पसिनाका मसिना थोपाहरूको वासना मगमगाइरहेथ्यो, यात्रा भरी । म उकालो चढिराथेँ, बाटो ओरालो झरिराथ्यो । मलाई बडा अचम्म लाग्यो, किन यस्तो ? मलाई अलि माथिसम्म पुग्न पर्ने थियो, बाटो तलतिर लागेको लाग्यै छ । किन त ?

म जतिजती उकालो चढ्दै गएँ, बाटो उतिउती ओरालो झर्दै गयो । मसँग यस्तो धेरै पटक भैसकेको पनि हो। म सहरको साँघुरा गल्लीहरूभित्र पसिरहन्थेँ, बाटो फराकिलो चोक तिर लम्किरहन्थ्यो । 

घर जाँदा मलाई आफ्नो खोरिया बारी, धानखेत खुबै जान मन लाग्छ । चनौटे पाटो, लाम् पाटो, गैह्री सुर्को, भुँडे पाटो, खले गर्दो,...आदि-इत्यादी नाम पनि छ । जबजब म बारी तिर झर्थेँ, बाटो घर तिर लागेको हुन्छ । जबजब एक भारी घाँस बोकेर म घरतिर उक्लिन्छु, बाटो घरबाट बारीतिर ओरालो लागेको हुन्छ। ...सधैँजसो उल्टो नै । 

कहिलेकाहीँ म रानीवनदेखि रत्नपार्कसम्म हिँडेर आउँछु । बाटो यहाँ पनि मलाई पच्छाउदैन् । बिहान म रत्नपार्कतिर लाग्दा ऊ रानीवनतिर सोझिइरहेको हुन्छ । साँझ म रानीवन तिर लाग्दा ऊ रत्नपार्कतिर लम्किरहेको हुन्छ । 

बस्, मैले उदाहरण दिएको यी कुरा त । यी प्रासङ्गिक विषय न भए । 

***

मलाई मेरो पहिलो कविताको शीर्षक 'बाटो' रहेको याद छ । कविता त भलै याद छैन । तर भाव याद भइरहेछ । 

बाटो तँ मेरो साथी हो,
बाटो तँ मेरो सङ्गी हो,
बाटो तँ माथि हिँड्छु म सधैँ,
बाटो तेरो छातीमा कुल्ची हिँड्छु म सधैँ,...

यो ५ कक्षा पढ्दा लेखेको हुँ । मसँग यो कविता हुनुपर्छ तर कहाँ फ्यालेको छु कुन्नि ?...यो लेख्नु अघि आधा घण्टा जति खोजे,...भेटिनँ ।

खैर, यो कुरा अप्रासङ्गिक जस्तो भयो कि ?

***

बचपनमा मलाई कुदिहिँड्न मन पर्ने, दौडिरहनु पर्ने । घरको चोटा कोठाले नपुगेर आगाँनमा दौडिएँ, आँगनले नपुगेर करेसाबारीमा नाचेँ । करेसाबारीले नपुगेर बाख्रा चराउने गल्ली हुँदै बारीका पाटा र खेतका गर्हागर्हा डुलिभ्याएँ । स्कुलको खेलमैदान, पाते माडा र रुची चाउचाउ किन्न किराना पसल पुग्ने बाटो, दसैँ तिहारमा सदरमुकामसम्म पुग्ने बाटो (पिच सडक)..! यसरी म हुर्किँदै गएँ । बढ्दै गएँ । 

म घरदेखि टाढा भएँ । परिवारदेखि पर भएँ । आफन्तसँग घनिष्ठता नै रहेन । मावली जान छोडेँ । ...र, यी सब टाढा रहिरहँदा म यो सहरको हर गल्लीमा भौतारीरहेँ, डुलिरहेँ । 

म घरको दैलोदेखि निस्केर सहरको छतसम्म उक्लिएँ । र, यहाँसम्म आइपुग्ने माध्यम बाटो नै थियो । 

***

म घरीघरी सोच्ने गर्छु, बचपनको साथी 'बाटो' किन अहिले मेरो दुस्मन बनेको छ ? 

किन मेरो विपरीत हिँडिरहन्छ यो ? 

सँगसँगै किन हाँस्दै/कुद्दै दौडिदैन् ? 

हगि, जवान भइरहँदा बाटोसँग किन मेरो दुस्मनी बढेको होला ?...

यो कुरा किन पनि भनेको भन्दा, आजभोलि गन्तव्यसम्म बाटोले पुराउँदै पुराउँदैन । बिचतिर पुग्दा नपुग्दै हाम्रो झगडा पर्छ । ....भाँडभैलो मच्चिहाल्छ ।...

अगि सुरुमै भने जस्तै: म उकालो चढिरहेछु । बाटो ओरालो झरिरहेछ...।

यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।

राजु झल्लु प्रसाद

लेखकबाट थप...