल प्रवास’ जस्ता यात्रापरक निबन्धसङ्ग्रहका नेपाली, अङ्ग्रेजी, भाषा, व्याकरणसहितका १ सयभन्दा बढी पुस्तक प्रकाशित छन् ।
शर्माले ‘बेलाइततिर बरालिँदा’ निबन्धसङ्ग्रहका लागि २०२६ सालमा मदन पुरस्कार पाएका थिए । शर्माको माध्यमिक तह पाठ्यक्रममा रहेको ‘घनघस्याको उकालो काट्ता’ निबन्धले उनको नियात्रा लेखनको अनौपचारिक र रोचक शैलीलाई चिनाउन सुरु गरेको हो । शर्माका दुई छोरा र श्रीमती रहेका छन् ।
नेपाल प्रज्ञा प्रतिस्ठानले शर्माको निधनप्रति दुख व्यक्त गर्दै शोक विज्ञप्ति सार्वजनिक गरेको छ ।
यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।
लेखकबाट थप...