Author

संक्रमण र मृत्यु अहिलेसम्मकै उच्चः
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमबार अपराह्न सार्वजनिक गरेको विवरणअनुसार, पछिल्लो २४ घण्टामा १ सय ३९ जनाको मृत्यु भएको छ । यो संख्या अहिलेसम्मकै  बढी हो । यस हिषाबमा अब प्रत्येक दश मिनेटमा एक जनाले ज्यान गुमाउन थालेका छन् । 

त्यसैगरि, मुलुकभर १८ हजार ४ सय ११ जनाको पीसीआर टेस्ट गर्दा ९ हजार २ सय ७१ जना अर्थात् ५०.३५ प्रतिशतलाई संक्रमण देखिएको छ । यद्यपि निको हुनेको संख्या पनि उल्लेख्य छ, पछिल्लो २४ घण्टामा ४ हजार ७ जना संक्रमणमुक्त भएका छन् । अब सोमबार वेलुकाको परिणाम अनुसार, सक्रिय संक्रमितको संख्या ९३ हजार १ सय ४१ पुगेको छ ।

तर विज्ञका अनुसार, यो नै संक्रमणको उच्च बिन्दु भने होइन । ‘अझै उच्च बिन्दुमा पुग्नै बाँकी छ,’ स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले भने, ‘जति संक्रमित थपिँदै जान्छन्, मृत्यु हुनेको संख्या पनि उत्तिकै बढेको देखिन्छ । मृत्यु हुनेको संख्या दुई सातामा अझ बढ्न सक्छ ।’ इकान्तिपुरले उल्लेख गरेको छ ।

बैसाख महिनाभित्रै लियो संक्रमणले तिव्रताः

अहिले नेपालमा हरेक १० मिनेटमा एकले कोभिड–१९का कारण मृत्युवरण गरिरहेका छन् । यसअघि वैशाख २० गते हरेक ३८ मिनेटमा १ जनाको मृत्यु भएको तथ्यांक सार्वजनिक भएको थियो । एक साताको अन्तरमै यस्तो भयावह स्थितिमा पुगेको हो ।

वैशाख महिनामा नै ८ सय १ जनाले कोरोना संक्रमणका कारण ज्यान गुमाइसकेका छन् कोरोनाबाट सोमबारसम्म ३ हजार ८ सय ५९ जनाले ज्यान गुमाइसकेका छन् । कुल संक्रमितमध्ये १ दशमलव २ प्रतिशतको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यो मृत्युदर भारतको भन्दा केही बढी हो, त्यहाँ मृत्युदर १ दशमलव १ छ ।

यो पछिल्ला २७ दिनमा सबैभन्दा बढी वाग्मती प्रदेशमा २ सय ५५ जनाको मृत्यु भएको छ । लुम्बिनीमा २ सय ५४, प्रदेश २ र सुदूरपश्चिममा ८०–८०, गण्डकीमा ५४, प्रदेश १ मा ४७ र कर्णालीमा २९ जनाले ज्यान गुमाएका छन् । दुई जना भारतीय नागरिकको पनि मृत्यु भएको मन्त्रालयको तथ्यांक छ । पछिल्ला २७ दिनमा मृत्यु हुनेमा सबैभन्दा कम उमेरकी ९ दिने बालिका देखि १ सय २ वर्षीय वृद्धसम्म छन् ।

शव व्यवस्थापन र उपचारमा समस्याः

मृतक संख्या बढ्दै जाँदा पशुपति आर्यघाटमा शव व्यवस्थापनमा समेत समस्या देखिन थालेको छ, इकान्तिपुरले उल्लेख गरेको छ । शनिबार ७६, आइतबार ८८ जनाको शव व्यवस्थापन गरिएकामा सोमबार राति १० बजेसम्म ७७ वटा शव व्यवस्थापन भइसकेको पशुपति क्षेत्र विकास कोषले जनाएको छ ।

‘अझै शव ल्याइरहेका छन्, कति थपिने हो टुंगो छैन,’ कोषका एक कर्मचारीले भने । निषेधाज्ञा पश्चात पनि संक्रमण एकदमै बढेको छ । वैशाख १६ यता सोमबारसम्ममा अर्थात् १२ दिनमा देशभरि ६ सय ४८ जनाको मृत्यु भएको छ ।

‘अवस्था डरलाग्दो छ । अब कसरी जोगाउने भन्ने चिन्ता छ, अक्सिजन व्यवस्थापन गर्नै नसकेर धेरैले ज्यान गुमाए । कतै बेड छ तर अक्सिजन छैन । कतै अक्सिजन छ, बेड खाली नहुँदा उपचार नपाएर ज्यान गुमाउनुप¥यो ।’ मन्त्रालयका सहप्रवक्ता डा. अधिकारीले भनेका भनेका छन् । इकान्तिपुरले लेखेको छ ।

बाँकेमा मात्र १२ घण्टामा १२ को मृत्यु, कैलालीमा अक्सिजन नपाएर मृत्यु:

सोमबार अपराह्न चार बजेदेखि मंगलबार बिहान ४ बजेभित्र बाँकेमा मात्रै उपचाररत थप १२ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  त्यस्तै कैलालीको टीकापुर अस्पतालमा दुई दिनमा १२ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

बिरामीको चापअनुसार अक्सिजन उपलब्ध नहुँदा संक्रमितले ज्यान गुमाउनुपरेको चिकित्सकहरूको भनाई छ । अस्पतालका चिकित्सक डा. रमेश उपाध्यायका अनुसार, सीमित सिलिन्डरका कारण बिरामीले अक्सिजन नपाउने अवस्था रहेको छ । ‘सिलिन्डर रिफिल गर्न लैजाँदा अक्सिजन लिइरहेको बिरामीको बीचैमा ब्रेक हुने अवस्था छ,’ उनले भने, ‘अक्सिजनको ब्याकअप नहुँदा नियमित अक्सिजन नपाउने र बिरामीले ज्यान गुमाउनुपर्ने अवस्था छ ।’

अस्पतालमा सोमबारसम्म कोरोनाका बिरामीलाई करिब ४५ सिलिन्डर रनिङ अवस्थामा रहेको उनले बताए । उनका अनुसार एउटा बिरामीलाई निको हुँदासम्म सरदर ७ सिलिन्डर अक्सिजन आवश्यकता पर्छ । सिलिन्डरको अभावसँगै रिफिल गर्न नेपालगन्ज जानुपर्ने बाध्यताले थप समस्या निम्तिएको हो । 

 

यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।

मनोज खतिवडा

लेखकबाट थप...

सम्बन्धित समाचार