कवानपुरका साहित्यकार, अनुवादक निमेष निखिल एमए एमएड हुन् । नेता लघुकविता (युवामञ्च - २०५२) उनको प्रथम प्रकाशन हो भने मनहरूको परिसर (कवितासङ्ग्रह– २०६५), उमेरको नदी (लामा कविताहरू– २०७०) शोकगीतको पोस्टमार्टम (कविता सङ्ग्रह– २०७१) उनका प्रकाशित कृतिहरू हुन् । 

गरिमा, मधुपर्क, र्मिर्मिरे, समष्टि, अक्षय अक्षर, जनमत, अभिव्यक्ति, रचना, हाम्रो मातृभूमि, गोरखापत्र, कान्तिपुर, नागरिक, अन्नपूर्ण पोस्ट, नयाँ पत्रिका आदि पत्रपत्रिकाहरूमा उनका कविता, कथा, समालोचना, गीत, गजल आदि रचनाहरू प्रकाशित हुँदै छन् । 

सम्पादनः 
अक्षय अक्षर त्रैमासिक (२००३–हाल) 
भोलारामको आत्मा (आरसी रिजालका अनूदित हास्यव्यङ्ग्यहरूको सङ्कलन)
प्वाँखहरू र आकाश (राजेन्द्र भण्डारीका प्रतिनिधि कविताहरूको सङ्ग्रह– २०६७)
सौरभ (साहित्य सङ्गम मकवानपुरको मुखपत्र) विभिन्न अङ्कहरू
मयूख (मकवानपुर बहुमुखी क्याम्पसको स्मारिका– २०६८) 
दस वसन्त (जीएस निकेतन उच्च माध्यमिक विद्यालयको मुखपत्र),
समय सङ्गीत (आशिष सुवेदीका कविताहरू– २०६७), 
किनाराका आवाजहरू (अप्सरा तिम्सिनाका कविताहरू– २०६९),
‘सन्धान’ नेपाली जर्नल, (मकवानपुर बहुमुखी क्याम्पस २०६९),
‘Cross Cultural Discourse’ अङ्ग्रेजी जर्नल, (मकवानपुर बहुमुखी क्याम्पस २०६९)

प्रस्तुत छ, युवावर्ष मोती पुरस्कार २०७२, टीकादेवी जोशी स्मृति सहित्य पुरस्कार २०७५, मकवानपुर साहित्यश्री सम्मान– २०६७ लगायत पुरस्कारबाट सम्मानित निखिलसँग द मार्जिनका लागि राजु झल्लु प्रसादले गरेकाे अनुसंवाद

अनुवादमा स्रोतभाषा र लक्ष्यभाषाबीच बलियो सामञ्जस्यता खोजिन्छ । अनुवाद सिद्धान्त त छँदैछ, तर तपाईंको परिभाषामा अनुवाद के हो ? अनुवादको किन आवश्यक छ ?

अनुवादमा मात्र हैन राजुजी, भाषासिकाइमा पनि स्रोतभाषा र लक्ष्यभाषाको सन्दर्भ आउँछ । र, दुवैतिर सामञ्जस्यको महत्त्व बराबर नै छ । सैद्धान्तिक पक्षतिर लागियो भने अनुवादका आफ्नै कुरा छँदै छन् । अनुवादको परिभाषा नै गर्ने हैसियत त म राख्दिनँ तथापि मेरो विचारमा अनुवाद भनेको एउटा भाषाका सामग्रीलाई अर्को भाषामा रूपान्तर गर्नु मात्र होइन बरू एउटा विधाका सामग्रीलाई अर्को विधामा लैजानु र एउटा भाषिक  संस्कृतिलाई त्यसको मर्म नबिग्रने गरी अर्को भाषिक संस्कृतिमा भाषान्तरण गर्नु पनि हो । र, मेरो अनुभवमा अनुवादको सबैभन्दा महत्त्वपूर्ण र बढी त्रुटि हुने क्षेत्र पनि यही हो ।
 
एउटा भाषाको विषयवस्तुलाई अर्को भाषामा लानुको साहसिकता र दुर्बलताका बारेमा तपाईंलाई बोल्ने मुड छ ? ‘स्रष्टाहरूले राष्ट्रिय साहित्यको निर्माण गर्दछन् भने अनुवादकहरूले वैश्विक साहित्यको निर्माण गर्दछन्’ भन्ने जोसे सारामागोको भनाइप्रति तपाईं सन्तुष्ट हुनुहुन्छ ?

