रोल्पाको सिमानाका टेक्दा बिहानको साढे सात हुँदै हुँदो हो। ‘सुनिल स्मृति गाउँपालिका, शहीद स्मृति गाउँपालिका प्रवेशद्वार’ले नेपालीमा ‘स्वागतम’ र अङ्ग्रेजीमा ‘Welcome’ गर्‍यो। गेटमा रातो रङ पोतिएको थियो । ‘रोल्पा रातो छ कि छैन’ भन्दै गएका हामीहरूलाई रोल्पाले प्रवेश बिन्दुमै ‘एसियन पेन्ट’मार्फत भनिहाल्यो, ‘म रातै छु।’

परिवर्तन भोगेको रोल्पाको रातो रङमा आएको परिवर्तन देखेपश्चात् बलराम तिमिल्सिनाको कवितांश याद आयो;

‘पहिले पो
पाखा पखेरामा रगत बग्थ्यो
र रातो थियो रोल्पा
पहिले पो
महिलाहरू पनि बम पड्काउँथे
र तातो थियो रोल्पा
एउटा महाख्यानको
गौरवशाली पातो थियो रोल्पा
अहिले रोल्पा रातो छैन
अहिले रोल्पा तातो छैन।’

तर, तिमिल्सिनाजीको भन्दा फरक अनुभव भेटिहाल्छ कि ? यसकारण पाँचै इन्द्रियहरूलाई खुला छाड्नुथियो। के थाहा आँखाले नदेख्दा नाकले सुँघ्छ कि ? या कानले नसुन्दा छालाले महसुस गर्छ कि ? मेरो एउटा कुलत छ, यात्राक्रममा कुन चरो करायो भन्नेसम्म मलाई याद गर्नुपर्छ। यसकारण रोल्पाको वास्तविक रङ थाहा पाइ छाड्छु भन्ने कुरामा म निश्चिन्त थिएँ नै । 

मेरो पनि बालविवाह हुन्छ हो, कवि अंकल?

साँघुरो बाटो। अर्कोपट्टीबाट कुनै गाडी आएमा साइड दिनुपर्ने । रोल्पा सुगम छैन भन्ने कुरा हाइसको ढलपल ढलपल वाला चालढालबाटै थाहा पाइन्थ्यो।  भन्नलाई बाटो पिच हो तर, पिच थोते हाँसो ङिच्च ङिच्च हाँसिरहेको थियो। बाटोमा उबडखाबडकै जात्रा।  बिहानीपख शौचालयको खोजीमा रहेको पेटलाई बाटोको कारण ‘पर्नु पीर परेको थियो’, तर कसले बुझ्ने ? 

यहीँ प्रसङ्गमा, सुनिल स्मृति गाउँपालिका अध्यक्ष गुणेन्द्र घर्ती मगर र सुनछहारी गाउँपालिका अध्यक्ष आश बहादुर पुन ‘रक्तिमलाई पत्रकार काशिरामी डाँगीले प्रश्न गर्न बाँकी नै थियो- ‘जनप्रतिनिधिद्वय गाउँ जाने बाटो कुन हो ?’ यसको उत्तर भोलिपल्ट (२५ गते) को सेसनमा मागिएको थियो।

जवाफमा जनप्रतिनिधिद्वयले ‘फोन र बत्ती घर-घरमा पुगेको, बालविवाह न्यूनीकरण गर्ने एवम् होम डेलिभरीलाई शून्यमा झार्ने दिशामा आफूहरू लागिरहेको’ बताइदिए। 'रोल्पामा राजनीतिक चेतना बढेको भएता पनि सामाजिक चेतना बढ्न अझै बाँकी रहेको, युद्धका कारण विस्थापन भोगेकाहरूलाई गाउँ फर्काउन बाँकी नै रहेको' पनि बताइयो । पहिलो उत्तरले सन्तुष्ट नभए पनि दोस्रो उत्तरले मेरो असन्तुष्टि केही हदसम्म सन्तुष्ट भएको थियो।

कार्यक्रम सकिएको भोलिपल्ट (२५ गते) हामीलाई गाउँपालिकाको गाडीमा कोचकाच पारेर दिलीपजीले खड्केभिर, तेवाङ (जहाँ, युद्धरत माओवादी लडाकुहरु गोप्य तालिम चलाउँथे) तर्फ लानु’भएको थियो ।


