अनिल सुब्बा

लेखन तथा निर्देशनमा रूचिराख्ने इलामका अनिल पेसाले रंगकर्मी हुन् ।

लामको चुलाचुली वार्ड नं ४, आइतबारे बजारको पश्चिम पहिलेको जोगी टोल । अहिलेको सयपत्री  चोक अवस्थित छ ठुली दिदि अर्थात् हर्कमाया नेम्बाङको चटपटे पसल। समयसँग निक्कै पौँठेजोरी खेलेर यहाँ सम्म आइपुगेको  बताउछिन्  उनी । कुनैबेला उनीसँग आफ्नो परिवार थियो । श्रीमान,छाेराछाेरीसँगै सपरिवार जीवन सुन्दर तरिकाले चलिरहेकै थियोे  । अफसाेँच श्रीमानको दोस्रो बिहेपछि श्रीमान छुटे क्रमशः छोराछोरीको बिहे भयाे,सबै आ-आफनै घर गरिखान लाखापाखा लागे ।



उनको घर नजिकै यता उनको माइतीघरमा कुनैबेला बुवाआमा ,भाइबहिनी सबै थिए । आमालाई कालले लग्यो ,बहिनी आफ्नाे कर्मघर लागिन् । भाइ-बुहारीसँग घरमा बाँकी छन्, ७५ बर्षको एक्लाे बुढाे 'बा' । अहिले उनै 'बा'काे रेखदेख समेत ठुली दिदिलेनै  गर्छिन्  । 


"मलाई  समयले सबै कुरा दियो । छुट्ने कुरा समयसँगै छुटे । तैपनि जीवनकाे बाटोमा हिँड्नु त छँदैछ  ।  सबै कुराको समय हुँदो रैछ ! जे जस्तो भए पनि अहिले बाउको साथी हुन पाएँ खुसी छु ।"



'म पहिले टोपी बुन्थेँ , त्यसपछि खेतीपाती गरेँ । हाम्रो ठाउँ त्यस्तै हो, आकाशे पानीकाे भरमा खेतीपाती गर्नुपर्छ । खासै राम्रो भएन । अनि सुँगुर पालेँ ,पैकार गरेँ , बुढेसकाल लागेर होकि कमजोरीले हो ? घाममा बल काम गर्न नसकिँदो रैछ । स्याहार नपुगेर होला सुँगुर खासै सप्रेन र अहिले एक बर्ष  भयो । यो पसल सुरु गरेको छु भाइ बाँच्न त परिगो ।' उनी थोरै मुस्कुराउँछिन् । 



ठुली दिदिको सानो पसलमा केही थान चाउचाउ , केही थान बियर , केही थान कोक/स्प्राइट ,केहि थान मिठाईका बट्टाहरु ,केही थान कुरकुरे, भुजिया मात्रै  देखिए पनि ती सबै सामग्रीको बिक्री बाहेक नै चटपटे  बेच्दा मात्रै पनि दैनिक रु ५,०००(पाँच हजार ) सम्मको बिक्री  भएको सुनाउँछिन् उनी ।

प्राय बिहान ७ बजे देखि बेलुका ७ बजे सम्म खुल्ने उनको पसल छेउ चाैबाटो छ । जहाँ बाट दक्षिणमा दमक, उत्तरमा मदन भन्डारी राजमार्ग, पश्चिममा बुकुवा र पुर्वमा आइतबारे बजार पर्छ । कहिलेकाहीँ ग्राहकको भिडले गर्दा कसले कति पटक खाएको भन्ने कुरा पनि भुलेको अनुभव सुनाउँछिन् । " 

'भाइ सबै आउँछ्न् मिठो बनाइदिनु भन्छन् ,कहिलेकसाे त म आफैँ अन्योलमा पर्छु मिठो  भनेको के हो ? फेरि एसो सोँच्छु ,मिठो भनेको पनि मन मात्रै हाेकि जस्तो लाग्छ । मन लाएर  बनाए त सबै मिठो हुन्छ होला नि  है !' यति भन्दै गर्दा  उनी  गफ भन्दा काम छिटो गर्दै थिइन् ।


                                 'फेरि एसो सोँच्छु ,मिठो भनेको पनि मन मात्रै हाेकि जस्तो लाग्छ ।'

ठुली दिदिले यी सबै कुरा भनिरहँदा..(एउटा ग्राहक उठेर) 

ग्राहक - दिदी मेरो कति भयो 
ठुली - ८० होला
ग्राहक - (साथीहरू गन्दै ) हामी पाँच जनाले खाको है ।
ठुली - (हाँस्दै ) ए बिर्सेछु , २०० भयो ।

पैसा लिएर बाकसमा हाल्न ठुलीदिदि  थोरै घोप्टिन्  । उनको पछिल्तिर भित्तामा सानो अक्षरमा लेखिएको थियो।
' ग्राहक हाम्रो भगवान हुन् ।'

यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।

अनिल सुब्बा

लेखकबाट थप...