दाङ- दाङ गढवा गाउँपालिकाकी सीता घर्ती विपन्न महिला हुन् । उनले आफनो जीविका चलाउन दैनिक श्रम गर्ने र छाक टार्ने गर्दै आएकी थिइन् । दुई वर्षअघि उनले जीविकोपार्जनका लागि बाख्रा पालनका लागि अनुदान रकम पाइन् । 

व्यावसायिक पशु पालिकानका लागि पाएको २५ हजार रुपैयाँले उनले चारवटा माउ बाख्रा किनिन् । एक वर्षमा दोब्बर बाख्रा भए । अहिले उनीसँग आठवटा बाख्रा छन् । दुईवटा बिक्री गरेर घर खर्च व्यवस्थापन गरिसकेकी छन् । ‘रेडक्रसले २५ हजार अनुदान दियो, त्यसले बाख्रा किनेँ । अहिले पालिरहेकी छु,’ सीताले भनिन्, ‘किनेकोभन्दा दोब्बर भयो, दुईवटा बेचेर केही आम्दानीसमेत गरिसकेँ, अहिले घर खर्च चलाउन सहज भएको छ । सानो बच्चा छ, श्रीमानले अर्को बिहे गरेर जानु भयो, मलाई अप्ठेरो परेको बेला बाख्राको अनुदान पाएँ, अहिले धेरै राहत महसुस भएको छ ।’ 

गढवाकै बालमती चौधरीसँग अहिले आठवटा बंगुर छन् । उनले अनुदान पाएको २५ हजार रुपैयाँबाट तीनवटा बंगुर किनेकी थिइन् । अहिले बढेर आठवटा पुगेका छन् । एउटा ३५ हजारमा बेचिसकेकी चौधरी दैनिक ज्यालादारी छोडेर बंगुर पालनमा व्यस्त छिन् । ‘अहिले एउटा बंगुर बेचेर ३५ हजार रुपैयाँ आम्दानी गरेकी छु,’ उनले भनिन्, ‘यसले घर खर्च, छोराछोरीलाई पढाउने काममा सहज भएको छ ।  मजदुरी गरेर खान्थेँ, अहिले बंगुर पालन गर्छु । यसबाट राम्रो आम्दानी हुने रहे छ । अब यसलाई बढाउँछु ।’ 

गीता थापाको आफ्नो स्वामित्वको जग्गासमेत छैन । ऐलानीमा घर बनाएर बेसेकी गीता अहिले बाख्रापालक किसान भएकी छन् । उनको विपन्नतालाई देखेर नेपाल रेडक्रस सोसाइटीको इन्कोर कार्यक्रमले व्यावसायिक पशुपालनका लागि अनुदान दिएपछि उनी व्यावसायिक बाख्रा पालनमा लागेको बताइन् ।  अहिले उनीसँग पाँचवटा बाख्रा छन् । दुईवटा बिक्री गरेर आम्दानीसमेत गरिसकेको सुनाइन् । उनले आफ्नो टोलमा ३३ जना महिलाहरूले अनुदान पाएर व्यावसायिक पशुपालन गरेको बताइन् ।  

नेपाल रेडक्रसको इन्कोर कार्यक्रमले राजपुर र गढवाका विभिन्न क्षेत्रका एकल महिलाहरूको आयआर्जनका लागि व्यावसायिक पशुलापनका लागि ८७९ परिवारलाई अनुदान दिएको छ । प्रतिपरिवार २५ हजार रुपैयाँका दरले दिएको अनुदान रकमबाट ८७९ जना व्यावसायिक पशुपालनमा लागेको कार्यक्रम संयोजक जगत तामाङले बताए । उनले यस क्षेत्रमा भएको कार्यक्रम प्रभावकारी देखिएको समेत बताए । संकटासन्न समुदायहरूको विपद् र स्वास्थ्यसम्बन्धी चुनौतीहरूको समावेशी उत्थानशिलतामा अभिवृद्धिको उद्देश्य राखिएको कार्यक्रमले समुदायलाई ठूलो लाभ भएको तामाङले बताए । 

अनुदान कार्यक्रमअन्तर्गत समुदायमा पशु स्वास्थ्य शिविर, लाभग्राहीलाई प्राविधिक तालिम सञ्चालन, भेटरेनरी तालिम,  नश्ल सुधारका लागि ३१ वटा बोयर जातको बोका वितरण लगायतका कार्यक्रम गरिएको छ ।   

यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।

द मार्जिन

लेखकबाट थप...

सम्बन्धित समाचार