May be an image of 5 people, people standing, outdoors and tree


यसक्रममा लिस्ने लेकको फेदका राता घरहरू सुन्तला टिपेर खाने बेलामा एउटा सानी बालिकामा नजर गयो,  जसको काखको बच्चाको आँखाले सोधिरहेको थियो, “मेरो पनि बालविवाह हुन्छ हो, कवि अंकल?’ १४-१५ वर्षकी बालिकाको काखमा रहेको बच्चोको आँखामा हेरेर मैले भन्न सकिन, “सानी, हिजो मात्रै तिम्रो गाउँपालिका अध्यक्षले बालविवाह शून्यको दिशामा झारिरहेको बताएका छन्, तिम्रो उमेर पुगेपछि नै विवाह होला।’

होला ?.. मैले आफैँलाई प्रश्न गरेँ। तर, उत्तर मसँग थिएन। जीवन 'भोगाइ र यात्रा'का अनगिन्ती प्रश्नहरु हुन्, उत्तरहरू होइनन् ।

उनीहरूले संघीयता कार्यान्वयन भएपछि जिल्लामा भौतिक संरचनाको अभाव रहेको र भौतिक संचना एवं कर्मचारीको अभाव हुँदा सेवा प्रवाहमा समस्या भएकाले यतातर्फ चाहिँ काम भइरहेको बताए। राम्रोसँग नियाल्न पाइएन, तर सुलिचौर आसपास शिक्षा र स्वास्थ्यसँग सम्बन्धित भवनहरू चाहिँ देखिएका थिए । देखिएका भवनभित्र सेवा प्रवाहको गुणस्तरियता कस्तो थियो/रहदैछ रोल्पाले बताउँदै जाला ।

जिल्लाको विकासका लागि ल्याइएको ‘सुन्दर रोल्पा, समृद्ध रोल्पा’ भन्ने अवधारणा  दैनिक चार ओटा तरकारी बोकेका गाडी जिल्लामा भित्राइ बसिरहेको रहेछ । मैले खाना बेलामा सोधेको थिएँ, 'दिदी वरपरी तरकारी लगाएको त देखिन्न, सुलिचौरले कहाँदेखि तरकारी ल्याउँछ ?' 'गाडीले ल्याउछ,' उनको जवाफ थियो ।

जनप्रतिनिधिद्वयले सडक कृषि, पर्यटन, विद्युत्, जडीबुटी, विमानस्थल, उद्योगले समृद्ध रोल्पाको कल्पना गर्न सकिने बताए । तर, कल्पना न हो, गर्दा कसको के जान्छ र ? जनप्रतिनिधिद्वयले पनि गर्दिएँ, पड्काउने ताली पनि पटकाइदिए - परर । बाँकी कुरा त, बालै फरर..!  

वास्तवमा रोल्पा जिल्लाबाट निर्वाचित भएका नेताहरू पटक–पटक देशको नेतृत्व तहमा पुग्दा पनि रोल्पाको युद्ध पर्यटन, जलजला ढोरपाटन, स्वर्गद्धारी लगायतका पर्यटकीय क्षेत्रको भ्रमण खाकाहरू त्यसै कुहिएर गइरहेकै थिए । २०३६ साल बैशाख १६ गते रोल्पाकै तत्कालिन पर्यटन, नागरिक तथा उड्डयन मन्त्री बालाराम घर्तीमगरले उद्घाटन गरी सञ्चालनमा ल्याएको विमानस्थल,  रोल्पा सिमेन्ट उद्योग कता के गर्दै थिए कसैलाई थाह खबर भएको देखिएन । यस हिसाबमा 'गाउँ जाने बाटो साह्रो खतरनाक' रहेको भेउ पाइयो ।

***

अब फेरी अघिल्लो दिनमै आऊ। 

प्युठानका घनश्याम अस्तित्वजीको मुस्कानसँग ठोकिएपश्चात् दिलीपजीले ‘स्वागत छ’ गर्नुभयो। विष्णु बड्डा (सन्यास)ले जुल्फी मिलाउँदै भने, ‘कीर्तिपुरमा मातेको युगै बितेछ है झल्लु ?” 

