दार्चुला । महाकाली नदीमा जयसिंह धामी बेपत्ता भएको घटनाको छानबिन गर्न गएको छानबिन समिति हिजो घटनास्थल पुगेको छ ।
गृहमन्त्रालयद्वारा बनाइएको छानबिन समिति घटनाको सात दिनपछि भारतीय बाटो हुँदै घटनास्थल पुगेको हो ।
नेपाल र भारतका सुरक्षा अधिकारीसहित घटनास्थल पुगेको छानबिन टोलीले घटनास्थल निरीक्षण गरी हिजै सदमुकाम फर्किएको छ ।
व्यास गाउँपालिका–२ मालघाटको स्थलगत निरीक्षण गर्न नेपाली सुरक्षा अधिकारी र छानबिन समिति भारतीय एसएसबीसँगै घटनास्थल पुगेका हुन् । गृह मन्त्रालयका सहसचिव जनार्दन गौतम नेतृत्वको छानबिन टोली दार्चुलाबाट भारतको धारचुला हुँदै गस्कु–मालघाट पुगेको थियो ।
घटनास्थल पुगेको समितिले तुइन बाँधिएको रूखको नापजाँच लिएको छ । यसअघि जिल्लाबाट खटिएको अनुसन्धान टोलीले दिएको विवरणअनुसार घटनास्थलको निरीक्षण गरिएको अनुगमन समितिका सदस्य एवं सहायक प्रमुख जिल्ला अधिकारी ज्योत्सना भट्ट जोशीले बताइन् ।
महाकाली तर्न नेपालतिर काठको खम्बा गाडिएको छ भने भारततर्फ टुडीको रूख छ, तर दुवैतर्फ तार छैन । रूखबाट तार झिकेको हो कि काटेको हो भन्ने देखिने गरी प्रमाण केही नदेखिएको अधिकारीहरु बताउँछन् । महाकाली नदी वारिपारि झण्डै ४५ मिटर छ ।
यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।
लेखकबाट थप...