मुगु - जिल्लाको एक मात्र नगरपालिकाका छायाँनाथ–रारा नगरपालिकाले ३ जना अति विपन्न दलित तथा जेहनदार विद्यार्थीलाई डाक्टर पढाउँदै आएको छ ।
नगरपालिकाभित्रका अति विपन्न दलित तथा जेहनदार विद्यार्थीलाई छात्रवृत्ति सहयोग कार्यक्रममार्फत दुईजनालाई बंगलादेशमा र एक जनालाई भारतमा डाक्टर पढाउँदै आएको हो । अन्य २३ जनालाई नेपालमै विभिन्न उच्च शिक्षा प्राविधिक अध्ययनमा सहयोग गर्दै आएको छ ।
त्यस्तै, नगरपालिको आर्थिक सहयोगमा नगरपालिका भित्र बसोबास गर्ने अति विपन्न, पिछडिएका, एक महिला, दलित समुदायका जेहन्दार २६ जना विद्यार्थीलाई छात्रवृत्ति सहयोग कार्यक्रममार्फत वर्षेनी सहयोग गर्दै आएको छ ।
हिमाली जिल्ला मुगुमा शिक्षा स्वास्थ्यको क्षेत्रमा सुधार तथा पहुँचका लागि छात्रवृत्ति कार्यक्रम ल्याएको नगर प्रमुख हरिजंग शाहीले बताए । 'आर्थिक वर्ष २०७४/७५ बाट छात्रवृत्ति कार्यक्रमको थालनी गरी कार्यक्रम निरन्तर अगाडि बढाएका छौँ', शाहीले भने ।
उच्च शिक्षा पढ्न नसक्ने नगरपालिका भित्रका विपन्न, दलित, गरिव तथा जेहेन्दार, पछाडि पारिएका समुदायका विद्यार्थी छनोट गरी छात्रवृत्ति सहयोग गरिँदै आएको नगर प्रमुख शाहीले बताए । छात्रवृत्ति कार्यक्रममा छनोट भएका दुई जना बंगलादेशमा र एकजना भारतमा पढे भने अन्यले नेपालमै इन्जिनियर, सिए लगायतका विषय अध्ययन गर्दैछन् ।
आर्थिक वर्ष २०७७/७८ मा पनि छात्रवृत्ति कार्यक्रमलाई निरन्तता दिइएको थियो । १० लाख रकम विनियोजन गरी २६ जनालाई छात्रवृत्ति सहयोग गरिएको नगर प्रमुख शाहीको भनाई छ । उनीहरूको पढाई खर्चमा राहतस्वरूप पहिलो वर्ष २०७४/७५ मा आठ लाख रुपैयाँ, २०७६/७७ मा १० प्रतिशत वृद्धि गरी १० लाख रुपैयाँ र २०७६/७७ मा नौ लाख रुपैयाँ विनियोजन गरिएकोमा आर्थिक वर्ष २०७७/७८ मा नगरपालिकाले १० लाख रकम विनियोजन गरी २६ जनालाई छात्रवृत्ति सहयोग गरेको छायाँनाथ रारा नगरपालिकाका निमित्ति प्रमुख प्रशासकीय अधिकृत ललितजंग मल्लले बताए ।
विनियोजित रकममध्ये बङ्गलादेशमा एमबिबिएस डेन्टल डाक्टर चौथो बर्षमा पढ्दै आएका छायाँनाथ–रारा नगरपालिका वडा नं ५ का देवीकृष्ण विकलाई ३ लाख, त्यस्तै बङ्गलादेशमा एमबिबिएस पाँचौ वर्ष पढ्दै आएका वडा नं १ की कामना मल्ललाई एक लाख भारतमा डाक्टर पढ्दै आएकाी सोही वडाकी समीक्षा मल्ललाई एक लाख रुपैयाँ प्रदान गरिएको छ । त्यस्तै सुर्खेत मध्यपश्चिम विश्वविद्यालयमा विई सिभिल इन्जिनियर चौथो बर्ष अध्ययनरत मनोज कुमार नेपालीलाई ४० हजार ,बुढानीलकण्ठ प्राविधिक विद्यालय काठमाडौँमा अध्ययनरत रामकृष्ण कामीलाई ३० हजार लगायत प्रेम बहादुर शाहीलाई एक लाख गरी २६ जना अति विपन्न दलित, जेहन्नदार विद्यार्थीलाई १० लाख रकम सहयोग गरिएको नगरपालिकाले जनाएको छ ।
नगरपालिकाभित्र रहेका विपन्न, गरिब, पिछडिएका परिवारका विद्यार्थीले उच्च प्राविधिक शिक्षा पढ्न चाहेमा नगरपालिकाले यो कार्यक्रमलाई निरन्तरता दिँदै जाने नगरप्रमुख शाहीले बताए । छात्रवृत्ति सहयोग ग्रहण गर्दै बङ्गलादेशमा एमबिबिएस पढ्दै आएका देवीकृष्णका विककी आमा काली विकले नगरपालिकाले प्रदान गदै आएको छात्रवृत्तिले सहयोगले धेरै राहत गरेको र आफ्नो छोरा डाक्टर बन्ने भयो भन्दै खुसी व्यक्त गरिन् ।
आर्थिक अवस्था नाजुक, खान लाउन नपुग्ने, ज्याला मजदुरी गर्दै आएको गरिव दलित, कम आय स्रोत भएका हामीले छोरालाई कसरी डाक्टर बनाउन सक्थ्याैँ र हाम्रो छोराले डाक्टर पढ्ने कल्पना पनि थिएन । उनी भन्छिन् तर नगरपालिकाले गरेको सहयोगले छोरा डाक्टर पढ्न पाएको र छोरा डाक्टर हुने भयो भन्दै खुसी लागेको र गरिबको छोराको नगरपालिकाले उद्धार गरेको आमा विकले खुसीका साथ भनिन् ।
विककी आमा जस्तै अन्य विद्यार्थीका अविभावकले पनि नगरपालिकाले ल्याएको यस्तो कार्यक्रमले फाइदा भएको बताएका छन् । विपन्न, पछाडि परेका बिद्यार्थीलाई यस्ता कार्यक्रमले राहत गरेको र अझै प्रभावकारीताका साथ यो कार्यक्रम लागू गर्नुपर्ने अविभाकले बताए ।
यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।
लेखकबाट थप...