धनगढी- जनगणनाका लागि जिल्ला सदरमुकाम खलङ्गाबाट हिँडेको टोली जोखिमपूर्ण यात्रा गर्दै दार्चुलाको व्यास गाउँपालिकाको वडा नम्बर १ स्थित छाङरु पुगेको छ ।

शुक्रबार खलङ्गाबाट गएको टोली तीन दिनको जोखिमपूर्ण यात्रा गर्दै सोमबार मध्यान्ह १२ बजे छाङरु पुगेको जिल्ला जनगणना कार्यालय दार्चुलाका प्रमुख पदमराज पाण्डेले बताए । छाङरु पुगेर टोलीले जनगणनाको काम पनि सुरु गरिसकेको जनगणना अधिकृत पाण्डेले जानकारी दिए ।

उनका अनुसार छाङरु र तिंकर दुवै गाउँको जनगणना गर्न तीन दिनसम्म लाग्नेछ । दुई गाउँबीचको दुई घण्टाको पैदल यात्रामा पर्छ । ब्यास गाउँपालिकाको वडा नम्बर १ बाहेक जिल्लाका अरू वडाहरूको जनगणना कार्य करिब अन्तिम चरणमा पुगिसकेको जनगणना अधिकृत पाण्डेको भनाइ छ ।

जोखिम मोलेर छाङरू पुगेको टोलीले थाल्यो जनगणना

स्थानीय बेसी झर्दा अर्को चुनौती

जनगणनाका लागि छाङरु र तिंकरका लागि गएको टोलीलाई त्यहाँ अर्को चुनौती थपिएको छ । तिंकरका बासिन्दा चिसो छल्न बेसी झरेपछि जनगणनामा चुनौती थपिएको जनगणना अधिकृत पाण्डेले बताए । उनले बेसी झरेकाहरूको जनगणना खलङ्गामै गर्नुपर्ने अवस्था आएको बताए ।

‘तिंकरका केही बासिन्दा चिसो छल्न बेसीतिर झरेको भन्नै खबर छ,’ उनले भने, ‘उनीहरूको गणना खलङ्गामै गर्नुपर्ने भयो ।’ उनले त्यस क्षेत्रका गणक खलङ्गामै रहेकाले उनीमार्फत बेसी झरेकाहरूको गणना गरिने बताए ।

शुक्रबार छाङरु र तिंकरका लागि गएका गणक राजेन्द्र कार्की हिँड्न नसकेपछि आधा बाटोबाटै खलङ्गा फर्किएका थिए । उनले नै तिंकरबाट बसी झरेका बासिन्दाको गणना गर्ने काम गर्नेछन् ।

फर्किन हेलिकप्टरको व्यवस्था गर्न माग

जनगणनका लागि जोखिम मोलेर तीन दिनको यात्रा गर्दै दार्चुला सदरमुकाम खलङ्गाबाट छाङरु र तिंकर पुगेको टोलीका लागि फर्किन हेलिकप्टरको व्यवस्था गरिदिन माग गरिएको छ ।

नेपालतर्फको बाटो असहज भएकाले गणकहरूलाई फर्किनका लागि हेलिकप्टरको व्यवस्था गरिदिन माग गरिएको जनगणना अधिकृत पाण्डेले बताए । उनले हेलिकप्टरका लागि विभागसँग समन्वय भइरहेको बताए । बाटो सुरक्षित नहुँदा ब्यासको वडा नम्बर १ छाङरु र तिंकरका बासिन्दा भारतीय बाटो हुँदै सदरमुकाम खलङ्गा आवतजावत गर्छन् ।

ब्यास गाउँपालिका-१ मा पर्ने पाँच गाउँहरू कुटी, नाभी, गुञ्जी, तिंकर र छाङरूमध्ये कुटी, नाभी र गुञ्जी गाउँ भारतले अतिक्रमण गरेको छ । भारतले अतिक्रमण गरेकाबाहेक तिंकर र छाङरू गाउँमा नेपालको प्रशासनिक अधिकार कायम छ ।

दार्चुलाका ९ वटा स्थानिय तहका ६१ वटै वडामा जनणनाका लागि १ सय ८३ जना गणक खटाइएको छ । जिल्लाका अन्य वडामा जनगणनाका लागि २३ कात्तिकमा नैै गणक खटाइएको थियो ।

भारतले गणकलाई अनुमति दिएन

भारतको धार्चुला तहशिल अन्र्तगत छियालेक क्षेत्रबाट भारतले नोटिफाइड क्षेत्र घोषणा गरको छ । नोटिफाइड क्षेत्रमा विदेशी नागरिकले प्रबेश गर्नका लागि भारतीय प्रशासनको अनुमति आवश्यक हुन्छ । छियालेकबाट करिब ५ किलोमिटर उत्तरी क्षेत्रमा नेपाली गाउँ छाङरू जाने महाकाली नदीमाथि काठको पुल छ । उक्त नाकालाई सीतापुल भनिन्छ ।

ब्यास क्षेत्रमा भ्रमणमा जाने अन्य नागरिकलाई भारतीय प्रशासनले अमुति दिइरहे पनि गणकलाई भने अनुमति दिन भारतीय प्रशासनले अल्मल्याइरहेको छ । ‘सुरुमा बाटो अवरुद्ध छ, बाटो खुलेपछि अनुमति दिन्छौ भनेर जवाफ आएको थियो । तर, बाटो अवरुद्ध छैन, अरुले अनुमति पाइरहेका पनि छन् । गणकले अनुमति दिइएन,’ जनगणना अधिकारी पाण्डेले भने । 

भारतले बाटो प्रयोग गर्न नदिएपछि जनगणना कार्यालय दार्चुलाको टोली नेपालकै बाटो भएर शुक्रबार उक्त स्थानतर्फ गएको हो  ।

यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।

द मार्जिन

लेखकबाट थप...

सम्बन्धित समाचार