साहसिकताभन्दा पनि रुचि भन्छु म मेरा सन्दर्भमा । सबै भाषामा सबैको पकड नहुन सक्छ तर राम्रा कुरा सबैले पढून् भन्ने लाग्छ मलाई । दुर्बलताचाहिँ हुन्छ किनभने एउटा भाषाका कतिपय विषय र सन्दर्भलाई दुरुस्तै अर्को भाषामा लान सकिन्छ भनेर कसैले भन्छ भने त्यो धृष्टताबाहेक केही होइन । मेरा आफ्नै केही अनुभवले पनि सिकाएको कुरा हो यो ।
तपाईंले जोसे सारामागोको प्रसङ्ग निकाल्नुभयो । यी निकै चर्चित र विवादित लेखक पनि हुन् । १९९८ को साहित्यतर्फ नोबेल पुरस्कार विजेता यिनी नास्तिक विचारका थिए तर उनलाई धर्मविरोधीका रूपमा चिनाउने काम गरियो । उनले ‘स्रष्टाहरूले राष्ट्रिय साहित्यको निर्माण गर्दछन् भने अनुवादकहरूले वैश्विक साहित्यको निर्माण गर्दछन्’ भन्ने जुन सन्दर्भ तपाईंले उठाउनुभएको छ राजुजी, मलाई पनि धेरै हदसम्म त्यस्तो लाग्छ । भाषान्तरण नभएका भए विश्वप्रसिद्ध अनेक लेखकहरू आज केवल आफ्नो मातृभाषामा सीमित रहनुपर्थ्यो । 

अनुवादपश्चात सम्पदान प्रचलित मान्यता हो, तपाईंको हकमा के हुन्छ ? मूल स्रोत एवं विषयका शब्द एवं अर्थहरू समात्न नसकिने जोखिम कत्तिको हुन्छ ? अनुवादका सीमा तथा चुनौतीहरू (भाषिक, सांस्कृतिक र व्याकरणात्मक) कत्तिको व्यहोर्नुहुन्छ ? 
सम्पादन त आवश्यक हुन्छ नै अनुवादपछि । म मूलतः हिन्दीबाट नेपालीमा अनुवाद गरिरहेको छु । नेपाली-हिन्दी समपारिवारिक भाषा त हुँदै हुन्, यिनको माऊभाषा पनि संस्कृत नै भएकाले धेरै हदसम्म अनुवाद सहज पनि छ । त्यसैले मचाहिँ पहिलो पटक सकेसम्म शब्दानुवादकै प्रयत्न गर्छु र पछि अर्थी र अन्य पक्षको सम्पादन गर्छु । कतिपय अवस्थामा एउटाका भाषाका पूर्ण पर्यायवाची शब्द अर्को भाषामा नहुन सक्छन् । कतिपय सांस्कृतिक पक्षहरूलाई अनुवाद गर्न निकै हम्मे पर्ने मात्र हैन सकिँदैन पनि । यस्ता समस्या त आई नै हाल्छन् अनुवादमा । तर कतिपय अवस्थामा हिन्दीका पृथक् सांस्कृतिक सन्दर्भलाई नेपालीमा दुरुस्तै ल्याउन नसक्दा मैले कतिपय कविताहरू आधा अनुवाद गरेर पनि छोडेको छु । कतिलाई जबर्जस्ती टुङ्ग्याएको पनि छु । तर कवि र कवितामाथि अन्याय गरेको जस्तो लाग्दैन ।

म आफैँ पनि अनुवाद गर्ने भएकाले सोध्न मन लागेको  ‘सर्वनामको अनुवाद’ तपाई कसरी गर्नुहुन्छ ? सांस्कृतिक शब्द र  सांस्कृतिक शब्दले निम्ताउने असमान भाषिक गुणलाई तपाईं कसरी 'ट्याकल' गर्नुहुन्छ ?

