सप्तरी- छिन्नमस्ता गाउँपालिका कार्यालय अगाडीकै भवनमा राखिएको गहुँको बिउ सोमबार तेस्रो पटक स्थानीयबाटै लुटिएको छ । कृषकका लागि अनुदानमा वितरण गर्न ल्याइएको गहुँको बिउ दिउँसै लुटिएको स्थानीय कपिल मुखियाले बताए ।

शनिबारदेखि लगातार लुटिँदै आएको गहुँको बिउको सम्बन्धित निकायले व्यवस्थापन गर्न नसक्दा पुनः सोमबार लुटिएको मेखियाको भनाई रहेको छ ।
गहुँको बिउ राखेको ठाउँबाट १५० देखि २०० मिटर पर सखडा थाना रहे पनि लुटपाट हुने क्रममै जानकारी गराउँदासमेत प्रहरी २० मिनेटपछि मात्र आएको स्थानीय राजदेव यादवले बताए ।

किसानका लागि आएको ५ सय ३० बोरा गहुँ  लुटिएपछि गरिब विपन्न किसान समस्यामा परेका छन् । यसप्रति स्थानीय जनप्रतिनिधि पनि मौन रहेको स्थानीयको गुनासो छ ।

केही दिनअघि गाउँपालिकाको बैंठकमा गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षबीच गहुँकै विषयलाई लिएर विवाद भएपछि कुटाकुट भएको थियो ।

यस सम्बन्धमा जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता माधव प्रसाद काफ्लेले गाउँपालिका अध्यक्ष, सदस्यहरूको मिलेमतोमा गहुँको बिउ लुटिएको जानकारी आए लगत्तै प्रहरी पुगेको बताए । लुटपाट गर्नेहरू भने पक्राउ पर्न सकेका छैनन् ।

यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।

द मार्जिन

लेखकबाट थप...

सम्बन्धित समाचार