‘पशुपतिनाथले रक्षा गरुन्’ लेखिएको बसबाट ओर्लिएपछि ‘मादले झोला’लाई काँखीमा च्याप्दै कलङ्कीतिर बत्तिएको बसलाई एकतानले हेरिरहेँ । सोचेँ, “ रोल्पा (रोल्पाको बस) पशुपतिनाथतिर हानियो । दर्शन गरेरै फर्किओस् ।’
***
पुस २३ । सुलिचौर साहित्य महोत्सवका लागि ढुंगेधाराबाट राजकुमार दाइ (बानियाँ)लाई र कलङ्कीबाट श्यामल दाइ (अधिकारी)लाई भित्र हालेर सेतो हाइस थानकोटतर्फको अँध्यारो क्षितिजतर्फ दौडियो । श्रावण दाइ (मुकारुङ) सहितको हाम्रो टोली बिजी मलदेखि नै हाइसमा बसिसकेको थियो ।
असमावेशी भएको बताउँदै बहिष्कार समेत खेपेको यस महोत्सवको स्टेजतर्फ हाम्रो टोली ओमिक्रोनको गाइँगुइँबिच कलङ्कीदेखि फुत्किएको थियो । टोली अगुवा थिए- युग सर्वनाम जी । तर, उनले मलाई चाहिँ खुब पर्खाएँ ।
दिउँसोको ३ बजे बसपार्क पुगेर ३ कप चिया रित्ताएपश्चात् सर्वनामजी देखिनुभएको थियो । त्यसअघि करिब २ घण्टा नयाँ बसपार्कको नयाँ-पुराना घेराहरू नाघ्दै-उफ्रिँदै रहेँ । नवनिर्मित भवनहरूले पुराना भवनका रेस्टुराँ र दोकानहरूमा सटर लगाइदिएछन् । पुराना सटरहरू भुस्याहा कुकुर र ज्यालादारी गर्नेहरूको पुच्छर हल्लाउने र मुन्टो छिराउने ठाउँ भएको थियो। ती कुकुरहरूलाई झकिझकाउ रेस्टुराँका भुँइमा झरेका बफ म:मका चोक्टाहरूमाथि झम्टा मार्ने अनुमति एवं अधिकार थिएन । ज्यालादारी गर्ने मानिसहरू ? उनीहरू कुकरका अँगालोमा जस्तो देखिन्थे ।
नयाँ बसपार्क बारबार दुई कुरा गर्थ्यो । एउटा- ‘आफ्नो समानको ख्याल गर्नुहोला । अपरिचितको भर नगर्नुहोला ।’ तर, को अपरिचित भन्ने प्रश्नको जवाफ चाहिँ उसले दिइरहेको थिएन । र, दोस्रो चाहिँ, ‘कता जाने हो ? यता जाम न ।’ दशौँले दशौँ दिशातिर तानेर ‘जाने हो ?’ भनेर सोधेँ । सबैलाई ‘हो हो’ भन्दिएर ‘म कतै गइनँ ।’
बसपार्क जाने-आउनेहरूको थलो । हतारको हाटबजार । आवतजावतको भव्यताबिच मेरो ठिङ्ग उभ्याई । समय अगाडि बढ्दै बढेन, मेरो पछि लागेर हत्तो गर्यो । पछि लागेको समयलाई अगाडि धकेल्नै हम्मेहम्मे । यो ‘लुतो कन्याई’ चाहिँ साह्रो नमज्जालाग्दो हाउ, श्यामल दाइ ।
बसपार्कमा उभिएर समयको आङमा लागेको लुतो कन्याइरहँदा कहिलेकसो जनकजी बुटवलबाट आङ कन्याउनुहुन्थ्यो । उहाँको ‘टोली हिँड्यो ?’ नामको लुतो कन्याईमा ‘हिँडेको छैन । अब हिँड्ने भन्दै छन् । अब हिँड्ला कि त’ जस्ता औषधिजन्य लेपहरू लगाइदिन्थे । एकछिन सन्चो मान्नुहुँदो हो कि कसो ? केहीबेरपछी फेरी उहाँ पर्खाइका काँपहरू कन्याउँदै सोध्नुहुन्थ्यो, “हामी कता आइपुग्यौँ ?’ …यो सिलसिला चलिरह्यो ।
पर्खिन नसक्नेहरू पर्खाउन पनि जान्दैनन् । जनकजीमा यो गजब खुबी थियो । बुटवलबाट गाडी चढेपश्चात्, जनकजी लुतो फ्याल्दै भन्दै हुनुहुन्थ्यो, ‘रातभर सुतिएन । तपाईँहरू फ्याट्टै आइपुग्ने हो कि भनेर ।’ सबिनाजी (चितवन)लाई सोधिएन, ‘उहाँको केकस्तो अवस्था रह्यो ?’