दाउन्ने-बुटवलको कच्ची बाटोले ‘भाते निद्रा’ सखाप पारेकाले हरेकका आँखामा निन्द्राको कचेरा थियो । त्यो टिपेर मिल्काउनु कि ‘लुङ्ग्री -फगाम खोला दोभानतिर झर्नु’ भन्ने कुरा चल्यो। हामीले दोस्रो विकल्प रोज्यौँ।  हामी अर्थात्, जनक जी, विक्रम दाइ, उत्तम जी, मदन भाइ र युग सर्वनाम जी।  

हात-हातमा तातो चिया समाउँदै हामी लुङ्ग्री -फगाम खोला दोभानमा चलिरहेको चिसो हावामा बयेलिन पुग्यौँ। नाक समाउनु पर्ने कुरा, बगरमा एकप्रकारले ‘हगनगौडी’ पनि रहेछ। काँचा दिसाहरू नाघ्दै लुङ्ग्री खोलामा खुट्टा डुबायौँ। नदीहरूको हकमा एउटा रमाइलो कुरा हुन्छ, जुन नदीमा पानीको बहाव बढी हुन्छ, सोही नदीको नाममा नदीको नाम अगाडि बढ्दै जान्छ। फगाममा पानीको बहाव कम थियो, यसकारण अब अगाडि बढ्ने खोलाको नाम पनि लुङ्ग्री नै भयो।  लुंग्री खोला जलविद्युत् अध्ययन टोली यस खोलाबाट विद्युत सम्भावना भएको बताएको रहेछ ।

सर्वनामजी रोल्पाकै। जनकजीको प्रश्न झैँ लाग्छ, “लुङ्ग्री भनेको के हो ?”

‘लुङ भनेको ढुङ्गा हो।’, सर्वनाम जी। 

‘ढुङ्गे नदी’, हामीले पालैपालो दोहोर्यौं। यतिबेला मदन भाइ लुङमा पिठ्युँ अडाएर क्यामरामार्फत हामीलाई कैद गर्दै थिए। 


No description available.


‘नदी छेउमा बसेका मानिस खतरनाक हुन्छन्, कविहरू अझ खतरनाक हुन्छन्’ काठमाडौँको साहित्यिक गल्लीहरूमै कतै सुनेको सम्झना भयो। कविहरूले खतरा मोल्न उचित ठानेनन् क्यार, टोली फर्किने मनाशयमा पुग्यो। तर, फरक्क फ़र्किएन्। बदलामा उँभोतिर बटारियो। उँभोतिर अर्थात्- रुइनिबाङतिर।

***

रोल्पा जिल्लाको प्रमुख बजार केन्द्र सुुलिचौर र रुइनिबाङ बजार रहेछ। यहाँ साँझपख कीर्तिपुर या बल्खु तरकारी बजारमा देखिने भीड नै देखिँदो रहेछ। लुङ्ग्री खोलाको किनारमा बडो असजिलोसँग अडिएको यस बजारको नाकैबाट ठुलो पहाड उचालिएको रहेछ। यस पहाडको नाकमा पाकेको डन्डीफोर रहेछ - रुइनिबाङ । स्थानीयवासीले केही पहिले पहिरो आउँदा यहाँका १०/१२ घर पहिरोको चपेटामा परेको बताए। नपरोस् पनि कसरी ? पिँधबाट लुङ्ग्रीले माटो काट्दै छ, माथिबाट पहिरोले ‘अबै खसूँ कि अहिल्यै खसूँ’ गरिरहेको छ। सम्भावित दुर्घटनालाई वास्तै नगरी आफ्नो व्यस्ततामा निर्धक्कसाथ चलायमान भइरहेको यस बजार क्षेत्रलाई म अपलक हेरिरहेँ..बस्, हेरिरहे। जब हेर्न नसकिने दृश्यहरू आँखाहरू ठोक्किन आइपुग्छन्, त्यतिबेला हेरिरहनुको बाध्यता बाहेक हामीसँग के नै उपलब्ध हुन्छन् र ? 

