हुन त नौ देखि दश किलो त हो उनको खुसीको वजन । तर पनि दिनभरी त्यो वजन बोकिरहँदा कति गह्रुंगो त थाहा भएन तर हलुंगो भने पक्कै हुँदैन । तैपनि उनलाई त्यो वजन गह्रुंगो हुँदा दुख कहिल्यै लागेन बरु कहिलेकाहिँ कम कम हुँदा भने मन गह्रुंगो भएर आउँछ । 

देव गुरुङ 

देव गुरुङका जवानीमा काठमा बुट्टा कुँदिहिँड्ने औँलाहरु आजकल चियाका बोटहरुमा चियाका मुनाहरुसगँ दुख साटिरहेका भेटिन्छन् । कहिले डाँडाको टुप्पोमा त कहिले डाँडा-काडाँको गहिरोमा । लगभग आधा आयु मिस्त्री कर्ममा जीवन बाँचेका उनी आजभोलि इलाम सुर्योदय स्थित 'गोर्खा टि स्टेट'को चिया बगानमा बाँचिरहेका छन् ।



यसरी, उनले चिया टिप्न थालेको लगभग  ४ वर्ष भयो । हप्ताको एक दिन बाहेक चियाका बोटहरुमाझ बिहान ७ त कहिले ७ः३० बजेबाटै भेटिन्छ उनलाई ।

न हिउँद न बर्खा उनी सधैँ भोक र दुखका एक–एक मुना टिपेर टोकरी भरी खुसी भर्छन् । हुन त नौ देखि दश किलो त हो उनको खुसीको वजन । तर पनि दिनभरी त्यो वजन बोकिरहँदा कति गह्रुंगो त थाहा भएन तर हलुंगो भने पक्कै हुँदैन । तैपनि उनलाई त्यो वजन गह्रुंगो हुँदा दुख कहिल्यै लागेन बरु कहिलेकाहिँ कम हुँदा भने मन गह्रुंगो भएर आउँछ । 



४० रुपैँया प्रतिकिलोका दरले मासिक १२ हजार रुपैँया थाप्छन् उनले । भिरपाखामा एक हातले चियाका बोट समाउछन् र अर्को हातले चिया टिप्छन् उनी । हाजिरामा हुँदा विहान ८ देखी साँझ ४ सम्मभने विग्घामा हुँदा विहान ७ बजे देखि साँझ ४ सम्म नियमित बगान आउँछन् ।



जन्मथलो धादिङ भएका उनी साथिभाईसँग काठको काम गर्दागदै २०६२ सालतिर ईलाम आएको बताउँछन् । कोठाभाडा तिरेर एक्लै बस्दै आएका ६२ वर्षीय देव गुरुङ विवाहित हुन् तर आफ्नो पारिवारीक विषयमा भने खासै खुल्न चाहेनन् । चाडवाडमा पनि उनी घर  जाँदैनन्, यताकै छिमेकिहरु उनका लागि आफ्ना हुन् ।




उर्मिला तामाङ

र्मिला तामाङको भोगाइ पनि गुरुङको भन्दा फरक छैन । उनी पनि बिहान ७ बजे कान्छी छोरी र श्रीमानसँग बगान पुगिसक्छिन् । २ जना छोरीहरुको बिहे पनि चिया टिपेरै गरिदिइन् उनले । अहिले एक छोरी एक छोरा र श्रीमान गरि ४ जनाको परिवार पनि चिया टिपेरै धानी रहेकी छिन् ।



पाँचथर लुङरुपा घर भएका उनको परिवार 'गोर्खा टि स्टेट'ले दिएको सानो घरमा २०७१ साल देखि बस्दै आएका छन् । चिया टिपेरै आफ्नो नामको सानो घर बनाएर परिवारलाइ राख्ने सपना छ उनको । उर्मिलालाइ पनि चिया टिप्न रमाइलो लाग्छ चाहे बिघामा होस या हाजिरामा ।



चिया टिपे वापत महिनामा १५ हजार सम्म पारिश्रामिक थाप्ने गरेकी छिन् । तामाङ र गुरुङ जस्ता हजारौँले टिपेको चिया देश तथा बिदेशका लाखौँ अर्ग्यानिक ग्रिन टि, ब्ल्याक टि पारखीको ओँठ रसाएर मुस्कान बनेर बस्छ ।



यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।

पवित्र राई

लेखकबाट थप...