‘डस्टह्यास’ले छोपेको काठमाण्डौं
द मार्जिन
केही दिन अघिदेखिनै काठमाण्डौंको मौसम धुम्म देखिन्थ्यो । धेरैको अनुमान थियो कि अब हिउँदे बर्षाद होला । तर त्यो पानी पार्ने बादल भने थिएन । प्रत्येक वर्षजस्तो काठमाण्डौंलाई सताइरहने ‘डस्टह्यास’ अर्थात् धुँवा र धुलो मिसिएको हावाको प्रकोप थियो । तर यसपाली यो डस्टह्यास धेरै नै बाक्लो थियो । धुँवा र धुलोले वायुमण्डल यसरी ढाकेको थियो कि शुक्रबार दिउँसोदेखि नै काठमाडौंबासीको आँखा पोल्न थालेको थियो । खराब मौसमका कारण दिउँसो ३ बजेपछि त्रिभुवन विमानस्थलमा जहाज अवतरण र उडाननै बन्द भएको थियो ।
शुक्रबार बेलुका काठमाण्डौंको एयर क्वालिटी इन्डेक्स १९८ थियो र यो संसारका सबैभन्दा प्रदुषित हावा भएका सहर बनेको थियो । एक्युआई ५० सम्म हुनु राम्रो हो । ५० देखि १०० सम्मलाई मोडरेट मानिन्छ भने १५० भन्दा माथि पुग्नु अस्वस्थकर हुन्छ । ३०० भन्दा माथि हुनुलाई एकदमै घातक मानिन्छ ।
काठमाण्डौंको हावा यति धेरै प्रदुषित हुनको कारण खुलिनसके पनि देशका विभिन्न भागमा भएको आगलागीको असर परेको हुन सक्ने आशंका छ । काठमाण्डौंको वायुमण्डलबाट रिलिज हुन नपाएको गाडी मोटर, इँटाभट्टाको धुँवा र धुलोमा डढेलोको धुँवा मिसिएकाले वायु प्रदूषण बढेको हुनसक्छ । र, यो प्रदुषित हावा वायुमण्डलबाट रिलिज हुनको लागि कि त पानी नै पर्नुपर्ने कि त ठूलो हावा चल्लनुपर्ने हुन सक्छ ।
त्यसैले विज्ञहरूले काठमाण्डौंको हावा घातक भएकाले अत्यावश्यक नपरी घरबाहिर ननिस्कन सुझाएका छन् भने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले समेत जनहितमा सूचना जारी गरिसकेको छ । यसै प्रसङ्गमा द मार्जिनले डस्टह्यास अघि र पछिका काठमाण्डौं उपत्यकाका केही तस्बिरहरु प्रस्तुत गरेको छ ः
यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।
लेखकबाट थप...