काठमाडौँ – श्रीमती र छोरीलाई एसिड प्रहार गरी घाइते बनाउने सञ्जीव साहविरुद्ध सजाय निर्धारणका लागि आज जिल्ला अदालतमा पेसी तोकिएको छ । न्यायाधीश कृष्णमुरारी शिवाकोटीको इजलासमा सजाय निर्धारणका लागि पेसी तोकिएको जिल्ला अदालत धनुषाले जनाएको छ ।

गत १९ कात्तिकमा दीपावलीको दिन जनकपुरधाम उपमहानगरपालिका–७ स्थित ससुराली पुगेका साहले श्रीमती आरती साह र छोरी रियामाथि एसिड प्रहार गरेका थिए । सो घटनामा जिल्ला अदालत धनुषाले यसअघि उनलाई दोषी ठहर गरेको थियो । यसै घटनामा एसिड बेच्ने नागेन्द्र साहलाई भने अदालतले सफाइ दिएको थियो ।

घटनापछि सरकारी वकिलको कार्यालयले जिल्ला अदालत धनुषामा आरतीका श्रीमान् र एसिड बेच्ने नागेन्द्र साहमाथि १५ वर्ष ६ महिनाको सजाय माग गर्दै अभियोग पत्र दर्ता गराएको थियो ।

दुवैजनाबिरुद्ध अंगभंग, कुरुप र एकीकृत गरी तीनवटा कसुरको सजायका लागि मागदाबी गरिएको थियो । एसिड आक्रमणबाट आरतीको दाहिने आँखा गुम्नुका साथै घाँटी, छाती, स्तनलगायतका अंग कुरुप बनेको छ । एसिड आक्रमणमा परी उनकै छोरी रियाको दाहिने हात र टाउकोमा खत बसेको थियो ।

यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।

द मार्जिन

लेखकबाट थप...

सम्बन्धित समाचार