"हावाले मेरो चिताको धुवाँलाई मेरी बहिनीको आँखासम्म लगिरहेछ । त्यही धुवाँको साहारामा ऊ रुन खोज्दैछे ।" यो नाटक 'अनुपस्थित तीन'को डायलग हो । यसरी आजभोलि आफ्ना कलाकारको अभ्यासमा व्यस्त देखिन्छन् शिल्पी थिएटरका संस्थापक तथा निर्देशक घिमिरे युवराज । अब यस्तो परिस्थितिमा नाटक कसरी मञ्चन हुने हो र ? हेर्न जाने त भन्ने लाग्न सक्छ । तर अहिलेको विषम परिस्थितिले निम्त्याएको चुनौतीलाई सामना गर्दै अनलाइन नाटक मञ्चन गर्ने तयारी  गरेका छन् उनले । फ्रान्सेली नाटककार 'जाँ-पल सार्त्र' को 'नो एक्जिट' जसलाई अवतार पाठकले 'अनुपस्थित तीन' नेपालीमा अनुवाद गरेका छन् । उक्त नाटकलाई घिमिरे आफैँले परिकल्पना र निर्देशन गरेका हुन् । नाटकमा पात्रको रूपमा चार जना कलाकारहरू सलिल सुवेदी, उषा रजक, पवित्र खड्का र मानहाङ्ग लावतीलाई देख्न सकिने छ । घिमिरेले कोमा, मजिपा लाखे जस्ता थुप्रै नाटकहरू निर्देशन गरिसकेका छन् भने उनकाे 'आँधीको मनोरम नृत्य' नामक पुस्तक सार्वजनिक भएकाे छ । उनै नाटककार घिमिरे युवराजसँग सहकर्मी पवित्रले गरेको कुराकानी प्रस्तुत छः

चुनौतीका बावजुद अनलाइन नाटक मञ्चन गर्दै हुनुहुन्छ यो सब तयारीमा कस्ता कठिनाइहरू आए ?

यस्तो अभ्यास मेरो लागि नयाँ हो । अझ कोभिड महामारीमा मानसिक रूपमा विचलित समयमा यसरी काम गर्न गाह्रो छ । अनि भौतिक समस्याहरू छन । हरेक कलाकारले आफू बसेको कोठालाई नाटकले मागेको परिवेश बनाउन सकिएन । अर्को ठूलो समस्या, नेपालको झुर इन्टरनेट असुविधा अनि नेपाल सरकारको अघोषित लोडसेडिङ ।  

फ्रान्सेली नाटककारको नाटक मञ्चन गर्ने तयारी गर्नुभयो । कथामा खास के थियो, जसले नाटक मञ्चन गर्न प्रेरित गर्यो ?

नाटकमा धेरै कुरा छन्, त्यसैले मन पर्‍यो । मुलत: मान्छेले आफ्नो अस्तित्वको लागि कसरी लड्छ भन्ने कुरा छ । सबैले लुकाएर राखेका आ-आफ्ना दोष र अपराधका कुरा छन् । अहिलेको समय बुझ्न नाटकले धेरै कुरा भन्छ । जुन केही वाक्यमा म भन्न सक्दिनँ ।   

मञ्चमा हुने अधिकांश  नाटकहरू प्रायः पश्चिमीनै हुन्छन् । नेपाली नाटकहरू कम रोजाइमा पर्नुको कारण के हुन सक्ला ?

मलाई त्यस्तो लाग्दैन ।  

रङ्ग संयोजनले दर्शकमा कसरी/कस्तो प्रभाव पर्छ ?

झुर संयाेजनले झुर प्रभाव पार्छ । राम्रोले गजब प्रभाव पर्छ ।  

रंगमञ्चमा सेट, प्रप्स, कस्ट्युम, ध्वनि, प्रकाशमार्फत रङ्गको प्रयोग इत्यादिले कथाको चिन्तन,अवस्था र भावनालाई प्रतिबिम्बित गर्छ ।  त्यसो भए अनलाइन मार्फत यसको तयारी कसरी गर्नुभएको छ ?

यो कुरा कथा भन्ने तरिका र माध्यममा फरक पर्छ । यसको परिभाषा पारम्परिक बुझाइबाट हुन्न । एउटा उपन्यास सुमसुम्याउँदै त्यसको अक्षर नियाल्दै पढ्छु भनेर बस्ने हो भने अडियो बुक किन आउँथे ? घरमा हातले मोलेर औंला चाटिचाटि दालभात खानेहरू स्वाद परेन भनेर कुनै पार्टी प्यालेसमा यसैगरी खान्छन्  ? 

आ-आफ्नै कोठा मञ्च बनाएर ४ जना कलाकार राखेर पर्फम गर्दै हुनुहुन्छ । कारणवश कुनै एक कलाकारको इन्टरनेट कनेक्सन टुटेको खण्डमा विकल्प के सोच्नु भा छ ?

विकल्प छन् ।  तर सबै किसिमका दुर्घटनाको समाधान छैन । स्वीकार्नु सिवाय ।   

नाटक एउटा बन्द ठाउमा गर्ने भएकोले दर्शकसँग साक्षात्कार गर्न जरुरी हुन्छ । त्यसो हुँदा डाइलग डेलिभरी र इमोसन्स अनलाइबाट कतिको प्रभावकारी छ ?

यो भर्चुअल नाटक हो । फरक पक्कै हुन्छ । 

डिजिटल रंगमञ्च वास्तवमै रंगमञ्च हो त ?

हैन । यो डिजिटल रङ्गमन्च हो । 

भर्चुअल रंगमञ्चको मिठास के छ ?

संसारभरिको नाटक हेर्न पाइन्छ ।

यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।

द मार्जिन

लेखकबाट थप...

सम्बन्धित समाचार