***
श्रवण दाइ, श्यामल दाइ र राजकुमार दाइ अघिल्ला सिटहरूमा, विक्रम दाइ (पवन परियार), उत्तमजी (लिम्बू) सहित म पछिल्लो सिटमा थियौं । दीपा (मग्राती) बहिनिहरू अलि अगाडि हुनुहुन्थ्यो । उमेरले अगाडि हुनु र सिट अगाडि हुनुबिच कुनै नातागत साइनो-सम्बन्ध एवं चिनापर्ची थिएन । संयोग भन्ने कुरा पनि हुन्छ । हो, भयो । यसमा थप लुतो नकन्याऔँ ।
साहित्यका अग्रणीहरूसँग यात्रा गरिरहँदा लाग्दो रहेछ, ‘यो गजब भयो ।’ हो, भयो । रोल्पा यात्रा सुखकर रहेको कुरामा सन्देह छैन । यात्रा सुखकर मात्रै भए के बताइरहनु ? फेरी, ‘सुख बताइहिँड्ने कुरा होइन, लुकाई राख्ने कुरा हो’ भन्ने दर्शन चाहिँ मेरो होइन । जसको हो, उसलाई सुखै होस् । होला त नि ?
अँ, कुनै पनि यात्रालाई चस्मा मान्दिने हो भने एउटा आँखामा सुख र अर्को आँखामा दुःख थपक्क..थपक्क बसिजान्छ । यात्रा अवधिभर दुःखसुख, सुखदु:ख बरोबर भेटिइरहन्छ । रोल्पा यात्रा नामक यस चस्मामा पनि सुख-दुःख दुवैथरि ग्लास थिए । सुखद दृश्यको दुःखद कथा र दुःखद दृश्यको सुखद व्यथा- दुवै, दुवै आँखामा थिए । र, यो संस्मरण चाहिँ सोही चस्मा उतारिफ्याँक्ने मनोदशा । सायद आवश्यकता ? सायद रहर । र, सायद ? ..सायद ।
***
श्रवण दाइ भन्दै हुनुहुन्थ्यो, ‘तपाईँको त नामै गजब । किन राख्नुभयो ?’ ‘कथा छ’ भनेर दाइलाई टार्दिएँ । ‘रोल्पा रातो छ कि छैन’ जत्तिकै यो प्रश्न पनि धेरैपटक सोधियो- ‘तपाईँको त नामै गजब । किन राख्नुभयो ?’ ।
पछि भावनाजी (थारु) ‘मलाई तपाईँको नाम उधुमै मनपर्यो भन्दै हुनुहुन्थ्यो ।’ तर, उहाँलाई पनि ‘नामको रचनागर्भ चाहिँ सुनाइन ।’ मदन भाइ (नेपाली)लाई चाहिँ बताएँ, ‘राजवल्लभ कोइरालाको अपवाद फिल्मबाट प्रभावित भएर राखेको ।’ तर कारण अर्कै थियो, 'सम्पूर्ण राज्य संयन्त्र झल्लु होइरहँदा मैले आफ्नो नाम झल्लु राख्नको पछाडि खासै कारण के नै हुन्छ र ?'
कारण नै खोतल्ने हो भने त अझ यो पनि हो- आफूलाई चिन्ने-खोज्ने १५/१६ को उमेरमा साहित्यतर्फ घोत्लिइरहँदा समाजले मलाई हेलाहितो गरेर बोलाएको नाम हो- झल्लु । तर, अब यतिखेर समाज ‘मलाई त्यस नामले बोलाउन’ मजा मान्दैन किनभने उसले मप्रति देखाएको उपेक्षा मैले चुपचाप स्विकारिदिएँ । समाज जान्दछ- ‘त्यसैलाई चिमोट्नु पर्छ, जसले आत्था आत्था गर्छ ।’
सायद यसैकारण अनन्त दाइ (अनुराग)ले लेखेका होलान् -
‘लगाउनेलाई धन्यवाद
तिनै दाग बुट्टा भएका छन् ।’
‘झल्लु’ दाग थियो, बुट्टा मैले नै बनाएको हुँ ।
***
अघिल्लो सिटका श्रवण दाइलाई पछिल्लो सिटबाट सोधेँ, ‘तपाईँले बिसे लेखेपछि कविहरूले कविता लेख्न छाडेर साह्रो प्रश्नवाजी गर्न पो थाले । आज साथीहरू कविताभरि प्रश्नवाचक चिन्ह झुन्डाइरहेका छन् । कविताले प्रश्न मात्रै गर्ने हो र ?’
