जुम्ला- तिला गाउँपालिका–७  पोख्री गाउँका हरि रोकाया पारिवारिक रुपमा आर्थिक अवस्था कमजोर भएका व्यक्ति हुन् । कक्षा १२ सम्मको अध्ययन गरेका उनले परिवारको आर्थिक अवस्था कमजोर भएका कारण बीचमै पढाइ छाड्नु पर्‍यो ।

पढाइ बीचमै छाडेका उनी अहिले होटल सञ्चालन गरिरहेका छन् । त्यसबाट राम्रो कमाइ भएको उनी बताउँछन् । सरकारी जागीर खाने धोको भएका उनले होटल व्यवसायले अहिले जीवनस्तर बदलिएको बताए । 

केही वर्षअघिसम्म बाबुआमाको  कमाइमा निर्भर उनी अहिले आफूले कमाएर घर खर्च चलाउँदै आएको बताउँछन् । ‘पहिले अरुको भरमा मात्रै सीमित थिएँ, अहिले  होटल व्यवसायले आयआर्जनको क्रियाकलाप बढाएको छ ।  घरखर्च धानेर मासिक ४० हजार बचेत हुने गरेको छु  उनले भने, 'परिवारको समृद्धिका लागि व्यावसायिक रुपमा अघि बढेका छु।'

सामान्य कमाइका लागि विदेशीने युवाका लागि उनी गतिलो उदाहरण बनेका छन् । मेहनत गरे गाउँ घरमै कमाइ गर्न सकिने उनी बताउछन् । 

सोही गाउँपालिकाका ४ का मानबहादुर  सुनार पनि न्यून आए भएका व्यक्ति हुन् । आर्थिक अवस्था कमजोर भएपछि कक्षा ८ सम्म मात्रै पढ्न पाएका उनी पनि गाउँमै व्यवसाय सञ्चालन गरिरहेका छन् । केही वर्ष पहिला कमाउनका लागि उनी विद्यालय छाडेर कमाउनका लागि भारत पुगेका थिए । तर दैनिकी चलाउनका लागि भारत जानु भन्दा गाउँमै केही व्यवसाय गर्न ठिक भएको उनी बताउँछन् ।  उनी मात्रै होइनन तिलाका धेरै युवा सिपसिकेर गाउँघरमै उद्योमी बन्ने सोचमा छन् ।  

पछिल्लो  समयमा तिला गाउँपालिकाले बेरोजगारी युवालाई रोजगारी दिने अभियान थालेको छ । बेरोजगारी समस्याका कारण निराश, उदास र दिशाहीन बनेका युवा शक्तिलाई रोजगारी दिनकै लागी सहुलियत कर्जा सजिकरणका लागी उद्यमशिलता तथा वित्तीय साक्षरता तालिम समेत गाउँपालिकाले दिएको छ । तिला गाउँपालिकाले युवासँग अध्यक्ष रोजगार कार्यक्रमार्फत् पालिकाको आर्थिक विकासलाई माथि उठाउनका लागी यस्तो कार्यक्रम संञ्चालन गरेको हो । 

पालिकामा  दक्ष उद्योमी  उत्पादन गरी कर्णाली प्रदेशकै समृद्धिका लागी परिचालन हुने तिला गाउँपालिकाका अध्यक्ष रतन थान यौगीले बताए ।  उनले भने 'युवालाइ उद्यमशिलतासँग जोडेर रोजगार बनाउने पालिकाको पहिलो लक्ष्य हो । युवा जनशक्तिलाई पालिका भित्रै रोजगारीका अवसर सिर्जना गर्नका लागी राष्ट्रिय युवा परिषद्, तिला गाउँपालिका र  नविल बैंकको साझेदारीमा उद्यमशिलता तालिम दिइएको हो ।'

उनका अनुसार युवालाई केन्द्रीत रोजगारीका कार्यक्रम ल्याउने तिला गाउँपालिका पहिलो गाउँपालिका हो । 

यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।

द मार्जिन

लेखकबाट थप...

सम्बन्धित समाचार