काठमाडौँ- सरकारले माग पूरा गर्ने भनेपछि घर फर्किएका अधिकारकर्मी रुबी खानसहितको समुह पुनः माइतीघर मण्डला आईपुगेका छन् ।
नकुन्नी धोबी र निर्मला कुर्मीको न्यायको लागि उनीहरू नेपालगञ्जबाट २० दिन पैदल हिंडेर माइतीघरमा आन्दोलनमा उत्रिएका थिए ।
घटनाको मुख्य अभियुक्त बाहिर रहेको भन्दै अधिकारकर्मी रुबी खान सहितको समूहले जिल्ला प्रशासन कार्यालय बाँके बाहिर प्रदर्शन, ज्ञापनपत्र बुझाएपछि पुनः काठमाडौँ आएको हो । अहिले उनीहरु माइतीघर मण्डलामा न्यायका लागि लडिरहेका छन् ।
गत कार्तिक २ गतेसम्म अनसन बसेका खानसहित महिलाको समूह र सरकारबीच घटनाको अनुसन्धान गर्ने, दोषीलाई कारवाही गर्ने सहमति भएको थियो ।
सहमति अनुसार गृहमन्त्रालयले छानबिन समिति बनायो, समितिले प्रतिवेदन बुझायो तर छानबिन समितिको प्रतिवेदनले औंल्याएका विषय कार्यान्वयन नभएको भन्दै उनीहरू पुनः आन्दोलनमा फर्किएका हुन् ।
सरकारले बनाएको छानविन समितिले १४ कात्तिकमा गृहमन्त्री बालकृष्ण खाणलाई बुझाएको प्रतिवेदनमा पूर्वसभासद् बादशाहको भूमिका शंकास्पद रहेको निष्कर्ष निकाल्दै अनुसन्धान गर्न सिफारिस गरिएको थियो । साथै किटानी जाहेरीमा उल्लेखित अन्य ७ जनालाई पनि पक्राउ गरेर अनुसन्धान गर्न समितिले सुझाएको थियो ।
जिल्ला प्रहरी कार्यालय, बाँकेले किटानी जाहेरी र प्रतिवेदन दुवैमा उल्लेखित रमेश थापा, पार्वती विष्ट, कृष्णमुरारी सिंह, उर्मिला कनोजिया, अमरलाल कुर्मी, धीरेन्द्र सिंह र कुँवर बबन सिंह पक्राउ परिसकेका छन् । तीमध्ये बबन सिंह ८० वर्ष पुग्न लागेकाले हाजिरी जमानीमा छाडिएको छ ।
घटनाका मुख्य आरोपी संविधानसभाका सदस्य बादशाह कुर्मीलाई प्रहरीले पक्राउ नगर्दा पीडित पक्षलाई मुद्दा फिर्ता लिन दबाब र धम्की आइरहेको खानको समुहले बताएको छ ।
यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।
लेखकबाट थप...