काठमाडौँ - बक्याैता रकम उठाइदिन माग गर्दै उखु किसानहरू पुनः काठमाडाैँ आएका छन् ।
बिहीबार काठमाडौँमा पत्रकार सम्मेलन गर्दै उखु किसान संघर्ष समिति सर्लाही, राष्ट्रिय कृषि श्रमिक संघ र उखु किसानहरूले विगतमा भएको सहमति अनुसार आफ्नो बक्यौता भुक्तानी नपाएकाे बताएका हुन् ।
पत्रकार सम्मेलनमा उनीहरूले भदौ ५ गतेसम्म चिनी मिलबाट भुक्तानी नपाए आन्दोलन गर्ने बताएका छन् ।
उखु किसान संघर्ष समिति र नेपाल सरकार उद्योग मन्त्रालयबीच गत पौष १३ गते पाँचबुँदे सहमति भएको थियो । उद्योग मन्त्रालय र उखु किसानहरूबीच भएको सम्झौताअनुसार ६५ करोड रुपैयाँ तुरुन्तै भुक्तानी गराइने भनिए पनि सर्लाहीको अन्नपूर्ण चिनी मिल, महालक्ष्मी सुगर मिल, नवलपरासीको लुम्बिनी चिनी कारखाना, इन्दिरा सुगर मिल र रौतहटको श्रीराम सुगर मिलसहित सरकारले कबुल गरेको रकममध्येबाट झण्डै २९ कराेड भुक्तानी हुन बाँकी रहेको समितिले जनाएको छ ।
सहमतिमा २१ दिनभित्र उखु किसानहरूको बाँकी बक्यौता उद्योग मन्त्रालयले भुक्तानी गराउन जिम्मेवारी लिएको थियो तर सहमति अनुसार रकम भुक्तानी नभएको संघर्ष समितिले बताएको छ ।
उद्योग मन्त्रालयले किसानहरूको भुक्तानी गराउन नसकेको भन्दै समितिले सरकारको निरीहताको सीमा नाघेको बताएको छ । मन्त्रालयले उद्योगीहरूको जायजथा बिक्री गरेर किसानहरूको भुक्तानी गर्ने जिम्मा लिएको थियो ।
संघर्ष समितिले दबाव दिएपछि किसानहरूबाट निवदेन लिन शुरू गरेपनि भुक्तानी कसरी र कहिले गर्नै भन्ने समयसीमा तोकेको छैन । किसानहरूको रेकर्ड संकलन गरी भुक्तानी गराउने दायित्वबाट पनि सरकार भाग्न खोजेको किसानहरूले बताएका छन् ।
कुन मिलले कति दिएनन् ?
क्रसं. | मिलकाे नाम | बक्याैता रकम |
१. | इन्दिरा सुगर | ३ करोड |
२. | लुम्बिनी सुगर | ३ कराेड |
३ | अन्नपूर्ण सुगर | १२ करोड |
४. | महाकाली सुगर | साढे ८ कराेड |
५. | श्रीराम सुगर | ३ करोड |
यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।
लेखकबाट थप...