रुइनिबाङबाट फर्कँदै गर्दा लुङ्ग्री -फगाम खोला दोभानको शिव मन्दिरमाथिको पुल काटेपश्चात् कार्यक्रमस्थल (सुलिचौर) आइपुगिन्छ । सोही पुल हुँदै एउटा एम्बुलेन्स दगुर्‍यो। एम्बुलेन्सको पिठ्यूँमामा लेखिएको थियो- “परमेश्वरको कृपाले।” सोही पुलको मुखमा एउटा बुलेरो रोकिइराखेको थियो, जसको पिठ्यूँमा राजारानीको तस्बिर छापिएको थियो। पछाडि कुनै गाडीमा लेखिएको थियो - "शत्रुको आशीर्वाद ।" रोल्पाको शत्रु को हो?, प्रश्न जीवितै रह्यो ।

रोल्पा नेपालको ऐतिहासिक राजनीतिक पृष्ठभूमि बोकेको ठाउँ हो। यहाँ देखिने (एवं देखाइने) हरेक बिम्बहरूको अर्थलाई लिएर म घोत्लिइरहेको थिएँ । मगर बाहुल्य रहेको रोल्पामा ‘शिव मन्दिर, परमेश्वरको कृपा र राजारानीको तस्बिर’ एकपछि अर्को क्रमबद्धरूपमा देख्दा कता के नमिलेजस्तो लाग्यो। 

दोस्रो जनआन्दोलनपछि नेपाल सङ्घीय र धर्मनिरपेक्ष बनेको हो। सङ्घीयताको सवालमा सैद्धान्तिक चर्चा-परिचर्चाहरू भएता पनि धर्मनिरपेक्षताको सवालमा चुपी साँधियो। सोही चुपीका बिच धर्मनिरपेक्षताको सैद्धान्तिक चर्चा-परिचर्चा बेगर नयाँ संविधानमा ‘धर्म निरपेक्षता’ जुकोझैँ चिप्कियो। त्यतिबेला माओवादी धर्म निरपेक्षताकै पक्षमा, एमाले चुपचापमा र काँग्रेस करकापमा जस्तो देखिएका थिए । पछि, सबै करकापमा रहेछन् जस्तो हुन् पुग्यो। स्थितिहरूमा जसप्रकारका फेरबदलहरू देखा परे, त्यसले नेपाल व्यवहारिकरुपमा अझै पनि धर्म निरपेक्ष मुलुक भई नसकेको देखाइदियो ।

र, यस समयमा रोल्पामा यो दृश्य देख्दा मनमा प्रश्न उब्जियो, “रोल्पामा पनि धार्मिक सत्ताको पञ्जा उस्तै हो, उसैको हो ?’ यो आज दिउँसोकै बहसको सेसन थियो। बहसमा उत्तर भेटिएला भन्ने आश गरेँ। 

नेपाल मगर सङ्घको लुम्बिनी प्रदेशको इन्चार्ज, सुनछहरी गाउँपालिका नेकपाको सदस्य धनबहादुर पुन ‘कीर्तिमान’ ले राजकुमार बानियाँसँग भने, “सत्ता सञ्चालन गर्नेहरूले धर्मलाई नै हतियार बनाइरहेका छन्। धर्म गुरु या धार्मिक अभियन्ताहरूले धार्मिक व्याख्या मात्रै गरेका हुन् तर राजनीतिक नेताहरूले धर्मलाई हतियारको रूपमा (धार्मिक सत्ता) प्रयोग गरिरहेका छन्।” 


May be an image of 3 people and people sitting


उनले बहसमा हिन्दु धर्मावलम्बीहरूले गाई काटेमा उनीहरूलाई जेल हाल्नु जति नीतिसंगत छ, उत्तिकै नितिसंगत मगर/तामाङहरूले गाई काटेर खानु पनि रहेको बताए । उनले स्टेजबाट ‘गाई खानेहरूले गाई खान पाउनुपर्छ’ भन्दै गर्दा मेरो मन लुङ्ग्री -फगाम खोला दोभानको शिव मन्दिर र मन्दिरमाथि रोकिरहेको बोलेरोमा अङ्कित राजारानीको तस्बिरमा बारम्बार गइरह्यो । तर, गइरहेन पनि। 