दाइको छोटो उत्तर थियो, ‘कविताले प्रश्न त गर्ने हो तर, प्रश्न मात्रै गरिरहने होइन ।’
‘माथि माथि सैलुङेमा', 'तिमी तारे भीर म त लहरा’ जस्ता गीतका रचनाकार श्रवण दाइ हाम्रो समयका माइलस्टोन कवि हुन् । कसैले बुढेसकालमा तेरो समयमा के थियो र भनेर सोधेमा ‘त्यतिबेला श्रवण मुकारुङ कविता लेखिरहेका थिए’ भन्ने पाइने सुन्दरतम स्थिति छ । यो भन्दा सुन्दर कुरा के हुन् सक्थ्यो ? तर, यिनै कविवरसँग मलाई ठाडै स्वरमा एउटा प्रश्न गर्नु थियो । अग्रजलाई प्रश्न गरेर नै अनुज ‘अग्रज’ बन्ने हो । आज अग्रजलाई प्रश्न गर्न नसक्ने अनुज भोलि अनुजलाई पनि प्रश्न गर्न दिँदैन । यो कुरा समकालीन राजनीति जति कसले बताइरहेको छ र ?
‘कविता भनेको केटीहरू जस्तै हो । कसैलाई बाहुनी मनपर्छ, कसैलाई लिम्बुनी ’ यो स्क्रिन सर्ट सामाजिक सञ्जालमा हिट थियो । मलाई यही प्रसङ्गमा टेकर प्रश्न गर्नु थियो, ‘दाइले पनि के यस्तो नचाहिँदो कुरा गरेको ?’
‘मैले त्यो कुरा त्यसरी भनेकै होइन । मैले भनेको कुराको छेउ टुप्पो फ्याँकेर बिचको कुरा मात्रै झिकिएको हो ”, दाइ भन्दै जानु’भो- “कविता सौन्दर्यचेत कुरा पनि हो । त्यस हिसाबले मात्रै त्यसो भनेको । अब त्यहाँ ल्याएर लैङ्गिक चेत र सौन्दर्यबोधको अनेकन् कुरा झिकेर बहस गर्छन् भने गरुन् । मलाई एकपटक कसैले सोधेको छैन, त्यो कुरा मैले कुन प्रसङ्गमा कहाँनेर भनेको थिएँ भनेर । सोध्नेछन् भने म भन्नेछु ।” दाइको जवाफपश्चात् टिकटक जस्ता काँटछाँट र सिँगारिएको गरिएको स-साना क्लिपे बहसहरू बहसयोग्य नहुने निचोडमा त्यसपछि हामी पुगेका थियौँ ।
दाइको जवाफले मलाई शमीभन्ज्याङ स्कुल पुर्यायो, जहाँबाट मैले एसएलसी दिएँ । प्रसङ्ग अप्रसांगिक पनि ठहरिएला । तर सुनाइहालूँ ।
विद्यालय शिक्षाअन्तर्गत कक्षा १० मा तासबारे पढ्नुपर्छ । हरेक तासका पत्तीहरू चिन्नुपर्छ- एक्कादेखि दहलसम्म, गुलाम, मिस्सी र बास्सासम्म । गणितका शिक्षक (नाम नभनूँ) ‘तास’सँग सम्बन्धित एउटा हिसाब गर्दै थिए । उनी कालो बोर्डमा ‘कालो गुलाम’ लेख्दै थिए तर अन्तिम अक्षर लेख्नुपूर्व नै विद्यार्थीको हाँसो बढ्यो । बढ्दो हाँसोबिच उनी पनि विद्यार्थीतर्फ फर्केर हाँसिदिए । अन्तिम अक्षर ‘म’ मरिगए लेख्दिँदै लेखिदिएनन् किनभने लेखेकै खण्डमा पनि विद्यार्थीहरूले ‘म’ झिकेरै पढ्ने वाला थिएँ । यसो पनि भन्न सकियो, हरेक विद्यार्थीको ‘म’ साह्रो हतारिएको थियो । अधकल्चो थियो । ‘तातै खाऊँ जल्दै मरूँ’को अवस्थामा थियो । त्यस दिन, हतारिएर हामी नहाँस्दिएको भए ‘म’ लेखिन्थ्यो । तर, ‘म’ नलेखीकन क्लास तुरिएको थियो । पछि गणित सरलाई ‘सेक्सीस्ट’ बताइयो तर, वास्तवमा उनी त्यस्ता थिएनन् ।
