काठमाडौँ- अब विस्तार हुने नयाँ चक्रपथ सडक सुरक्षित बनाउन सरोकारवालाहरूले सरकारसँग माग गरेका छन् ।
आइतबार नेपाल साइकल सोसाइटी, सुरक्षित र दिगो यात्रा नेपाल, रोड सेफ्टी सोसाइटी नेपाल, ब्लाइन्ड रक्स र दिगो विकास इन्सीच्युट लगायतका संस्थाले गरेको छलफल कार्यक्रममा अब विस्तार हुने चक्रपथ अपांगमैत्री, पैदल यात्रुमैत्री,साइकल लेन राख्ने लगायतका बनाउन माग गरेको छ ।
चक्रपथ सडक विस्तारअन्तर्गत कलंकी-महाराजगञ्ज-धोबीखोला खण्ड विस्तार सरकारको दोस्रो चरणको योजना हो ।
पहिलो चरणमा कोटेश्वर(कलंकी विस्तार भइसकेको छ । सरोकारवालाहरुले कोटेश्वर-कलंकी सडकमा गरिएको गल्ति फेरी नदोहोर्याउन माग गरेको छ ।
छलफलमा लेखक तथा अभियन्ता नारायण वाग्लेले पैदल यात्रीको मार्ग बिनाको चक्रपथ स्वीकार्य नभएको बताएका छन् । उनले भने, "म पैदल यात्रीको रुपमा भन्छु, काठमाडौँ जस्तो ठाउँमा पैदल यात्रीको मार्ग बिनाको सडकको म अवरोध गर्छु, आन्दोलन गर्न पर्छ कि, अनसन बस्न पर्छ कि गर्नपर्छ भन्छु ।" बन्दै गरेको चक्रपथ डिजाइन तुरुन्तै सार्वजनिक गर्नुपर्ने उनको माग छ । सरकारले यी मागलाई बेवास्ता गरी सडक विस्तार गरे अवरोध गरी आन्दोलन गर्ने उनको चेतावनी छ ।
छलफल कार्यक्रममै साइकल अभियन्ता रत्न श्रेष्ठले भने, "पहिला बनेको चक्रपथ सुरक्षित छैन, यस्तै गरी नयाँ चक्रपथ नबनाइयोस् भन्ने हाम्रो माग हो।"
दृष्टिविहीन सरोज भट्टराईले भने अब बन्ने नयाँ सबै संरचना अपांगमैत्री र जेब्रा क्रसिङमा अडियोको व्यवस्था हुनुपर्ने माग गरेका छन्। उनले भने, "बनिसकेका धेरै संरचना अपांगमैत्री छैनन्, जेब्रा क्रसिङ कहाँ कहाँ छ भनेर हामीलाई जानकारी हुँदैन। त्यसैले जहाँ जेब्रा क्रसिङ छ त्यहाँ बज्ने अडियो राखेमा सहज हुने थियो।"
ट्राफिक इन्जिनियर आशिष गजुरेल चक्रपथ विस्तार हुनुभन्दा अगाडि नै सबै पक्षलाई समेटेर सुरक्षित सडकको डिजाइन तयार पार्नुपर्ने बताउँछन्। कार्यक्रममा उनले भने, "सडक सवारीसाधनका लागि मात्रै सोचियो, अरूका लागि सोचिएन, खाली भएको ठाउँमा मात्रै फुटपाथ राख्ने चलन छ। यस्ता प्रवृत्ति त्याग्न जरुरी छ।"
सरकारले पहिलो चरणमा चीन सरकारको सहयोगमा विस्तार गरेको कोटेश्वरदेखि कलंकीसम्मको आठ लेनको सडक पैदल यात्रु र चालकमैत्री नदेखिएको भनी यसको चर्को आलोचना भएको थियो।
यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।
लेखकबाट थप...