चितवन- नेपालका राष्ट्रिय निकुञ्जमा यही मङ्सिर १९ गतेदेखि बाघ गणना गरिने भएको छ ।

गणनाको शुभारम्भ चितवन राष्ट्रिय निकुञ्जबाट गरिँदै छ । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले गणनाको नेतृत्व गर्दछ ।

देशभरका पाँच निकुञ्जमा बाघ छन् । चितवन, बर्दिया, पर्सा, शुक्लाफाँटा र बाँके राष्ट्रिय निकुञ्ज तथा आसपासका वन क्षेत्रमा बाघको गणना गरिन लागेको हो ।

हिउँदको समयमा बाघ बाटोमा आउने हुँदा यो समय गणनाका लागि उपयूक्त मानिन्छ।  क्याप्चर रिक्याप्चड विधिबाट बाघ गणना गरिन्छ । दुई/दुई ग्रिड अर्थात चार वर्ग किलोमिटरमा एक जोडी क्यामेरा राखेर गणना गरिन्छ । कम्तीमा दुई हप्ता क्यामेरा राख्नुपर्ने हुन्छ ।

चितवन र पर्सालाई एउटा कम्प्लेक्स, बाँके र बर्दियालाई दोस्रो कम्प्लेक्स र शुक्लाफाँटा तथा नजिकैको लालझाडी क्षेत्रलाई तेस्रो कम्प्लेक्स बनाएर बाघको गणना गर्न लागिएको हो । सन् २०१८ मा गरिएको बाघ गणनामा नेपालमा २३५ वयस्क बाघ फेला परेका थिए । त्यतिबेला चितवनमा ९३, बर्दियामा ८७, पर्सामा १८, शुक्लाफाँटामा १६ र बाँकेमा २१ बाघ फेला परेका थिए । 

यो सङ्ख्या अहिले बढेको अनुमान छ । सन् २०१० मा रसियाको सेन्ट पिटर्सवग भएको बाघ पाइने १३ मुलुकका राष्ट्र प्रमुखको बाघ सम्मेलनमा नेपालले सन् २०२२ सम्ममा बाघको सङ्ख्या २५० पुर्याउने प्रतिवद्धता व्यक्त गरेको थियो ।

तत्कालीन समयमा नेपालका निकुञ्जमा १२१ बाघ रहेको तथ्याङ्क थियो ।  

यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।

द मार्जिन

लेखकबाट थप...

सम्बन्धित समाचार