हाँस्न हतार गरेका तिनै विद्यार्थीहरू आज टिकटकमा भेटिन्छन् । ‘सामाजिक सञ्जाल’का हतारा र हतासाबारे यत्ति नै ।
***
श्यामल दाइको आग्रहबमोजिम केबलकारमा खाना खाइयो । कुरिनटारमा । मलाई माछा खान झिँझक लाग्छ । बाँकीले माछा खाए क्यार । खाना ठिक थियो । ठिक मात्रै होइन धेरै ठिक थियो ।
राजमार्गको खाना ठिक हुनु भनेको धेरै नै काइदाको कुरा हो । चानचुने कुरा होइन ।
गाडीमा चढिसकेपश्चात् पनि ‘सफा र मिठो खाना’को गुणगान गाइरह्यौँ । कठै, मनग्य पैसा तिरेर मिठो खाना पाउनु सुखद संयोग मान्नुपर्ने ।
राजमार्गमा खाना खाने क्रममा ठगिएका हरेकसँग आ-आफ्ना किस्सा थिए । माहौल यस्तो बनिदियो कि, ‘म पनि यसरी ठगिएको छु’ भन्नु पनि आत्मगौरवको कुरा हुन् पुग्यो । पालैपालो सबैले ‘तँ भन्दा म गजबले ठगिएको थिएँ’ भन्दै सुनायौँ ।
चिसो खाना, पातलो दाल, नुन चर्को तरकारी, बासी रोटी, महँगो मूल्य, फोहोर, होटलको दुर्व्यवहार, भिडभाड र अखाद्य वस्तुको मिश्रण राजमार्गका होटेलहरूका विशेषता हुन् । यात्रुहरूलाई त्यही ओराल्ने र ‘खाए खा, नखाए घिच्’को प्रवृत्ति देखाउने गाडीचालक र होटेल साहूहरूको चारित्रिक गुणहरूका लामालामा व्याख्या-उपव्याख्याहरू भए ।
***
उत्तमजी र म सँगै थियौँ । विक्रम दाइ पल्लो झ्यालतिर ढल्किनुभयो । हामी अगाडि श्रवण दाजु घुर्दै हुनुहुन्थ्यो । अलिपछि दाजु भन्दै हुनुहुन्थ्यो, ‘निदाइएछ ।’ अलिपछि ‘निदाइएछ’ विक्रम दाइको मुखबाट पनि निस्कियो । र, अलिबेरपछी उत्तमजीले पनि भन्नुभयो - ‘निदाइएछ ।’
तर, यी निदाई पन्ध्र-बिस मिनेट लामा निदाई थिएनन् । राजमार्गमा बिछ्याइएको ‘स्पिड ब्रेकर’का कारण गाडी थरर्र थर्रर पर्न थालिहाल्यो । ड्राइभर ननिदाउन भनेर यसो गर्दा प्यासेन्जर निदाउन सकेनन् । निद्रा लागिरहेको प्यासेन्जर (म)लाई यो कुरा गतिलो लागेन ।
निन्द्रा नपर्नुको मुख्य कुरा चाहिँ- नारयणघाट- मुग्लिङ सडकखण्डमा बर्सेनि बिछ्याइने कनिका । कनिका अर्थात् काम चलाऊ काम । यही कनिके प्रवृत्तिका कारण यस भेगको यात्रा कहिल्यै सुखद हुन् पाएको छैन । हुँदाहुँदै ५/७ जना दुलाहाहरूको जम्काभेट समेत यतै भएको दृश्य यसैपालिका वर्खायाममा देखिए । ‘समृद्ध नेपाल, सुखी नेपाली’को चरितार्थ । गजब..बडा गजब ।
