- बडा धमाधम ?
- आ... एसो ढाँटी खाने मेलो गर्दै छु हौ ,
- (ठट्यौली भावमा ) हौ ढाँटेरै हो त यत्रो बिल्डिङ्ग ? ठड्याउनुभाको ?
- (कुरा टार्दै ) गाह्रो छ हौ मलाई ।
दाैरा सुरुवाल र ढाका टोपी लगाएको सुरिलो ज्यान, खाली खुट्टा, ठट्यौलो स्वभाव, हँसिलो उपस्थिति र काममा बिन्दास पारा उनको पहिलो परिचय भन्दा फरक पर्दैन । दैनिक विभिन्न खाले हातहतियार (हँसिया-कचिया, कुटो-कोदालो, बन्चरो, काँटा, तरवार, खुकुरी इत्यादि) बनाउनु, पुरानालाई अर्जाप/उर्जुप पार्नु, सँगसँगै गाउँले अथवा आएका ग्राहकहरूसँग ठट्यौली गर्दै काम गर्ने उनको दैनिकी विगत ३५ वर्ष देखि निरन्तर चलिरहेको छ । सन्दकपुर गाउँपालिका वडा नं ५, जमुना निवासी 'खड्ग बहादुर दुतराज' आफ्ना बाउ-बाजेदेखि चली आएको पेसा यानेकी आरनमा हतियार बनाउने काम गर्दै आइरहेका छन्।
तर जति जे गरे यि सबै बाँचुन्जेल गरिने नियमित कर्म मात्रै हो भन्ने कुरामा उनी निश्चिन्त देखिन्छन् । उनी भन्छन्- "हामी यहाँका हुँदै होइनौ, यहाँ त हामी केही समयको लागि भुलिन आएका हौँ, जे जति गरिरहेका छौँ, यहाँ रहुन्जेल भुलिनलाई गर्ने हो । बाँकी त हामीसँगके छ र रित्तै आयौं रित्तै जान्छौं ।" घरतिर हेर्दै उनी थप्छन्-"यो केही पनि मेरो होइन, किनभने मसँग पहिला यि केही पनि थिएन। परिस्थिति राम्रो भयो जोडियो एकदिन त्यसरि नै छुटिन्छन् फेरि म जाँदा यि मध्ये केही पनि लिएर जान्न। "
उमेर सोध्दा उनी भन्छन्, "७० पुग्न लागेँ । अब मेरो खेला खतम हुन लाग्यो ।" यस्तो बिन्दास उत्तर दिइरहने दुतराजलाई हेर्दा लाग्छ उनले जीवनलाई धेरै सरल रूपमा लिएकाे भान हुन्छ । साथमा श्रीमती, दुई छोरा बुहारी, एक छोरी अनि नातिनातिना पनि छन् । गाउँमा सामन्यतया आफ्नो नाउँ भन्दा पनि जेठा छोरा अथवा छोरीको नाउँबाट चिनिने प्रचलन नयाँ मानिँदैन । उनी पनि त्यसबाट बच्न सकेनन् । त्यसैले आफ्नो नाउँ प्रचलनमा गुमाइसकेका उनी तुला बाउ नामले नै गाउँभरि परिचित छन् । दुईवटा मझौला आकारका घर, बन्दै गरेको सिमेन्टको पिलर लगाएको पाली, वस्तु गोठ, छेउमा सुँगुर पालन अनि घरको पश्चिमपट्टि सानो आरन। यी सबै अवस्थिति हेर्दा लाग्छ, उनलाई आरन चलाएर दिनभरि फलाम पिट्न के जरुरी होला र ? तर उधमशील र लगनशील खड्ग बहादुर एकछिन् पनि फुर्सदिलाे बस्दैनन् । सायद यही लगनशिलताको उपलब्धि हो उनको अहिलेको अवस्थिति।
दिनभरि फलाम पिटिरहन दिक्क लाग्दैन ? उनी भन्छन्, "यै कामले नै मलाई यहाँसम्म ल्याइपुर्यायो, अनि मैले दिक्क मानेर हुन्छ ? बरू यो गरिन भने मलाई छटपटी हुन्छ ।" उनी यसरी नै दिनहुँ फलाम पिट्छन । फलाम यसरी पिट्छन कि त्यो फलामलाई उनले सोँचेको कुनै न कुनै आकारमा नढली उपायै छैन । जसरी उनी फलामलाई पिटेरै तह लगाउँछन् त्यसरी नै जिन्दगीलाई पनि तह लगाएका छन् । उनी आफूले चाहेको जिन्दगी जिउँछन् । यही पेशाबाट उनले छोराछोरी पढाए, घर बनाए, जमिन जोडे र सबल बने।