किन ?  किनभने लिस्ने लेकमा ‘शिव लिङ्ग’ रोपिरहेका कमरेडहरू पनि कार्यक्रमस्थलमै थिए ।  

यस्ता विसङ्गतिहरू खोज्नलाई रोल्पा नआएकै भए नि हुन्थ्यो जस्तो पनि लाग्यो। रातो झन्डा देखाएर कम्युनिस्ट सिद्धान्तको नामसँग भोट साटेर सत्तामा पुगेपश्चात् फलानो दलका प्रधानमन्त्री र राष्ट्रपतिले नै धर्म निरपेक्षताको मर्म समाउन नसकेको हास्यास्पद स्थिति उतै राजधानीमै पनि देखिरहेकै हो। 

कीर्तिमानले धर्मको राजनीतिमार्फत एक धर्ममाथि अर्को धर्म ओभरल्याप हुन् नहुने बताए तर ‘रोल्पामा यसो किन होइरहेको छ?’ छ भनेर चाहिँ भनेनन्। बानियाँको सोही प्रश्नमा ‘सत्ताको कुर्सीमा बस्नु भनेको दिने ठाउँमा पुग्नु हो । म त्यहाँ पुग्न पाएको छैन, तसर्थ मेरो परीक्षा बाँकी छ’ भन्ने उत्तर दिए। दिने ठाउँ पुगेका दिन उनले यस परीक्षा पास गरुन्, शुभकामना! 

जे होस्, रोल्पाको रातो रङ धर्म निरपेक्षताको सवालमा फुङ्ग उड्दै गएको (एसियन पेन्ट बनिरहेको?) कुरामा भने कुनै शङ्का रहेन। 'धर्म निरपेक्षता अझै पनि राजनीतिक भ्रम नै हो त ?' भन्ने प्रश्न रोल्पा पुगेपश्चात् झन् जीवित भइदियो ।

***

प्युठान जिल्लाको विकट कालाशेष थुप र बाइस खुवा थुम तथा सल्यान जिल्लाको दार्मा थुम र रोल्पा थुम गरी ४ वटा थुमलाई मिलाएर रोल्पा जिल्ला स्थापना गरिएको भन्ने पढ्न पाइन्छ । सल्यानको रोल्पाकोट थुम यतै आएकाले जिल्लाको नाम पनि ‘रोल्पा’ रहनुपर्ने तर्कलाई जायज ठहर्‍याई जिल्लाको नाम रोल्पा राखिएको रहेछ । रोल्पा जिल्ला साबिकको राप्ती अञ्चलका ५ जिल्लाहरूमध्ये नयाँ जिल्ला हो । प्युठानको दुर्गम भूभाग कटाएर बनेको रोल्पाको ठुलो भूभाग अझै दुर्गम रहेछ। अर्पण (उत्कर्ष)जीको फोटोग्राफीले पछिल्ला दिनहरूमा यो कुरा बताउँदै थियो। 

चौधौँ शताब्दीमा छापकोटे राजा र सत्रौं शताब्दीमा रुकुमकोटे राजालाई घोडाबाट खसालेर राज्य विरोधी कित्ताका उभिएको थवाङको वर्तमानका चिसा-कठ्याङ्ग्रिँदा फोटोहरूले थवाङमा क्रान्तिको तातो सेलाएको उद्घोष गर्दै थियो। मैले फोटो हेरेरै अनुमान लगाएँ, “काठको फ्लेक र स्लेट ढुङ्गाले छाना छाएका गुजमुज्ज र बाक्ला घरमा प्राचीन कला संस्कृति झल्कने हस्तकला त बचेका रहेछन् तर, सहिद स्मृति क्याम्पस, सहिद स्मृति पार्क वरपर हिँडिरहेका जनताहरूले ‘पछिल्लो राजनैतिक परिवर्तनपश्चात् हामीले चाहिँ के पायौँ ?’ भनेर सोधिरहेकै छन्।


