बिरादत्त भट्ट

दार्चुला  – २५ कात्तिकदेखि मुलुकभर जनगणना भइरहेको छ । तर, दार्चुलाको ब्यास गाउँपालिका–१ मा नेपालको क्षेत्र भएर जाने बाटो नभएपछि जनणना सुरु गर्न सकिएको छैन ।

ब्यास गाउँपालिका–१ मा पर्ने पाँच गाउँहरू कुटी, नाभी, गुञ्जी, तिंकर र छाङरूमध्ये कुटी, नाभी र गुञ्जी गाउँ भारतले अतिक्रमण गरेको छ । भारतले अतिक्रमण गरेकाबाहेक तिंकर र छाङरू गाउँमा नेपालको प्रशासनिक अधिकार कायम छ । 

अतिक्रमित क्षेत्रको समेत बैक्लपिक विधिबाट जनणना गर्ने दाबी तथ्यांक विभागले गरिरहेका बेला अतिक्रमित क्षेत्र नजिकका नेपालकै प्रशासनिक अधिकार कायम रहेका गाउँमा समेत जनणना हुन सकेको छैन । ती गाउँमा जान नेपालको भूगोल भएर बाटो नभएका कारण भारतीय प्रशासनसँंग अनुमति लिनुपर्ने बाध्यता छ । तर, गणकलाई सो क्षेत्रमा जानका भारतीय प्रशासनले अनुमति नदिएको जनगणना कार्यालय दार्चुलाका प्रमुख पदमराज पाण्डेले जानकारी दिए । 

दार्चुलाका ९ वटा स्थानिय तहका ६१ वटै वडामा जनणनाका लागि १ सय ८३ जना गणक खटाइएको छ । जिल्लाका अन्य वडामा जनगणनाका लागि २३ कात्तिकमा नैै गणक खटाइएको थियो । 

ब्यास गाउँपालिका–१ का गाउँहरू तिंकर र छाङरुमा जनगणनाको जिम्मेवारी पाएका राजेन्द्र कार्कीलाई भारतीय बाटो प्रयोग गर्न भारतीय प्रशासनले हाल सम्म अनुमति नदिएपछि गणना हुन नसकेको हो । 

जिल्ला प्रशासन कार्यालय दार्चुलाले भारतको पिथौरागढ जिल्ला अन्तर्गतको धार्चुला तहशिलका उपजिल्ला अधिकारीलाई गणकले भारतीय बाटो प्रयोग गर्नका लागि अनुमति मागेको भए पनि हालसम्म उक्त पत्रको कुनै जवाफ नआएको जनगणना कार्यालय दार्चुलाका प्रमुख पाण्डेको भनाइ छ । 

भारतको धार्चुला तहशिल अन्तर्गत छियालेक क्षेत्रबाट भारतले नोटिफाइड क्षेत्र घोषणा गरको छ । नोटिफाइड क्षेत्रमा विदेशी नागरिकले प्रबेश गर्नका लागि भारतीय प्रशासनको अनुमति आवश्यक हुन्छ । छियालेकबाट करिब ५ किलोमिटर उत्तरी क्षेत्रमा नेपाली गाउँ छाङरू जाने महाकाली नदीमाथि काठको पुल छ । उक्त नाकालाई सीतापुल भनिन्छ ।

ब्यास क्षेत्रमा भ्रमणमा जाने अन्य नागरिकलाई भारतीय प्रशासनले अमुति दिइरहे पनि गणकलाई भने अनुमति दिन भारतीय प्रशासनले अल्मल्याइरहेको छ । ‘सुरुमा बाटो अवरुद्ध छ, बाटो खुलेपछि अनुमति दिन्छौ भनेर जवाफ आएको थियो । तर, बाटो अवरुद्ध छैन, अरुले अनुमति पाइरहेका पनि छन् । गणकले अनुमति पाएका छैनन्,’ जनगणना अधिकारी पाण्डेले भने ।

बिहीबार भारतको धार्चुला प्रशासनलाई छाङरू र तिंकरमा जनगणनाका लागि गणक भारतीय बाटो भएर जाने भएकाले सहजीकरणका लागि पत्राचार गरेको जिल्ला प्रशासन कार्यालय दार्चुलाका सहायक प्रमुख जिल्ला अधिकारी जोत्सना भट्ट जोशीले बताइन् । 

कालापानी, लिपुलेक र लिम्पियाधुरामा स्याटलाइटबाट जनगणनाको दाबी, जिल्लालाई छैन निर्देशन

नेपालको नयाँ नक्सामा समेटिएका भूगोल कालापानी, लिपुलेक र लिम्पियाधुरा क्षेत्रमा पर्ने दार्चुलाको ब्यास गाउँपालिका-१ कुटी, नाभी र गुञ्जीमा स्याटलाइटबाट जनगणना हुने दाबी सरकारले गरिरहेको छ ।

‘भारतीय अतिक्रमणको चपेटामा परेका’ ती गाउँमा जनगणना त परै जाओस् सोही वडाका तिंकर र छाङरूमा पनि जनगणना सुरु हुन सकेको छैन ।

 कुटी, नाभी र गुञ्जीमा जनगणनाका लागि जिल्लालाई कुनै निर्देशन दिइएको छैन भने बाँकी गाउँमा जनगणनाका लागि गणक पुग्न सकेका छैनन् । नेपाली गाउँमा जान भारतीय बाटो प्रयोग गर्नुपर्ने भए पनि भारतीय प्रशासनले अनुमति दिएको छैन ।

जनगणना कार्यालय दार्चुलाका प्रमुख पदमराज पाण्डेले कालापानी, लिपुलेक र लिम्पियाधुरा क्षेत्रमा जनगणनाबारे अनविज्ञता प्रकट गरे । यसबारे कुनै निर्देशन नआएको उनले बताए ।

राष्ट्रिय जनगणनाका लागि घरधुरी सूचीकृत गर्दासमेत कालापानी, लिपुलेक र लिम्पियाधुरा क्षेत्रका गाउँको घरधुरी सुचिकृत गरिएको छैन । ‘छाङरू(तिंकर भन्दा माथिल्लो क्षेत्रमा जाने अनुमति थिएन, घरधुरी सूचीकृत पनि त्यहाँभन्दा अगाडि गरिएको छैन,’ जनगणना अधिकारी पाण्डेले भने । 

जनगणना लक्षित गरी सीमा पुलमै निगरानी

भारतको धार्चुला प्रवेश गर्ने दार्चुला सदरमुकामको सीमा पुलमा भारतीय एसएसबीले नेपाली कर्मचारी तथा नागरिकमाथि सुक्ष्म निगरानी बढाएको छ । नेपाली मिडियामा कालापानी, लिपुलेक र लिम्पियाधुरा क्षेत्रमा पर्ने गाउँमा जनगणना बारे चर्चा भइरहेकाले भारतीय सुरक्षा निकाय चनाखो बनेको हो ।
गत शुक्रबार भारतीय बाटो भएर ब्यास गाउँपालिका फर्केका शिक्षा शाखा प्रमुख केशबराज ओझाले धार्चुलाको सीमा पुलमा एसएसबीले केरकार गरेको बताए । नेपालमा २५ कात्तिकबाट जनगणना भइरहेको छ ।

यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।

द मार्जिन

लेखकबाट थप...

सम्बन्धित समाचार