काठमाडौँ – कोरोनाभाइरसका कारण निषेधाज्ञा लागू भएपछि रत्नपार्कमा नाङ्लो पसल राखेर व्यवसाय गर्दै आएकाहरू मारमा परेका छन् । लामो समयसम्म रत्नपार्कस्थित बसपार्कमा नाङ्लो पसल राख्दै आएका व्यापारीहरूले बसपार्क सरेसँगै आफ्नो व्यापार व्यवसाय सुकेको गुनासो गरेका हुन् ।  

रत्नपार्कस्थित पुरानो बसपार्कमा काठमाडौँ टावर निर्माण हुन थालेपछि त्यहाँको बसपार्क टुँडिखेल कब्जा गरेर एक साइटमा राखिएको थियो । जहाँ ५० जना नाङ्लो पसलेले व्यापार व्यवसाय गर्ने गर्थे । तर, टुँडिखेलको सौन्दर्य बिगारेको, सार्वजनिक जग्गामा बसपार्क राखिएको भन्दै काठमाडौँ महानगरपालिकाले त्यो क्षेत्रमा बसपार्क हटाएपछि नाङ्लो व्यवसायी आफ्नो व्यवसाय ९० प्रतिशत सुकेको गुनासो गर्छन् । 

‘लकडाउन भएपछि हामीलाई घरपरिवार चलाउन धेरै कठिनाइ भयो, जसोतसो गुजारा चलायौं । लकडाउन खुलेपछि काठमाडौं आइयो, बसपार्क बन्द भएकाले आम्दानीको स्रोत नै बन्द भयो,’ पेमा शेर्पाले भनिन् । बसपार्कमा नाङ्लो पसलबाटै हुने आम्दानीले आफ्नाे परिवार चलाउने गरेको उनले बताइन् ।

‘बसपार्क हुँदा दैनिक राम्रै आम्दानी हुने गर्थ्याे, पाँचजनाको परिवार सजिलै पाल्थ्यो । गाडीका ड्राइभरदेखि बाटोमा हिँड्ने सर्वसाधारण हाम्रा ग्राहक थिए । महानगरपालिकाका सुरक्षाकर्मी आउँदा सामान लुकाउनुपर्थ्याे, तर पनि आम्दानी राम्रै हुन्थ्यो । काठमाडौँ महानगरपालिकाले बसपार्क हटाउने भनेपछि आम्दानीको स्रोत नै बन्द भयो,’ रिमा गुरुङले भनिन् ।

बसपार्क हुँदा विगतमा दैनिक पाँच हजारभन्दा बढी आम्दानी हुने गरेको पेमा शेर्पा बताउँछिन् । अहिले त्यो सुकेर दुई सयमा झरेको उनले गुनासो गरिन् । रत्नपार्कको बसपार्क बन्द र लम्बिँदो निषेधाज्ञाले नाङ्लो पसलेहरूको व्यापार र व्यवसायमा निकै प्रभाव परेको छ । बिहान बेलुका गुजारा चलाउन गाह्रो भइरहेको रीमा बताउँछन् ।
 

यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।

द मार्जिन

लेखकबाट थप...

सम्बन्धित समाचार