May be an image of 1 person, standing and outdoors


अर्पणजीलाई पनि प्रश्न सोधियो होला, उहाँले जवाफ पनि दिनुभयो होला। तर, के ? चे, माक्स, एँगेल्स, स्टालिन र माओको तस्बिर सामुन्ने उभिएर ‘थवाङबाट क्रान्तिकारी रातो सलाम’ गरेका अर्पणजीले बताउनु नै होला। 

रोल्पाबाट युद्ध सुरु गरेकाहरू राजनीतिक रूपमा लाभान्वित बनेपछि सुगमतर्फ झरेछन् । रोल्पाका ठुला-ठुला नेताहरूको प्युठान या काठमाडौँतिर घर छ भन्ने कुरा सुनियो । ठिकै हो। यसमा के अनौठो मानिरहनु ?  दुर्गमबाट युद्ध उद्घोष गर्न सकिन्छ, दुर्गमलाई युद्ध क्षेत्र बनाउन सकिन्छ तर दुर्गमलाई सुगम बनाउन सकिँदैन। यो कुरा १० मिनेट आइपुगेर कविता सुनाएर निस्किगएका महराले महोत्सव उद्घाटन सत्रमा अझ सिद्ध गरिदिए।  

***

द्वन्द्वका क्रममा जिल्लामा कुनै पनि विकास निर्माणको कामले गति लिन सकेन । भएका भौतिक संरचना पनि भत्काइए । शान्ति पक्रिया सुरु भए यताका दिनमा विकास निर्माण भए पनि पर्याप्त हुन् सकिरहेको रहनेछ । माओवादी आदर्शको बिउ रोप्ने क्रममा शाही सेना या माओवादी जो-जोबाट यो कृत्य (कू) भएता पनि, तिनलाई उठाउनु अबेला भइसकेको थियो । यिनै कुरा 'बिर्सिएको युद्ध पर्यटन' अन्तर्गतको सेसनमा उठिरहेको थियो । 


May be an image of 3 people


पछिल्लो पटकको राज्य पुनर्संरचना रोल्पालाई १० स्थानीय तहमा विभाजन गरिएको रहेछ । १ नगरपालिकासहित ९ वटा गाउँपालिका र ७२ वटा वडा रहेको रोल्पामा ७ वटा स्थानीय तह पूर्वमाओवादीले जितेको रहेछ भने २ पूर्व एमाले र १ काँग्रेसले जितेको रहेछ । माओवादीको प्रभाव रोल्पामा जीवित नै छ भन्ने कुरा यसबाट पनि पत्तो लाग्थ्यो । तर, माओवादीको आदर्श बाँकी छ कि छैन भन्ने कुरा खोज्नु, नियाल्नु र छाम्नु बाँकी नै थियो । 

***

युद्धका कारण पछाडि परेको रोल्पालाई भौतिक पुनर्निर्माणमार्फत अगाडि ल्याइरहेको गनगन जनप्रतिनिधिहरूको थियो, जुन मलाई खास्सा लागेन। कारण, सुलीचौर नामको भूतपूर्व गाउँले क्षेत्रमा मात्र बजार, विद्यालय र भौतिक सम्पदाहरू ठडिएका देखिए (पुरै रोल्पा त घुमिएन), सुलिचौरका कुनाकाप्चामा यद्यपी खरले छाएका घरहरू नै देखिरहेका थिए (तर यी घरमा गाउँ बचेको छ भन्ने प्रश्न जीवित छँदै थियो) ।


May be an image of tree and nature


सुलिचौरमा देखिएका भवनहरूमा पनि रोल्पाको वासना देखिएन। बस्, होटेल साहुनीले हरेक पटक खानामा दिएको घिउमा भने रोल्पाको बास्ना मगमग थियो। श्यामल दाइको ‘टिमुरको रक्सी’मा पनि रोल्पाको वासना यथावत् थियो क्यार । 

बाँकी त उही- हिँड्न छाडेर ट्याक्टर चढिरहेको रोल्पा, कोदालोले डल्ला फोर्न छाडेर डोजरले पाखा फोरेको हेरेर रमाइरहेको रोल्पा, खेत खन्न छोडेर बोराको चामल ओसारिरहेको रोल्पा, क्लास हाँपेर नेपाल माविको स्कुल ड्रेसमा पब्जी खेलिरहेको रोल्पा। जीर्ण घरको पालीबाट कुरकुरे र मिनिरल वाटर बेचिरहेको रोल्पा ।..आदि इत्यादि रोल्पा..।