सर्वनामभन्दा पनि मलाई चाहिँ संयोजकहरूको अनुवाद गर्न गाह्रो लाग्छ राजुजी । (हुन त यो पनि भाषाअनुसार हुन्छ ।) अनुवादमा मैले पनि अनुभव गरेको सबैभन्दा कठिन अनुभूति भनेको सांस्कृतिक सन्दर्भको भाषान्तरण नै हो । स्थानविशेषका विशिष्ट संस्कृतिलाई अर्को भाषीसम्म दुरुस्तै पुर्‍याउन कतिपय सन्दर्भमा असम्भवप्रायः नै हुन्छ । यसका लागि पादटिप्पणी (फुटनोट)को प्रयोगको विकल्प छैन कि भन्ने लाग्छ- खासगरी कविताका सन्दर्भमा । 

साहित्यका पाठकहरू बढाउनुका साथै भाषिक र सांस्कृतिक ज्ञानको धरातल बढाउनु तपाईंको उद्देश्य हो ? तपाईं किन अनुवाद गर्नुहुन्छ ? तपाईंले अनुवाद गर्नुभएको पहिलो रचना कुन हो ? अनुवादतर्फ तपाईंको प्रथम साक्षात्कार कसरी हुन पुग्यो ? 

खासमा मलाई राम्रा लागेका हिन्दी कविताहरू कविता रुचाउने तर हिन्दीको धेरै ज्ञान नभएका पाठकसम्म पुगुन् भन्नु नै मेरो अनुवादको उद्देश्य हो । यसलाई भाषिक र सांस्कृतिक ज्ञानको धरातल बढाउनु पनि हो भन्दा फरक त नपर्ला ।

म तराईमा हुर्केको र वेदप्रकाश शर्माहरू पढेर पढ्ने बानी बसालेको भएकाले पनि होला मेरो हिन्दी मलाई राम्रै लाग्छ । पछि हिन्दीका कतिपय गम्भीर साहित्य पढियो । कविता लेखनमा पनि लागियो । यसै छेकोमा लकडाउनका समयमा केही हिन्दी कवितालाई नेपालीमा ल्याउने प्रयत्न गरौँ न त भन्ने एक किसिमको लहडले यतातिर तानिएको हुँ । जहाँसम्म पहिलो अनुवादसँगको साक्षात्कारको विषय छ २०५१/०५२ तिर हुनुपर्छ, मैले रवीन्द्रनाथ टैगोरको ‘गोरा’ उपन्यास पढेको थिएँ । त्यस बेला त्यसै उपन्यासमा एक ठाउँमा गरिएको प्रकृतिचित्रणले मलाई यति मुग्ध बनायो कि मैले २ पेजजति अनुवाद गरेको थिएँ । त्यो अहिले उपलब्ध छैन । धेरै पछि भारतीय कवि धूमिलको ‘कविता’ शीर्षकको कविता अनुवाद गरेँ । यही नै मेरो पहिलो औपचारिक अनुवाद हो । 

तपाईंको कुनकुन भाषमा पकड छ ? ती भाषा र हाम्रा भाषाहरूबीच व्याकरण, वाक्य संरचना, भाषिक सङ्केत, लक्षणा लगायतका कुराहरूमा के-कति समानता-असमानता भेट्नुहुन्छ ? 

म मूलतः हिन्दीबाट अनुवाद गर्छु । अङ्ग्रेजी पनि कामचलाउ पढ्छु । मैथिली, भोजपुरी पनि राम्रै छ । हिन्दी र नेपाली भाषाका साम्यताका विषयमा माथि पनि भनिसकेकाले नदोहोर्‍याऊँ होला । हिन्दी भाषामा कतिपय कविहरूले प्रयोग गर्ने उर्दू शब्दहरूको अर्थ खोज्न केही जटिल हुन्छ । साथै मलाई हिन्दीको लिङ्गव्यवस्था नेपालीका तुलनामा निकै जटिल लाग्छ । लक्षणा, व्यञ्जना जस्ता पक्षहरूले कहिलेकाहीँ जटिलता ननिम्त्याउने हैनन् । तर, मलाई सजिलो के छ भने राजुजी ! म पहिला कविता पढ्छु । कविताले छोयो र अनुवाद गर्न सहज लाग्यो भने मात्र अनुवाद गर्छु । स्वेच्छिक भएपछि त्यति फाइदा हुन्छ नै । त्यसैले पनि मैले अनुवादका धेरै जटिलताहरूसँग जम्काभेट नगरेको हुन सक्छु । भोलि कसैका तोकिएका कविता वा पुस्तक अनुवाद गर्नुपर्ने भयो भने पक्कै पनि तपाईँले सङ्केत गरेका पक्षहरू देखा पर्छन् होला ।