दाउन्ने-बुटवल सडकखण्ड पनि उस्तै रहेछ । सडकको अवस्थाका कारण दाउन्नेका होटेलमा पनि ग्राहक घटेछन्, झ्यालबाटै प्रस्ट देखिन्थ्यो । यो भेग शान्त निन्द्रामा सुतिरहेको भान हुन्थ्यो । एक मन त लाग्यो, ‘ठिकै भयो, यता पनि कौन्सा गतिलो खाना खुवाउने गर्थे र ?’ अर्को मन लाग्यो, ‘राजमार्ग आयस्रोतसँग जोडिएको कुरा हो । हामीले भात नखाइदिँदा धेरैको चुल्हो बल्दैन ।’ तर, अर्को एउटा ‘मन’लाई चाहिँ लागेछ, ‘यस्ता गल्फते कुरा छोड, पिसाब फेर्ने जोहो गर् ।’
लामो यात्रा होस्, पिसाबले च्यापोस् र फ्याट्टै विसर्जन क्रिया खत्तम होस् । यस्तो कहिल्यै भएको छ ? यस्तो होइदिए यात्राको माधुर्यता नै रहेन नि?.. खैर, मध्यरातमा यतातर्फ काम पनि फत्ते भयो । अर्को एउटा मन खुसी भयो ।
***
चितवनबाट सबिनाजी र बुटवलबाट जनकजी चढिसकेपश्चात् हामी सुस्ताएका थियौँ । सबिनाजी नारायणघाट, नारायणी नदी, सिजीका कुराहरू सुनाउँदै हुनुहुन्थ्यो क्यार । तर, म एकतमासले एकोहोरिएको थिएँ । रातले कुन्नि के गर्छ ? यात्राको क्रममा झ्यालमा टास्सिन आइपुग्ने रातका हरेक छिटा-वाछिटाहरूले मलाई हरदम भिजाइदिन्छ । यसैगरी भिजिरहँदा कुनै बेला लेखेको थिएँ,
‘रात यसकारण मलाई प्रिय लाग्छ
ऊ आफ्नो छायाँ कहिल्यै देखाउँदैन ।”
एकछिनसम्म बानियाँ दाइ र श्यामल दाइको खासखुस सुन्दै थिएँ । अलिपछि निदाइएछ क्यार ।
सबिनाजीले ‘आँखा खुल्लै’ गरेर सुतेको मेरो फोटो लिग्नुभएछ । ब्युँझिएपछि भन्दै हुनुहुन्थ्यो, ‘तपाईँको त निदाई पनि झल्लु यार ।’ आँखाको कचेरा फ्याल्दै भने, “गाडी रोकियो । जाऊ, चिया खाऔँ ।’
बिहानीपखको तुलसीपुरले हामीलाई चिया खुवायो । झिसमिसेमै चिया खाँदा चियाको रङ्ग अझ कालो देखियो । ‘रातो रङ रातमा कालो हुन्छ’ भन्ने हाम्रातिर उक्ति छ । मलाई यो उक्ति साह्रो ‘कालो’ लाग्छ । रोल्पा नजिकै भएकाले पनि हुँदो हो, मलाई यो उक्ति ‘अझ कालो’ लग्यो । भन्नेहरूका अनुसार, ‘कालो मिस्टिक कलर हो ।’ रोल्पा पनि कम मिस्टिक छैन । साहित्यमा रोल्पा मिस्टिक बिम्बको रूपमा स्थापित भएको दुई दशक नाघिसक्यो । अब सोही रोल्पाको रङ्ग कस्तो छ थाहा पाउनु थियो ।
भिमरुक र माण्डवी (माडी) नदिका मनमोहक फाँटहरू नियालिरहँदा गाडीमा गाइँगुइँ चल्यो- ‘स्वर्गद्वारी उक्लने त ?’ तर, दिलीपजी (कुँवर) हाम्रै पर्खाइमा हुनुहुन्थ्यो । यहिकारण बा ४ ख २९७४ नम्बरको सेतो हाइस प्युठानको दरवान, वडडाँडा, चकचके, भिंग्री हुँदै रोल्पातर्फ बत्तियो, बत्तिदैरह्यो.. ।
(क्रमशः…)
यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।
लेखकबाट थप...