यस्तै रोल्पा मेरो धादिङतर्फ पनि छ। यस्ता रोल्पाहरू क्रान्तिकारी रोल्पा होइनन्, जुका रोल्पा हुन् । रोबर्ट रोल्पा हुन् । परनिर्भरता वास्तवमै नेपालभरकै समस्या हो। वास्तविक रोल्पा यस्तो देखिन्छ भने ठोकुवा गरेर भने हुन्छ, “रोल्पाको क्रान्तिचेतबाट प्रभावित सम्पूर्ण रोल्पा (नेपाल) विदेशबाट पैसा झिकाएर विदेशी रम निल्दै भनिरहेको छ-, “म दुई चार दिन सहर भएर आउँछु, वडा अध्यक्षलाई भेट्नु छ । रासायनिक मल कहिले आउने रहेछ सोध्नु छ । उताबाट आउँदा पफ किनेर आउला । दूधको पोको किनेर ल्याउला ।”

आधुनिकता, समय सापेक्ष विकास, अवसरबाट टाढा राखेर पुरानै पुरातनशैलीको गाउँको कल्पना त गरिनुभएन नै तर, सुलिचौरजस्ता निर्माणाधीन सहर (बजार क्षेत्र)माथि प्रश्न भने गरिनुपर्दछ, “आफ्नै मौलिक सुन्दरतामा हाँसिरहेको गाउँमा मोबाइल नेटवर्क, डिस होम, सडक, चाउचाउ, वाइफाई त पुर्‍याउने तर, गाउँको खाँटी कुराहरूको संरक्षण गर्ने कि नगर्ने ? गर्ने भए कसरी गर्ने ?”



एउटा प्रसङ्ग सुनाइहालूँ । पोहोर साल कोरोनापश्चात् घर पुगेको थिएँ । कारण केही पनि थिएन । मलाई मकै, मोही र मुलाको साग चपाउनु थियो । ५/७ दिन गाउँघरमा बसेर गाउँका पत्कर र तुवाँलोहरूसँग जिस्कनु थियो । तिँदुको बोटमा सयेली खेल्नु थियो । घर पुगेँ । पुगेर जुत्ता खोलेको मात्रै के थिएँ, ममीले सेरामिक्सको कपमा दूध चिया र ‘पफ' ल्याउनुभयो । नढाँटी भन्नुपर्दा, सोही ‘पफ’ सेरामिक्सको कपमा डुबाएर खाँदाखाँद वाक्कदिक्क भएर म घर पुगेको थिएँ । ‘तातो भए, लौन समा’ भनिरहनु भएको ममी एवम् थर्र थर्र गरिरहेको पफ र सेरामिक्सको कप नियाल्दै म सोचिरहेँ, ‘नेपाल गाउँ नै गाउँले भरिएको देश हो भनेर कहिलेसम्म भन्न पाइएला ?”

***

फेरी, हाम्रै कुरामा फर्किऊ । 

अब कुनै पनि गाउँको परिकल्पना गर्दा कसरी गर्ने ? अब मौलिक गाउँ खोज्न कहाँ जाने ? डोजरले कोपरेको कुरूप अनुहार लिएर गाउँ कहिलेसम्म हाँस्न सक्ला ?”

‘सिनेमामा छुटेको भूगोल’ नामक सेसनको सहजीकरण म आफैँ गर्दै थिएँ। ‘हाम्रो मौलिक सिनेमामा मौलिक भूगोलको सम्बोधन किन छुटिरहेको छ’ भन्ने प्रश्नमा छविलाल सर (कोपिला)को उत्तर कहालीलाग्दो थियो, “अबको १० वर्षमा वास्तविक थारु गाउँ भेट्न मुस्किल छ। थारुका मौलिक विषयवस्तुमा रहेर जति पनि फिल्म बनाउनुछ भने अबको १० वर्ष भित्र बनाइसक्नुपर्छ, अन्यथा हामीले लाखौँ खर्च गरेर थारु सेट निर्माण गर्नुपर्ने हुन्छ।” कोपिला सरले यसो भन्दा सुलिचौरको गाउँपालिकाको सिमेन्टेड ५ तले भवनले मुन्टो मोड्यो होला कि जिब्रो टोक्यो होला, मैले याद गर्न भ्याइनँ। 


