हामी कथा खोज्न कहाँ कहाँ रुमल्लिरहन्छौँ । धेरैजसो कथाहरु हाम्रै समिप छरपस्ट छन् । हामी देख्दैनौं अथवा देखेर पनि नदेखेझैं गर्छौं ।  हो यस्तै एउटा कथा हो यो । समयले लेख्न बिर्सिएको कृष्ण मिजार दाइको कथा । पंतिकार  आफैँले कृष्ण दाइसँग सेवा लिन सुरु गरेको थाहै नपाई  बार्हौं बर्ष बित्तिसकेछ । अँध्यारोले अलिकति आँखा खोलेसँगै   लगनखेलको बस स्टेशन एक छेउमा वरिपरि ब्रस, पोलिस, केहि थान पुराना जुत्ता, रंगीबिरंगी जुत्ताका लेसहरु अनि जुत्ताका सुत्ताहरु सहितको ठूला-ठूला चार पाँच ओटा पुराना झोलाहरुको बिचमा छन् कृष्ण दाई  । सधैँ झैँ आजपनि म  कृष्ण दाईको सेवा लिन पुग्छु । नियमित भन्दा थप काम आज झोलाको फित्ता पनि सिलाउनु छ । म सोध्छु, छोराको पढाई कस्तो छ रे दाई  ? सधैँ झैँ   दाईसँग  गफ सुरु हुन्छ । राम्रै छ भन्छ,धन्न यत्रो लकडाउनमा पनि  यताबाट पैसा चाहिँ पठाउन परेन । अस्ति त अलिकति पैसा नि पठायो । उसको ऋण अलिलि भए नि तिर्यौ। यो कुरा पंतिकारलाई पहिल्यै थाह थियो ।  दाईको जेठो छोरो अष्ट्रेलियामा मास्टर्स पढ्दैछन् ।

कृष्ण दाई  २०५० सालमा घरायसी व्यवहारमा दश हजार ऋण लागेपछि यो काम सुरु गरेको बताउँछन् । बिहान चार बजे धापाखेलबाट हिँडेर  लगनखेल आउनु, दिनभरी  काम गरेर साँझ घर हिँडेरै फर्किनु  उनको दिनचार्य हो । जुत्तामा पोलिस गर्नु, पुराना जुत्ताहरु मर्मत गर्नु उनको कर्म  हो,सेवा हो, काम हो । कामबाट सन्तुष्ट हुनुहुन्छ दाई ? पंतिकारको प्रश्नको जवाफमा कृष्ण दाई थप्छन्: "सन्तुष्ट छु , जेठो छोरोलाई बाह्र कक्षा सम्म पढाएँ, सोह्र कक्षा सम्म आफैँले पढ्यो । पोहोर फाल्गुनमा मात्र अष्ट्रेलिया पढ्न पठाएँ । कान्छो छोरालाई पनि बाह्र कक्षा सम्म पढाएँ । उसलाई पनि अहिले मैले पैसा दिन परेको छैन । अहिलेसम्म जे गरे यसैले गरेको हुँ । अलिअलि  ऋण चाहिँ छ । " पंतिकार फेरी प्रश्न गर्छ: दिउँसो त यहाँ धेरै जना हुनुहुन्छ,तर विहान चाहिँ तपाईं मात्रै किन यति चाँडै आउनु हुन्छ ? जवाफमा कृष्ण दाई भन्नुहुन्छ : यहाँ बस्ने सबै प्राय हाम्रै गाउँका  हुन् । लगनशिल र ईमान्दार भएर काम यर्यो भने राम्रै हुन्छ । अनेकौँ किसिमका मानिस आउँछन्, भद्र भलाद्मीदेखि  हामी जस्तै दुखी गरिब सम्म ।  कति त सेण्डिल, जुत्ता सिलाई सकेपछि ल पैसा छैन जे गर्छौ गर, जता लान्छौ जान्छु भन्ने सम्मका मानिस समेत आउँछन्  । हामीले आफ्नो ईमान्दारीता छोड्न हुन्न । परिश्रमले खान पुगेको छ । पेटीमा जुत्ता सिलाएर अष्ट्रेलियामा छोरा पढाउनु भएको छ मानिसहरु के भन्छन् ? भनेर  सोध्दा कोही खुसी हुने कोही डाहा गर्ने बताउने कृष्ण मानिसले डाहा चाहिँ कैले गर्न नहुने सुझाउँछन् । कुराकानीकै सिलसिलामा यही अगाडी (राजश्व कार्यालय भएतिर देखाउँदै ) पेन (वहाले भन्न खोज्नु भएको PAN) हो कि के जाति नम्बर निकाल्न जाँदा आफूलाई धेरै दुःख दिईएको सुनाउँछन्  । लेखे पढेको छैन भनेर दुखेसो पोख्छन् । कोरोना कहरमा हातमा एक रुपैयाँ पनि नहुँदा साह्रै दुःख भएको सुनाउँछन् । कुराकानी गर्दागर्दै थरमस बोकेकी एक जना दिदि आएर एक ग्लास दुध चिया सारेर दिन्छिन् । कृष्ण दाइ मलाई पनि चिया खाँउ सर भन्छन् । म आफुले दुध चिया नखाने बताएसँगै उनी चिया सुरुप्प पार्छन् । आफूले कमाएकैले  परिवार पाल्न सकेको, दुनिया सँग केहि गुनासो नरहेको बताउँछन् ।  तपाईंको कथा धेरैको लागि प्रेरणा  हुन सक्छ ।तपाईंको  एउटा छोटो कथा लेखौँ ? भन्ने अनुमती माग्छु । उनी खुसी हुँदै  थप उत्साहित मुहारमा  'हुन्छ नि  लेख्दिनोस् न भन्छन् । त्यसपछि  मैले सेवा लिए बापतको रकम दिएर म पनि आफ्नो गन्तव्यतिर लम्कन्छु । 







यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।

निशेष आङदेम्बे

लेखकबाट थप...