सोलुखुम्बु- सगरमाथा क्षेत्रमा हेलिकप्टर उडान तथा अवतरण हुने क्रम बढेको छ । खुम्बुमा पर्यटक आगमन बढेसँगै निकुञ्ज क्षेत्रमा हेलिकप्टर उडान हुने क्रम बढेको सगरमाथा राष्ट्रिय निकुञ्जको कार्यालय नाम्चेले जनाएको छ । 

कार्यालयका सूचना अधिकारी विष्णु रोकायका अनुसार पछिल्लो एक महिनामा मात्रै साढे तीन सय पटक भन्दा बढी हेलिकोप्टर उडान तथा अवतरण भएको छ ।

गत असोज १५ गतेदेखि कात्तिक १५ गतेसम्म ३ सय ७२ पटक उडान तथा अवतरण भएको निकुञ्जको तथ्यांक छ । खुम्बु क्षेत्रमा पर्यटकले भ्रमण, कार्गो ढुवानी तथा आकस्मिक उद्धारका लागि हेलिकप्टरको प्रयोग गर्ने गरेका छन् । तर, पछिल्लो महिना उडान तथा अवतरण भएका अधिकांश हेलिकप्टर भ्रमणका लागि नै प्रयोग भएको सूचना अधिकारी रोकायले जानकारी दिए ।

यस्तै एक महिनाको अवधिमा हेलिकोप्टरबाट ११ लाख बढी राजस्व संकलन भएको छ । निकुञ्ज क्षेत्रमा उडान तथा अवतरण शुल्क बापत प्रति उडान ३ हजारका दरले ११ लाख १६ हजार रुपैयाँ संकलन भएको सगरमाथा राष्ट्रिय निकुञ्जको कार्यालयले जनाएको छ ।

यस सिजनमा हेलिकप्टरको प्रयोग गरी भ्रमणमा आउने पर्यटक बढेसँगै निकुञ्जको राजस्व संकलनमा उल्लेखनीय वृद्धि भएको निकुञ्जका सूचना अधिकारी रोकायले बताए ।

यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।

द मार्जिन

लेखकबाट थप...

सम्बन्धित समाचार