May be an image of 3 people and people sitting


सुदूर गाउँहरूको कथा बुनेर चलचित्र निर्माणमा सक्रिय चलचित्र निर्देशक मनोज पण्डितले कथालिकासँग भनेका थिए, “‘गाउँको आइडल अहिले सहर बनेको छ । सहरले भोग्ने सुख सुविधा भोग्न पाउँछौ कि पाउँदैनौ भन्ने गाउँलाई छ । वस्तु उपभोग गर्न पायौ कि पाएन भन्ने चिन्ता छ, सहरको कपी गर्ने अवस्थामा गाउँ छ। यस प्रक्रियामा परिचय, पहिचान, संस्कृति फ्युजनको अवस्थामा पुगेको छ । यसको निरन्तरता रहिरहे केही वर्ष भित्रमा गाउँको पहिचान र परिकल्पना भेट्न सम्भव हुने छैन ।”

***

अब फेरी अघिल्लो दिनमै आऊ । 

हामी रुइनीबाङबाट फर्किएका थियौँ । भानुभक्त मावि उवा, रोल्पाका स्थायी शिक्षक प्रेमप्रकाश सर (जीएम) एवं रोल्पाकै कवि एलबी सर (साथी) हरू पनि चिया पिउँदै हुनुहुन्थ्यो । उहाँहरू 'आगो लिन गएकाहरू'लाई पर्खिएर उतै जेलबाङ-उवातिर रोल्पाको दुखसँग जुध्दै हुनुहुन्थ्यो । 

'हिजोआज
म केवल एउटै चिन्तामा छु
आगो लिन गएकाहरू 
आगो भएर आगोसँगै फ़र्किएलान्
या उतै निभीजालान् ?' 

आगो लिन गएकाहरूले प्रेमप्रकाश सरका कविताहरूको मर्म कहिले आत्मसात गर्लान् भन्ने प्रश्नमा घोत्लिदै उहाँले सुम्पिनुभएको तातो चिया घुट्काऊदै थिएँ एक्कासि मुकुन्द दाइ (खलपात्र), अञ्जन भाइ (प्रदीप)हरू पनि आइपुग्नुभयो ।

मुकुन्द दाइहरू र म हामी सँगसँगै आउने कुरा थियो तर, एउटा हाइसमा सबै अटेनौँ । उहाँहरू बसमा आउनुभयो, यसकारण अलि ढिला हुनुभयो । उहाँहरू आइपुग्दासम्म हामीले एक-डेढ घण्टा रोल्पाको भूगोल, रोल्पाको हावापानी, रोल्पाका सजीव चित्रहरू र रोल्पाको सुवास छाम्न, मुसार्न, निल्न पायौँ । प्रेमप्रकाश सर, दिलिपजी, सन्यास बड्डा, एलबी सरहरूलाई 'आगो लिन गएकाहरू' हरू किन आएनन् भनेर सोध्न पायौँ ।

मुकुन्द दाइहरू लालटिन बोकेर रोल्पा आउनुभएको थियो, यो आफैँमा डरलाग्दो बिम्ब रह्यो । ‘सम्पूर्ण देशमा परिवर्तनको उज्यालो छरेको रोल्पामा नाटकको यो टोली लालटिन बोकेर किन आएको होला ?, मनमनै यो प्रश्न गर्दै मुखमा हाँसो सोहोरेर भनेँ “रोल्पा अब उज्यालो हुने भयो हाउ दाइ।’ 

मुकुन्द दाइले हाँस्दै भन्नुभयो, “ मुला, त्यो सब छोड न । बरु एउटा चुरोट निकाल यार। रोल्पा अँध्यारो मात्रै होइन, चिसो पनि लाग्यो ।’ 


May be an image of 4 people and people sitting


(क्रमशः..)

यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।

राजु झल्लु प्रसाद

लेखकबाट थप...

सम्बन्धित समाचार