काठमाडाैँ - कृषिविज्ञ मदन राईले पढेलेखेका मान्छेले माटो छुनु हुँदैन भन्ने गलत मान्यताका कारण नेपालको कृषि क्षेत्र पछाडि परेको बताएका छन् ।

द मार्जिन सँगको कुराकानीमा कृषि विज्ञ राईले नेपालमा जसरी पनि लोकसेवा आयोग पास गरेर कुर्सीमा बसी गफ दिएको भरमा देश बन्न नसक्ने बताए । राज्यले नै कृषिलाई बढवा दिन नसक्नु दुखद भएको बताउँदै राईले किसानहरूले आफ्नै मेहनेतले मात्र कृषि गरिरहेको बताए ।

'सबैको भुडी भर्ने किसानहरू हुन्, यहाँ तीन घण्टाको परीक्षामा हुने लेखाइले शिक्षाको निर्धारण गर्छ अनि कसरी देश उभो लाग्छ ? उनले भने, 'नेपालको शिक्षा जीवनमुखी, काममुखी, अर्थतन्त्रमुखी, वातावरणमुखी बन्न आवश्यक छ । विश्वका सबै मानिसहरूलाई पाल्ने कृषि भएकाले जसले जे काम गरे पनि अन्तिमा कृषिबाट उत्पादित चीज नै खानुपर्ने भएकाले किसानलाई सम्मान गर्नु पर्ने बताए । उनले नेपाल जस्तो विकासोन्मुख मुलुकका लागि कृषि नै आर्थिक उपार्जनको बलियो आधार भएको दावी गरे ।

कृषि क्षेत्रमा लामो अनुभव र अनुसन्धानमा सक्रिय कृषिविज्ञ राईले संसार विषादीका कारण ग्रसित भइसकेको उल्लेख गर्दै नेपालको भौगोलिक विकटता र आर्थिक अभावमा सौभाग्यवश यहाँको करिब ५० प्रतिशत जमिन विषादी प्रयोग हुनबाट जोगिएको बताए । नेपाल वनस्रोतमा धनी रहेकोले यहाँ अर्गानिक मलको माध्यमबाट नेपालमा १० करोड मानिसलाई वर्षभरी खान पुग्ने गरी अर्गानिक खेतीबाली उत्पादन गर्न सकिने उल्लेख गरे ।

अन्नबाली फलाउन विषादी प्रयोग गर्ने क्रम बढेकाले यसले मानिसहरूमा स्वास्थ्य समस्या थपिँदै जाने चेतावनी समेत दिए । उनले मानिसहरूको शरीरबाट निस्कने दिशा पिसाब लगायत बिरुवाका पातपतिंगर नेपालमा अर्गानिक मल उत्पादनको मुख्य आधार भएकोले अर्गानिक कृषि उत्पादनमा जोड दिनु पर्ने आवश्यकता औल्याए । मेहनेत गरेर माटोमा नंग्रा खियाउन सके रोजगारीका लागि भौतारिँदै हिड्नु नपर्ने राईको भनाई छ ।

रोजगार भनेको काम भएकाले काम गरे बेरोजगारी आफैँ हट्ने उनले बताए । अर्काको भर परे अल्छी हुने भएकाले आफ्नो मेहनेतले आर्थिक उपार्जनमा जुट्न पनि कृषि विज्ञ राईले युवाहरूलाई सुझाव दिए ।

कृषि नै पैसा कमाउने सबैभन्दा सजिलो र भरपर्दो विकल्प भएकोले जोश जाँगरका साथ कृषिमा लागे स्वस्थ रहन पनि मदत पुग्ने राइले बताए ।

यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।

गोपाल जंग थापा

लेखकबाट थप...

सम्बन्धित समाचार