काठमाडाैँ - विश्वव्यापी चुनौतीका रूपमा देखिएको जलवायु परिवर्तनको असरबारे पर्याप्त ज्ञान र चेतनाको अभावमा जलवायुमैत्री विकास हुन नसकेको एक कार्यक्रमका सहभागीहरू बताएका छन् ।

बुधबार काठमाडौँमा ट्रान्सपरेन्सी इन्टरनेशल नेपालको आयोजनामा सम्पन्न जलवायु सुशासन र सदाचार विषयक छलफल कार्यक्रमका सहभागीहरूले नेपालमा जलवायुमैत्री विकासको अवधारणालाई प्राथमिकता दिन सके मात्रै जलवायु परिवर्तनका कारण हुने जोखिम कम गर्न सकिने बताए । कार्यक्रममा सहभागि पत्रकारहरूले संघीय, प्रादेशिक र स्थानीय तहका सरकारले गर्ने विकास निर्माणका कामहरू वातावरणमैत्री एवं दिगो हुनु पर्नेमा जोड दिए ।

पछिल्लो समय नेपालका ग्रामीण क्षेत्रमा अव्यवस्थित बनाइएका सडकहरूले कृषि तथा जलाधार क्षेत्रमा नराम्रो असर पारेको भन्दै यसतर्फ सजग हुनु पर्ने आश्यकता समेत औल्याइएको छ । कृषि क्षेत्रमा बनाइने भौतिक संरचना गुणस्तरहिन हुँदा आयोजनाबाट पाउने सुविधाबाट बन्चित हुनुपर्ने बाध्यता रहेकोले त्यस्ता क्रियाकलापले पारदर्शीता माथि प्रश्न उठ्ने उनीहरूको भनाई छ ।



कार्यक्रममा बोल्दै ट्रान्सपरेन्सी इन्टरनेशल नेपालका वरिष्ठ कार्यक्रम अधिकृत विनोद भट्टराईले जलवायु परिवर्तनबाट सिर्जित समस्याको दीर्घकालीन समाधानका लागि राज्य संयन्त्र बलियो हुनु पर्ने बताए । उनले वातावरण संरक्षण ऐन तथा नियमावलीको प्रभावकारी कार्यान्वयनमा चुक्दा हरेक वर्ष वातावरणीय समस्या बढ्दै गएको धारणा राखे ।

भट्टराईले जलवायु र जलवायु वित्तलाई भ्रष्टाचारजन्य क्रियाकलापबाट जोगाउन जिम्मेवार निकायलाई पत्राकारिताका माध्यमबाट खबरदारी गर्न समेत पत्रकारहरूलाई आग्रह गरे । कार्यक्रममा आफ्ना अनुभव सुनाउँदै पत्रकारहरूले दूर दराजमा पुगेर जलवायु परिवर्तनका समस्या र यस विषयमा हुने गरेका भ्रष्टाचारजन्य गतिविधीको निगरानी तथा पहिचान गर्न सञ्चारगृहले पनि चासो राख्नु पर्ने बताए ।

उनीहरूले सरकारी निकायले नै जलवायु परिवर्तनबारे थप सूचना, आर्थिक हिसाबकिताब दिन आनकानी गर्दा समाचार सम्प्रेषणमा थप कठिनाई हुने गरेको अनुभव पनि सुनाए । जलवायु परिवर्तन सम्बन्धी जनचेतना फैलाउँदै सर्वसाधारण एवं जनप्रतिनिधीहरूलाई जिम्मेवार बनाउनुपर्ने समेत कार्यक्रमका सहभागीहरूले बताए । जलवायु परिवर्तन शासकीय सदाचार (सीजीआई) परियोजनाले जलवायु परिवर्तनसंग सम्बन्धित कार्यक्रम र त्यसको वित्तीय व्यवस्थापनमा सदाचार र सुशास प्रवर्द्धनमा पैरवी गर्दै आएको छ । 



 

यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।

गोपाल जंग थापा

लेखकबाट थप...

सम्बन्धित समाचार