जाजरकोट- तोकिएको समयमा विद्युत लाइन विस्तार नहुँदा जाजरकोटमा सामान्य घरायसीदेखि ठूला विकास योजनासमेत प्रभावित बनिरहेका छन् । ११ केभी प्रशारण लाइन विस्तारका लागि तीन वर्षअघि नै पोल गाडे पनि हालसम्म विद्युत विस्तार नहुँदा विकास निर्माणमा समेत ढिलाइ भइरहेको छ ।
खलंगा बाहुनथाना, पाँचकाटियाहुँदै कुशे गाउँपालिकाको विभिन्न ठाउँमा लाइन विस्तारको काम तीन वर्षदेखि रोकिएको छ । यस्तै, खलंगाहुँदै नलगाड नगरपालिका र बारेकोट गाउँपालिका जोड्ने मुख्य लाइन नलगाडको कालीमटीभन्दा अगाडि बढ्न सकेको छैन । लाइन विस्तारको जिम्मेवारी लिएका ठेकेदारले समयमा काम नगर्दा अन्य विकास निर्माणमा समेत बाधा पुगेको छ।
विद्युत अभाव कै कारणा २० लाख रुपैयाँमा स्थापना गर्न लागेको प्रि-फ्याब प्राविधिको कोल्ड स्टोर स्थापनामा चुनौती थपिएको छ । कृषि विकास कार्यालय, जाजरकोटले फलफूललाई सुरक्षित बनाउने गरी प्रि-फ्याब बनाउन गत भदौमा सहकारी संस्थाबाट प्रस्ताव मागेको थियो । कार्यालयले मागेको मापदण्डमा फेजलाइन वा विद्युत सञ्चालन हुने क्षेत्र भनि उल्लेख गरेपछि पहिलो पटकको प्रस्ताव अस्विकृत भएका थिए । फेरि कार्यालयले सोही मापदण्ड राखेर ७ पुसमा दोस्रो पटक सूचना प्रकाशित गरेको छ । दोस्रो पटक पनि फलफूल उत्पादन हुने क्षेत्रमा विद्युत नपुगेकोले असफल हुने हो कि भन्ने चिन्ता बढेको कुशे गाउँपालिकाका अगुवा कृषक शक्तिबहादुर ओलीले बताए ।
'विद्युत नभएको ठाउँमा दिन सकिँदैनु, कृषि विकास कार्यालयका प्रमुख रविन धितालले भने,‘पहिला पनि प्रस्ताव माग गरिएको रहेछ, तर मापदण्ड नपुगेर काम हुन सकेन । फेरि पनि प्रस्ताव माग गरेका छौँ, मापदण्ड पुगे काम हुन्छ । नत्र बजेट फिर्ता जान्छ ।’
यस्तै, अघिल्लो वर्ष दुध डेरी स्थापना गर्ने भन्दै पन्चासे सहकारी संस्था नलगाड नगरपालिकाको कालीमटीले १६ लाख रुपैयाँमा खरिद गरेको चिलिङ भ्याड मेसिन विद्युत अभावकै कारण सञ्चालन गर्न सकेको छैन । पशु अस्पताल तथा पशु सेवा कार्यालयको अनुदानमा उक्त मेसिन सहकारीले खरिद गरिएको थियो । दुध उत्पादनका लागि राम्रो क्षेत्र मानिएको नलगाडको लहँ, डाडागाउँलाई केन्द्रमा राखेर उक्त मेसिन जडान गरिए पनि कामविहिन भएको छ । सहकारीले आफ्नै लगानीमा जेनेरेटर खरिद गर्न समस्य भएको भन्दै अब केही दिनमा जसरी पनि उक्त मेसिन सञ्चालन गर्नका लागि पहल सुरू भएको प्रबन्धक किशोर रावलले बताए ।
विकासे कार्यालयले विद्युतबाट सञ्चालन गर्नका लागि विभिन्न प्राविधि अनुदानमा दिने गरे पनि विद्युत नहुँदा सबै कार्यक्रमहरू असफल हुँदै आएका छन् । यी त उदाहरण मात्र भए, जिल्ला भरी स्थानीय तहले समेत विभिन्न प्राविधिसँग जोडिएका कृषकमैत्री कार्यक्रम सञ्चालन गर्न खोज्दा मापदण्ड नपुगेको भन्दै बजेट फिर्ता हुने गरेको गूनासो गरेका छन् ।
व्यवसायीका कारण रोकियो विद्युतीकरण
नेपाल विद्युत प्राधिकरणले निर्माण व्यवसायीलाई कारवाही गर्नुको साँटो संरक्षण गर्दै जाँदा जाजरकोटमा अहिलेसम्म सबै ठाउँमा भइसक्ने विद्युतीकरण रोकिएको छ । ठेक्का दिँदा कार्यक्रतालाई फाइदा हुने गरी जिम्मेवारी दिँदा जिल्लाको विद्युतीकरणमा बाधा पुगेको सर्वसाधाणले बताएका छन् । शिवालय, जुनिचाँदे, नलगाड र बारेकोटमा लाइन विस्तारको ठेक्का लागेको चार वर्षपछि बल्ल काम गर्ने भन्दै दुई दिनअघि निर्माण व्यवसायी तथा नेपाली कांग्रेस जाजरकोटका उपाध्यक्ष तेजविक्रम शाह र निर्माण व्यवसायी शान्तबहादुर बस्नेतले सामग्री बुझेर लिएको जाजरकोट वितरण केन्द्रका प्रमुख अभिषेक राजले बताए ।
ठेकेदारले केही सामग्री तीन वर्षअघि बुझेर लिए पनि जथाभावी फाँक्दा पहिरो तथा खोलाले बगाइसकेको छ । लाइन विस्तारका लागि सबै सामग्री आइसकेकोले अब बहानाबाजी बनाएर काम रोक्ने अधिकार कसैलाई नभएको प्रमुख अभिषेकले बताए । त्यस्तै, जिल्लाका बडावन, समाइला, चौखामा निर्माण गर्ने भनिएका सबस्टेशनको काम समेत धिमा गतिमा भएकाले विद्युतीकरणमा समस्या देखिएको हो ।
यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।
लेखकबाट थप...