मुगु - हिमाली जिल्ला मुगुका पश्चिम खत्याड गाउँपालिका र उत्तरी सोरु गाउँपालिकामा १३ वटा सिँचाइका लागि सिचाई कुलो निर्माण भई सञ्चालनमा आएसँगै यहाँका किसानहरूमा खुसीयाली छाएको छ ।

विगतका वर्षहरूमा आकाशे पानीको भरमा खेतीपाती गर्ने बाध्यता खेप्दै आएका यहाँका किसान सिँचाइ कुलो सञ्चालनमा आएसँगै त्यो बाध्यता टरेकाे हाे ।

गाउँगाउँमा सिँचाइका लागि कुलो बनेपछि उब्जनी पनि बढ्ने यहाँका किसानहरूको आशा पलाएको छ । 

कर्णालीका किसानहरूलाई सिँचाइ अभावले आकाशे पानीको भर पर्नुपर्ने बाध्यता छ । पाखो जमिन र सिँचाइ सुविधा नहुनाले पनि कर्णालीमा सोचेअनुरूप उब्जनी हुँदैन । 

अनुकुलन कोषको आर्थिक सहयोग नेपाल सरकार वन तथा वातावरण मन्त्रालय विश्व खाद्य कार्यक्रम  र ग्रामीण सामुदायिक विकास केन्द्रद्वारा सञ्चालित क्यापस कर्णाली परियोजना अन्तर्गत खत्याड गाउँपालिकाको भुवने खोलादेखि नाई ढुंगा सिँचाइ, रोल सैनाको चुचे देखि मानसैना सिँचाइ, केराई पैखु गसाजु बहुउपयोगी सिँचाइ, थारा गम्थाको बिहानीदेखि रामतढी सिँचाइ, रिगाको रिगा जिउला सिँचाइ, बिना सिँचाइ, जसेलि सिँचाइ आयोजना गरी ७ वटा र सोरुगाउँपालिकाको कालै सिँचाइ, माझघटदेखि एकलकाटिका सिँचाइ, सिड्डी सिँचाइ, काडाकुला सिँचाइ, धैनकोट सिँचाइ, फोतु सिँचाइ, नेर सिचाई गरी ६ वटा सहित जम्मा १३ वटा सिँचाइ कुलो निर्माण भई सञ्चालनमा आएसँगै यहाँका किसानमा खुसी छाउनुका साथै आकाशे पानीको खेती गर्ने बाध्यता टरेको बताउँछन् ।



सोरुगाउँपालिका वडा नं ९ सिडी बहुउपयोगी सिँचाइ कुलो आयोजनाका अध्यक्ष जनक रोकायाका अनुसार अब किसानहरू आकाशे पानीको भर पर्नुनपर्ने र उत्पादन पनि बढ्ने बताए । 

यता सिड गाउँकै स्थानीय रुद्धकला रोकायाका अनुसार  सिँचाइ कुलो निर्माणमा समूह समूह बनाइ काम गरिरहेका बताइन् । उनी भन्छिन्, 'महिला पुरुष सबै जनाले रातदिन नभनी साबेल, घन उठाएर भएपनि गाउँमै पाएको रोजगारी सँगै सिँचाइ सुविधाले आफूहरू सन्तुष्ट बताइन् ।

सिँचाइ कुलो निर्माणको काममा १८ वर्षभन्दा माथिका र ६० वर्षसम्मका कामदार सिँचाइ कुलो निर्माणको काममा जुटेका थिए । सिँचाइ सुविधा पुगेपछि किसानको उत्पादन बढ्ने र खाद्य समस्या हट्दै जाने अपेक्षा गरिएको छ ।

कुलो निर्माण हुँदै गर्दा स्थानीयले पैसा पनि कमाउने र खेतमा सिँचाइ गरी उत्पादन पनि बढ्ने भएकाले क्यापस कर्णाली परियोजनाले सिँचाइ कुलो निर्माणमा जोड दिएको उद्यम विकास अधिकृत जगत बहादुर भामले बताए । उनले सिँचाई कुलो निर्माणका क्रममा जलवायु परिर्वतनको असरलाई पनि ध्यानमा राखेर काम गरेको बताए ।  जलवायु परिर्वतको असरलाई मध्यनजर गदै वृक्षारोपण र बायोइन्जिनिरिङ समेत गरेर सिँचाइ कुला निर्माण गरेकाे र लगभग ६ करोडभन्दा बढी लागतमा १३ वटा सिँचाइ कुलो निर्माण भई सञ्चालनमा आएका बताए ।

त्यस्तै कुलाे निर्माणमा महिलाकाे सहभागिता समेत उल्लेख रहेकाे थियाे । पहिले–पहिले जुनसुकै विकासे काम गर्दा  पुरुषले मात्र गर्थे । महिलाले सक्दैनन् भन्ने सोचाइ थियो । तर अहिले यहाँका महिला पुरुषसरह नै दैनिक आठघण्टा ढुंगा फोड्ने, वाल लगाउने काममा खटिएका र सबैले बराबर ज्याला पाएका महिलाहरू बताउँछन् ।

सोरु गाउँपालिका–९ की रामदेवी योगीले भनिन्, 'पुरुषसरह नै ज्याला पाएका छौँ, महिलाले पनि गाउँमै रोजगारी पाउँदा एकदमै खुसी भएका छौँ ।'

यतिबेला परिवार पाल्नकै लागि भारत मजदुरी गर्ने जाने पनि गाउँमै अडिएका छन । यसले गाउँको बेरोजगार समस्या समाधान मात्र होइन, परिवारसँगै रहने वातावरण पनि बनेको छ । गाउँकै रोजगारीले गर्दा युवाहरू भारत जानु नपरेको निर्माण कार्यमा संलग्न युवाहरू बताउँछन् ।

यसैबीच सिँचाइ कुलो निर्माणसँगै घट्ट नहुँदा घण्टौँ हिँडेर अर्को गाउँमा कुटानीपिसानी गर्दै आएका सिड्डी गाउँको लागि ३२ लाख बराबरको मिल निर्माण गरिने भएको छ । सिँचाइ सुविधाका अलवा कुटानी पिसानी र पेलालीको लागि त्यही सिँचाइ कुलोबाट सिड्डी गाउँमा आधुनिक घट्ट पनि निर्माण हुने क्यापस कर्णाली परियोजनका उद्यम विकास अधिकृत जगत बहादुर भामले बताए ।

सिँचाइ कुलो निर्माणसँगै २५ सय घरधुरी र २० हजार जना प्रत्यक्ष लाभाम्बित भएका छन् ।

यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।

नन्दबहादुर रोकाया

लेखकबाट थप...

सम्बन्धित समाचार