यहाँ आइपुगेर हेर्दा यस्तो लाग्छ, जहाँ अज्ञात खुसीको सानो मूल जीन्दगीको बलेँसीमा यतै कतै बगिरहेछ। यो यतिबेला खुसीको सानो मुहानमा आइपुगेर थोरै मुस्कान बाँडिरहेछु एउटा सानो परिवारसँग । पहाडको बस्ती,वर्षातको समय, पानी परेर भर्खरै आकाश खुलेजस्तो भएको छ। यसबेला म जहाँ छु, त्यस घरमा साँझको खाना बनाउने तरखर हुँदैछ। प्रविधिको सहजताले गाउँ गाउँमा एल .पी ग्यासको सुविधा भएपछि झरिको बेला दाउरा खोज्नुपर्ने बाध्यता टरेको छ।
गोठसँगै घर हुनु, प्राय पहाडी भेगमा नौलो कुरा होइन । गाइ, बाख्रा, कुखुरा सायद मानिसको सहारा भन्दा फरक नपर्ला । अथवा एक घर, एक गोठ त प्राय हुन्छ नै। साँझको बेला गाइ दुहुने समय भएको छ। बाच्छोलाई थुन पगार्नको लागि सानी दिदी हतार गरिरहकीे छिन् । त्यहि समयमा सानो बाच्छोले दुध चुसिरहेछ। पहाडको कुनै एउटा घर भएपनि सबै नेपालीहरुको प्रतिनिधित्वमा छ यो घर , जहाँ खास नेपालीपन भेटिन्छ। करेसाबारीमा तरकारी प्रशस्तै छ। गोठको मलमा उत्पादन भएको हरियो अग्र्यानिक साग सब्जी खान पाउनु पछिल्लो पुस्ताको लागि भाग्यको कुरा हो। सामान्य रोग बिमार भइहाले पनि अस्पताल नै जानुपर्ने आवश्यकता त्यति छैन। विभिन्न औषधी तथा जडिबुटीहरु आफ्नै आँगनमा भेटिन्छन्। बाल्टिनमा दुध लिएर घर भित्र छिर्नु हुन्छ सानी दिदी।
बाँच्न त सबै बाँच्छन्, तर यहि दिनचर्या र परिवेशमा यस्तो खुसीको फूल फूलाउन कसले जानेको होला र ? "सम्पती जति कमाए पनि कसलाई पुग्छ र मरि लानु केहि छैन, बरु थोरै आम्दानीको लागि एउटा सानो छाप्रो बनाएर कुखुरा पालन गरिरहेका छौँ । श्रीमान् घर बनाउने काम गर्नुहुन्छ, तर सधैँभरि काम नपाइने भएकाले कुखुरा पालन तर्फ आकर्षित भएर थोरै तिनो आम्दानीको खाँचो नभएकोले घर खर्च चलाउन समस्या छैन । यसैमा खुसी छौँ, लाउन खान पुगेकै छ आनन्द छ।"दिदी भन्नुहुन्छ ।
झमक्कै साँझ पर्न लागेको छ । यतिन्जेलको दृश्यहरु गफ गर्दागर्दै केहि फोटोहरु कैद गर्न भ्याइ सकेको छु। जे जस्तो भएपनि यस्तै होला अग्र्यानिक खुसी भन्दै सबैसँग थोरै मुस्कान बाँडेर यहाँबाट बिदा हुने तरखरमा केहि खुसी बोकी म पनि निस्किएँ आफ्नै यात्रातर्फ। हरेक दिन दोहोरीराख्ने यी दृश्यहरु हेर्नेहरुका निम्ति भन्दा उहि पात्रहरुका निम्ति सुन्दर छन्,जो यसैमा रमाएर आउने खुसीहरुका निम्ति भरपुर बाँचिरहेका छन्, सायद म जस्तै....
यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।
लेखकबाट थप...