जुम्ला- जुम्लाका सबै स्थानीय तहले बालविवाह रोक्न अभियान चलाउने भएका छन् । समाजमा व्याप्त बालविवाह रोक्न जुम्लाका स्थानीयतहले अभियान चलाउने भएका हुन् । यसअघि  बालविवाह न्यूनीकरण गर्न जुम्लामा दर्जनौं संघसंस्थाले सचेतना कार्यक्रम गर्दै आएका छन् । केही गाउँपालिकाले पनि यो अभियान चलाउँदा ठूलो रकम खर्चेको पाइन्छ । सडक नाटकदेखि घरदैलोजस्ता कार्यक्रमहरू पनि बारम्बार भइरहेका छन् ।

तर, बालविवाह न्यूनीकरण हुन सकेको छैन । औपचारिकतामा सीमित चेतनामूलक कार्यक्रमले ग्रामीण क्षेत्र प्रभाव पार्न नसकेको कारण बालविवाह न्यूनीकरण हुन नसकेको हो । जिल्ला प्रहरी कार्यालयका जुम्लाका प्रहरी निरीक्षक युवन चौधरीले बालविवाह गरेको उजुरी अहिले सम्म नपरेको बताए । उनले भने आर्थिक वर्ष २०७५/७६ मा दुई वटा बालविवाहका उजुरी परेका थिए । त्यो भन्दा पछिल्लो समयमा उजुरी परेका छैनन् ।

२०६८ को जनगणनाअनुसार जुम्लाको कूल जनसंख्या एक लाख ८ हजार छ । जसमध्ये ५५ हजार ४ सय ४२ जना बालबालिका छन् । ७० प्रतिशत बालबालिकाको बालविवाह हुने गरेको एक तथ्यांकले देखाएको छ ।

 पछिल्लो समयमा जुम्लाका कुनै पनि निकायसँग बालविवाहको यकिन तथ्यांक छैन । तर, स्वास्थ्य संस्थामा गर्भजाँच गराउन आउने  २० वर्ष मुनीका  किशोरीको  संख्या नै बालविवाह विकराल बन्दै छ भन्ने  संकेत हो ।

जुम्लामा दिनप्रतिदिन बालविवाह बढ्दै गएपछि  यहाँका सरोकारवाला निकायले  कार्ययोजनासहित अगाडी बढ्ने प्रतिबद्धता गरेका हुन् । उनीहरूले तत्काल बालविवाहको तथ्यांक संकलन गर्ने,बालविवाहको कारण पत्ता लगाउने र बालविवाह रोक्नको लागि कार्ययोजना बनाएर अघि बढ्ने प्रतिबद्धता जनाएका छन् ।

बालविवाह सम्बन्धी सरोकारवालासँगको अन्तरक्रिया कार्यक्रममा उनीहरूले बालविवाह न्युनीकरण अभियानमा तदारुकताका साथ लाग्ने बताएका छन् । त्यस्तै जुम्लाको हिमा गाउँपालिकाका उपाध्यक्ष हिमाली रोकायाले बालविवाह गाउँमा व्यापक रूपमा भइरहेकोले न्यूनीकरणका लागि सचेतनामूलक कार्यक्रम भइरहेको बताइन् । उनले हिमाका सबै वडामा वडाध्यक्षको रोवरमा बालविवाह रोक्नका लागि १४ वटा सूचकमा टेकेर विभिन्न कार्यक्रम भइरहेका छन् । उनका अनुसार गाउँमा बालविवाह लुकिछिपी भइरहेको छ । हिमा गाउँपालिकाले त्यो तथ्यांक संकलन गर्न थालेको छ । 

स्थानीयतहले  बालविवाह बारे तथ्यांक संकलन गर्ने 

जुम्लाका सबै स्थानीयतहले तथ्यांक संकलन गरेर बालविवाह हुनुको कारण बारेमा पहिचान गर्नेछ । तिला गाउँपालिकाका उपाध्यक्ष विष्णु बुढाले बालविवाह बारेमा पालिकास्तरमा घनिभूत रूपमा छलफल चलाउने बताइन् । उनले बालविवाह रोक्न हरेक संयन्त्रको प्रयोग गर्दै जनचेतनामूलक क्रियाकलापलाई बढवा दिने बताइन् । 

उनले भनिन्,‘बालविवाह सामाजिक कुरीति हो। कुरीतिको रूपमा रहेको बालविवाह अन्त्य अभियानमा सबै एकजुट भएर लाग्नु पर्ने देखिएको छ ।’ उपाध्यक्ष बुढाले नीति तथा कार्यक्रममै बिहेवारि २० वर्षपारी भन्ने कार्यक्रमअघि बढाइसकेको जानकारी दिइन् । उनले चालु आर्थिक वर्षभित्रमा एउटा गाउँलाई मात्र बालविवाह मुक्त गाउँका रूपमा घोषणा गर्ने बताइन् ।

