धनकुटा- धनकुटा नगरपालिकामा मुख्य थलो रहेको आठपहरिया यतिबेला आफ्नो प्रमुख चाड वाडाङ्मेट मनाउन व्यस्त छन्। आठपहरिया राईहरूको वर्षभरिमा परेको मृत्यु शोक सामूहिक रूपमा उकास्ने यो एक मात्र पर्व हो वाडाङ्मेट।

वाडाङ्मेटमा वर्षभरिमा मृत्यु हुने परिवारका सम्पूर्ण सदस्य तीन दिन हिँडेर सुनसरीको बराह क्षेत्रस्थित कोकाहा खोलामा नुहाएर कपाल, दाह्री मुण्डन गरी बराह भगवानको दर्शन गरी बरखी फुकाउने चलन छ। यो चाडमा आफन्तको दुस्ख बोक्नेले कपाल काटेर दसिसहित केश बगाउने प्रचलन छ। तीन दिने यात्राको क्रममा बरखी फुकाउने व्यक्तिले खोलाको बगर तथा खुल्ला ठाउँमा बस्नुपर्ने र अन्य समयमा गाउन नमिल्ने मुन्धुम तथा भक्ति गाउने चलन रहेको उमेश आठपहरियाले बताए।

यो चाडमा दुस्ख बिर्सिएर भक्ति गाउनुका साथै ढोल, मारुनी, डल्लो नाच नाचेर तथा राँगाको मासु, कुबिन्डो र फिलुगें अचारलगायतका परिकार खाएर मनाइन्छ। कात्तिक पूर्णिमाबाट सुरु भएको यो चाड औंशीसम्म जारी रहन्छ। अन्य जातजातिको भन्दा फरक कला संस्कृति भए पनि यसको प्रचारप्रसार हुन नसकेको दिलबहादुर छाराहाङ आठपहरियाले बताए। 

यो पर्वलाई अन्य जातिको पर्वको जस्तो राज्यले चासो नदिएको आठपहरिया समुदायको गुनासो छ। अन्य जातिको पर्वको सरकारले लामो समय सार्वजनिक बिदा दिए पनि यो चाडमा धनकुटा नगरपालिकाले एक दिन स्थानीय बिदा दिएर टारेको गुनासो उनीहरूको छ।

आठपहरिया जातिको उत्थानका लागि विभिन्न काम गरेर जागरुक गर्ने काम गरिरहेको आठपहरिया समाज धनकुटाका अध्यक्ष अष्टबहादुर आठपहरियाले बताए। धनकुटा नगरपालिकामा मात्र बसोबास रहेको यो जातिको जनसंख्या करिब २० हजारको हाराहारीमा छ। यो जातिले आफूलाई आदिवासी जनजातिमा सूचीकृत गरिनुपर्ने माग राख्दै आए पनि सुनुवाइ हुन सकेको छैन।

यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।

द मार्जिन

लेखकबाट थप...

सम्बन्धित समाचार