तर जति जे गरे यी सबै बाँचुन्जेल गरिने नियमित कर्म मात्रै हो भन्ने कुरामा उनी निश्चिन्त देखिन्छन् । उनी भन्छन्- "हामी यहाँका हुँदै होइनौँ, यहाँ त हामी केही समयको लागि भुलिन आएका हौँ । जे जति गरिरहेका छौँ, यहाँ रहुन्जेल भुलिनलाई गर्ने हो । बाँकी त हामीसँग के छ र रित्तै आयौँ, रित्तै जान्छौँ ।" घरतिर हेर्दै उनी थप्छन्, "यो केही पनि मेरो होइन, किनभने मसँग पहिला यी केही पनि थिएन । परिस्थिति राम्रो भयो जोडियो, एकदिन त्यसरी नै छुटिन्छन् । फेरि म जाँदा यी मध्ये केही पनि लिएर जान्न।"
उनी कुरा मात्र होइन हतियार पनि साँच्चै बलियो बनाउँछन् । त्यसैले जमुना मात्रै होइन वारिपारि सबै गाउँबाट हतियार बनाउनेको घुँइचो नै लाग्छ उनका आरनमा । बनाइसकेका हतियार एकापट्टी राख्दै "एउटालाई ढाँटिने भो यति भए" भन्छन् । बोलीमा ठट्यौली भए पनि उनका काममा त्यो देखिन्न । हतियार बनिसक्दा साँच्चै राम्रो बनिन्छ । चाप धेरै भएकोले समयमा हतियार बनाउन नसक्नु चाहिँ उनको कमजोरी भनौँ या विशेषता ।
अहिले महामारीको समय छ । उनलाई भने खासै असर नपरेको बताउँछन् । हुन त अहिले हतियारको लागि फलाम गाउँगाउँमै पाइन्छ । कोइला चाहिँ गाउँकै जंगलबाट । यी सबै प्रकोप, महामारी, लडाइँ झगडा हुनुमा उनी कलियुगलाई दोष दिन्छन् । उनी भन्छन्, "एक सय आठ देवताका समय समाप्त भयो । अहिले कली राजाको पालो छ । उनको पालोमा नै यी सब झै-झगडा, मोज-मस्ती, प्रकोप सबै छन् । दश हजार वर्षमध्ये अझै चार हजार बर्ष बाँकी छ र यस्ता प्रकोपहरू भैरहन्छन् ।
"हामी आफ्नो काम गर्न आएका हौँ, जे जति सकिन्छ गरिरहने हो । हामीले तनाव लिए पनि नलिए पनि यी सब भइ नै रहन्छन् । त्यसैले जे-जे गर्न आएका हौँ, गर्ने हो ।" उनी साँच्चै नै बिन्दास छन् तर जति बिन्दास उनी त्यति नै प्रकृतिसँग नजिक छन् । बिहानै उठ्नु, खाली खुट्टा गाउँ एक चक्कर लगाउनु, टाढा जाँदा बाहेक खाली खुट्टै हिँड्नु, बिरुवा-वनस्पतिसँग नजिक हनु, समयमा खानपिन गर्नु, समयमै सुत्नु जस्ता यौगिक आचरण उनमा छन् । फलाम पिटेरै यतिसम्म प्रगति गर्ने थोरैमा पर्छन् उनी । उनको व्यक्तिगत विशेषताले यसमा धेरै ठूलो भूमिका खेलेको जस्तो लाग्छ । गाउँमा सबैलाई चित्त बुझाउन गाह्रो छ । अर्को खुकुरी लिन २/४ दिनमा आउनु है भन्दै सकेको हतियार मेरो हातमा थमाउँछन् । म पनि साह्रै नढाँट्नु है बडा भन्दै आफ्नो बाटो तताउँछु ।
यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।
लेखकबाट थप...