त्यस्तै दलित बस्तीमा बालविवाह बढेको, स्थानीयतहले सडक खन्नुलाई मात्र विकासका रूपमा लिएको र बालविवाह मुक्त समाज निर्माण गर्न अग्रसर नभएको गुनासो सहभागीले गरेका थिए । राष्ट्रिय मानवअधिकार आयोग कर्णाली प्रदेश शाखा कार्यालय जुम्लाका  मानवअधिकार अधिकृत धनराज शाहीले समाजले बालविवाहलाई सहज रूपमा स्वीकार गरेकोले नै बालविवाह बढेको बताए । उनले भने,‘गरिबी, अशिक्षा र कानुनी ज्ञानको अभावले बालविवाह बढेको देखिन्छ।अब स्थानीयतह र सबै सरोकारवाला मिलेर सचेतनाका कार्यक्रम ल्याउँदा उपयुक्त हुने देखिएको छ ।’

बालविवाह रोक्न बाल संरक्षण संयन्त्रको विकास गर्नुपर्ने, अन्तर संवाद चलाउनु पर्ने, धार्मिक गुरु अभिमुखीकरण गर्नुपर्ने सहभागीले जोड दिएका थिए ।
त्यस्तै सामाजिक विकास कार्यालय जुम्लाका प्रमुख तुलराज चौलागाईंले बालविवाहविरुद्ध जिल्लाभर अभियान चलाउनु पर्ने बताए । उनले जिल्लास्थित सरकारी तथा गैरसरकारी कार्यालय, स्थानीयतह, बालक्लव, किशोररकिशोरी समूह सबैको प्रतिनिधित्व हुने गरी लुज फोरम बनाएर अघि बढ्नु पर्नेमा जोड दिए । 

त्यस्तै जुम्लाका  निमित्त प्रमुख जिल्ला अधिकारी नन्दराम चौलागाईंले बालविवाहलाई सरकारले कुरीतिका रूपमा घोषणा गरिसकेको अवस्थामा कानुनी ज्ञान फैलाउनुको विकल्प नभएको बताए । उनले भने, ‘बालविवाह भएको खण्डमा सम्बन्धित निकायमा उजुरी दिनु पर्‍यो ।'

प्लान इन्टरनेशनल नेपालको आर्थिक सहयोग र क्याड नेपालको आयोजनामा बालविवाह सम्बन्धी सरोकारवालासँग अन्तरक्रिया कार्यक्रमको आयोजना गरिएको थियो । अभियान सञ्चालन गर्न जिल्ला स्तरीय सञ्जाल गठन गर्ने निष्कर्षमा पुगिएको नेपाल पत्रकार महासंघ शाखा जुम्लाका अध्यक्ष नेत्रबहादुर शाहीले बताए ।

उनले बालविवाह सम्बन्धी ऐतिहासिक पृष्ठभूमिको अध्ययन अनुसन्धान गर्ने कार्यलाई प्रोत्साहित गर्ने, बालविवाह सम्बन्धी स्टोरी लेखन तथा पुस्तक प्रकाशन गर्ने,हरेक तीन/तीन महिनामा जिल्लास्तरीय समीक्षा गर्ने र बैठकमा पेस गर्ने विषयमा समेत घनिभूत छलफल भएको बताए । 

सबै मिलेर बालविवाह नियन्त्रण गर्ने अभियान चलाउने विषयमा छलफल केन्द्रित भएको क्याड नेपालकी परियोजना अधिकृत जयालक्ष्मी चौलागाईंले जानकारी दिइन् । चन्दननाथ नमुना माद्यामिक विद्यालय जुम्लाका प्रधानाध्यापक टंकबहादुर महतले बालविवाहको विगत, वर्तमान अवस्थाका बारेमा सहजीकरण गर्दै भविष्यमा गर्नुपर्ने कामका विषयमा आफ्नो प्रस्तुति राखेका थिए ।

कार्यक्रममा नागरिक समाजका प्रतिनिधि, स्थानीयतहका महिला तथा बालबालिका शाखा प्रमुख, स्थानीयतहका उपाध्यक्ष, वडाध्यक्ष, न्यायिक समितिका सदस्यहरू, बालक्लव, सरकारी तथा गैरसरकारी निकायका प्रमुख तथा प्रतिनिधि र पत्रकारहरूको सहभागिता थियो । 

अन्तरक्रिया कार्यक्रमका सहभागी सबैले ६ बुँदे प्रतिबद्धता पत्रमा हस्ताक्षर गर्दै आगामी दिनमा कुरीतिका रूपमा रहेको बालविवाह मुक्त जिल्ला बनाउने अभियानमा हरप्रकारले अघि बढ्ने प्रतिबद्धता जाहेर गरेका छन् ।

यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।

द मार्जिन

लेखकबाट थप...

सम्बन्धित समाचार