कांग्रेस महाधिवेशन
काठमाडौं- नेपाली कांग्रेसको १४औं महाधिवेशनमा सभापति पदका लागि भएको निर्वाचनको मतगणना चलिरहेको छ । राष्ट्रियसभा गृहमा चलिरहेको मतगणनामा शेरबहादुर देउवाको अग्रता कायमै रहेको छ ।
अहिलेसम्म ३ हजार ७ सय ७९ मत गणना हुँदा देउवाले १७९८ मत पाएका छन् । त्यस्तै अर्का उम्मेदवार शेखर कोइरालाले १४१३ र प्रकाशमान सिंहले २८६ मत प्राप्त गरेका छन् । त्यस्तै विमलेन्द्र निधिले २०० मत प्राप्त गर्दा कल्याण गुरुङको नाममा भने १९ मत मात्र प्राप्त भएको छ ।
मंगलबार बिहान पौने ४ बजेदेखि मतगणना सुरु भएको हो । पहिलो चरणमा सभापतिको मतगणना सुरु भएको हो । बिहान ११ बजे सुरु भएको मतदान राति साढे ११ बजे सम्पन्न भएको थियो ।
कूल ४ हजार ७ सय ४३ मतदातामध्ये ४ हजार ६ सय ७९ मत खसेको थियो । सभापतिको मत गणनापछि दोस्रो चरणमा पदाधिकारीहरुको र तेस्रो चरणमा केन्द्रीय सदस्यहरुको मतगणना पार्टी कार्यालय सानेपामा हुने बताइएको छ । सभापतिका कुनै पनि उम्मेदवारले ५० प्रतिशत मत कटाउन नसकेमा शीर्ष दुईबीच दोस्रो चरणमा प्रतिस्पर्धा हुनेछ ।
यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।
लेखकबाट थप...