अनिल सुब्बा

लेखन तथा निर्देशनमा रूचिराख्ने इलामका अनिल पेसाले रंगकर्मी हुन् ।

घण्टाघरमा बिहानको ५ बज्छ,जसै समयसँगै वर्ष ६० का कृष्णबहादुर रुम्बा तामाङको आँखा खुल्छ । चियासँगै चुरोटको धुवाँका केही हरफ उडाइसकेपछि, उनी आफ्नो पुरानो कपडाको पोको र काठको सानो टेबल बोकेर कोठा नजिकैको जमलको आकाशे पुल छिचोल्दै पुग्छन्, रानीपोखरीको दायाँ छेउ । जहाँ उनले विगत दश वर्षदेखि निरन्तर मान्छेहरुको घडी बनाइरहेका छन् । 

उनको पुर्ख्यौली थलो हेटौडा भए पनि विगत तीस वर्षदेखि निरन्तर दौडिरहेछन् कृष्णबहादुर त्यहि ठाउँमा । कहिले भरिया बन्दै, कहिले पानी बेच्दै, कहिले कपडा बेच्दै त कहिले घडी बनाउँदै । 'भाइ जिन्दगी भनेको चुरोटजस्तै हो, निकाल्यो सल्कायो तान्यो उडायो फाल्यो,' थोरै मुस्कुराउँदै जिन्दगीको यति मिठो परिभाषा दिने कृष्णबहादुरका दुई छोरा नेपाली सेनामा कार्यरत छन् । तर उनी भने, 'आफ्नो हातमा सीप छ, हातखुट्टा चलुन्जेल आफ्नै कमाइ खाने हो,' भन्दै बिहान ७ बजेदेखि बेलुका ६ बजेसम्म निरन्तर काम गरिरहन्छन् । 
हामीले हेर्दा सानो देखिने उनको पसलमा उनी पानी बेच्छन् , पुरानो लाइटरमा ग्याँस भर्छन् र घडी बनाउँछन् । घडीको पीन १० पानी २० र लाइटरमा ग्याँस भरेको रु.१० लिएर पनि दैनिक कम्तिमा एकहजार रुपैयाँसम्म आम्दानी गर्छन् ।



उनी बसेकै अगाडी मोबाइल पसलमा दिनको पन्ध्र घण्टा, 'इयरफोन सयमा, डाटाकेवल सयमा, चार्जर सयमा,' भन्दै कराइरहन्छ सानो रेडियो तर उनी आफ्नो काम नै आफ्नो विज्ञापन भन्ने बताउँछन् । उनको कपडाको पोकोभित्र सयौँ मान्छेका सयौँ पुराना घडीका फित्ताहरु छन् । त्यो पुरानो घडीको फित्ता तपाईंको हुनसक्छ, मेरो हुनसक्छ । जो हामीजस्तै समय पर्खिरहे झैँ देखिन्छ ।



उनको जागिरमा सरकारी बिदा हुँदैन, तर कताकताबाट परिआउने नियम कानुनले गर्दा कहिले नगर प्रहरी, कहिले नेपालबन्द त कहिले लकडाउनको फन्दामा पर्छन् । थोरै गम्भीर हुँदै भन्छन्, 'बैँशमा थुप्रै सपना हुन्छ मान्छेको, अरुकोजस्तै मेरो पनि थियो । केके योजना बनाएर काठमाडौँ छिरियो । हातमुख जोड्ने बहाना खोज्दाखोज्दै भारी बोकेँ, पानी बेचेँ, कपडा बेचेँ र अहिले घडी बनाउँछु ।' थोरै मुस्कुराउछ्न् , 'म खुशी छु,' र अन्त्यमा फेरि थप्छन्, 'मेरो लागि सबै घडी उस्तै हुन्, सबैले समय बताउँछन् । म घडीको ब्रान्ड हेर्दिनँ, बिमार हेर्छु  ।'


यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।

अनिल सुब्बा

लेखकबाट थप...