प्राय:हप्ताकाे पाँच दिन लगनखेल बसपार्ककाे दक्षिण कुनामा बिहानदेखि साँझसम्मै देख्न सकिन्छ, मुगु सोर गाउँपालिकाको स्थाई बासिन्दा हाल ललितपुरको जावलाखेलमा अस्थाई बसोबास गर्दै आएका बर्ष ३० को मणि कुमाल र सिर्जना कुमाल । छेवैमा राखिएका छन्, २ वटा ठुलठुला टाेकरीहरु । टाेकरीभित्र झाेक्राइरहेझैँ/ टाेलाइरहेझैँ देखिन्छ केही काेइलर र लेयर्स कखुराहरु । सायद तिनीहरुले पनि हेरिरहेछ,यस व्यस्त चाेककाे व्यस्त मान्छेहरु। मान्छेकाे हर्कतहरु। सुनिरहेछन् गाडीको कर्कश आवाज । मणि र सिर्जना ग्राहकहरुलाई रिझाउन कुखुराबारे केहि भनिरहेका हुन्छन् ।
मुगुदेखि भारतको कोइलाखात, कोइलाखातदेखि काठमाण्डाैँ सम्मको मिठो- नमिठो सम्झना छ, यो जोडीलाई । मणि भन्छन् : आ-आफ्नो भाग्यमा लेखेको कुरा हो भोग्नै पर्छ। काठमाण्डाैँमा पहिले बिल्डिङ्ग कन्ट्रक्सनमा काम गर्यौं , वाल बनाउने ,रोड बनाउने काम गर्यौं। तर कहिले भनेको समयमा ठेकेदारले पैसा दिँँदैन थियो ,कहिले ठेकेदार नै भाग्थ्यो त्यहि भएर त्यो काम छोडेर यो काम सुरु गर्यौं। कहिले नुवाकोट, कहिले काभ्रे, कहिले चितवनबाट प्रतिगोटा तीन सयको दरले खरिद गरेर ल्याएको कुखुरा उनीहरु गाडी भाडा र नाफा सहित प्रतिगोटा तीनसय पचासमा बेच्छन् । बिहानै मणि साइकलमा एक टोकरी कुखुरा बोकेर जावलाखेल, कुमारीपाटी र लगनखेलको मासु पसलहरु पुग्छन् । सिर्जना तीन जना बच्चाहरुलाई सरकारी बिद्यालयको ढोकासम्म छोडेर डोकोमाथि अर्को कुखुराको टोकरी बोकेर जाउलाखेल, कुमारीपाटीको सडकपेटी हुँदै लगनखेलसम्म पुग्छिन् । यसरी सुरु हुन्छ उनीहरुको दैनिकी ।
लकडाउन भयो व्यापार व्यवसाय भएन । खान-लाउन अभाव भयो, त्यहिमाथि घरभाडाको तनाव । आउने बाटाे नभएपछी खासै बाँचिएला जस्तो लागेको थिएन । सिर्जना आफ्नो लकडाउनको नमिठो अनुभव सुनाउछिन् । दुखको मात्र कुरा गर्यो भने दुखै जस्तो मात्र लाग्छ जिन्दगी थोरै हिम्मत सहितको मुस्कान थप्छन् मणि ।
कहिले बाहिरबाट कुखुरा ल्याउँदा-ल्याउँदै गाडीमा नै मर्छ, कहिले कुखुरा बिक्दैन, कहिले सबै कुखुरा नगर प्रहरीले लगिदिन्छन् , कहिले ग्राहकहरुको तितो बचन सहनु पर्छ। तैपनि व्यवसाय हो तल-माथि, घाटा-नाफा सबै सहनै पर्यो । मणि र सिर्जनाले यी सबै कुरा भनिरहँदा टोकरी भित्रबाट कुखुराहरु टुलुटुलु उनीहरुको अनुहार हेरे जस्तै देखिन्थे ।ग्राहकहरुलाई रिझाउन हाँसीहाँसी कुरा गरिरहेका यी जोडीले तीनसय रुपैयाँ प्रतिगोटाको कुखुराबाट गाडीभाडा नाफा सहित तीनसय पचास रुपैयाँमा बेचेर प्रतिगोटा जम्मा तिस रुपैयाँ नाफा निकालेर जेनतेन आफ्नो तीनजना सन्तानकाे भविष्य हुर्काउँदै छन् । यता सरकार देशव्यापी लकडाउनको तयारी गर्दैछ ।
यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।
लेखकबाट थप...