के अनुवादले लेखन प्रक्रियामा नयाँ शैलीको बीजारोपण पनि गर्दो रहेछ ? तपाईंको अनुभवले के भन्छ ? हामी नेपाली साहित्यलाई अङ्ग्रेजीमा अनुवाद गर्नुलाई नै अनुवाद मानिरहेका छौँ, त्यसो हो र ? सँगै, नेपाली अनुवादको स्तरीयतामा कसरी विश्वस्त हुने ?

पछिल्लो समय मेरो लेखन निकै सुस्त छ राजुजी । केही कविताहरू मात्रै लेखेँ । तर, अनुवादले लेखनका नयाँ नयाँ शैलीसँग भने परिचय गराउँदो रहेछ । हिन्दी कविता पढ्दै गर्दा र अनुवाद गर्दै गर्दा नेपाली कवितामा कमै प्रयोग भएको प्रोज पोयट्रीको शैलीले मलाई निकै प्रभावित बनाएको छ । नेपाली साहित्यलाई अङ्ग्रेजीमा अनुवाद गर्नुलाई नै अनुवाद मानिरहेका हामीले हाम्रै देशका अन्य भाषाहरूमा पनि हाम्रो साहित्यलाई पुर्‍याउनु पर्ने आवश्यकता देख्छु म । कम्तीमा प्राथमिक तहसम्म पठनपाठनमा रहेका भाषासम्म त यो नितान्त आवश्यक देख्छु म । नेपाली अनुवादको स्तरीयताको कुरा गर्ने हो भने जेजति स्तरी काम भएका छन् ती प्रायः व्यक्तिगत प्रयासमा भएका छन् । संस्थागत कुरो त तपाईंलाई थाहै छ  ।

तपाईंका ‘मनहरूको परिसर, उमेरको नदी, शोकगीतको पोस्टमार्टम’ लगायत कृतिहरू प्रकाशित छन् । कविता छाडेर कविता अनुवादतर्फ तपाईं किन हौसिनुभयो ? आफूले लेखेको कविता र आफूले अनुवाद गरेको कविताबीच कुन प्यारो, कुन सप्ठ्यारो ?

योचाहिँ गाह्रो प्रश्न छ । कविता छोडेरै त अनुवादमा लागेको हैन राजुजी । कविता पनि लेख्दै छु । प्यारा त स्वसिर्जित र अनूदित दुवै उत्तिकै प्यारा छन् । यत्तिचाहिँ भनुँ- एउटा मन परेको कविता लेख्दा जुन आनन्दको अनुभूति हुन्छ एउटा सुन्दर कविताको अत्यन्त चित्तबुझ्दो अनुवाद गर्दा पनि उत्तिकै खुसी लाग्छ । 

भानुभक्तलाई प्रमाणिक अनुवादक (संस्कृतबाट नेपाली) मानेका हामीहरूकहाँ अनुवादको इतिहास उति लामो छैन ।देवकोटाले  ‘इन्द्रेणी’ साहित्यिक पत्रिकामा नेपाली कविताहरूको अङ्ग्रेजी अनुवाद गरेको ६५ वर्ष पनि पुगेको छैन ।नेपाली स्रष्टाले अङ्ग्रेजीमा आफैँ अनुवाद गरेका र नेपालीमा लेखिएका साहित्यलाई अङ्ग्रेजीमा अनुवाद गर्ने दुईखाले चलन छ । कुन बेसी झाँगिएको पाउनुहुन्छ ? अर्कोतर्फ, नेपालभित्रै विभिन्न मातृभाषामा अनुवाद र लेखनीको थालनी भइरहेको छ, यसलाई कसरी हेरिरहनु भएको छ ?

भानुभक्तलगायतका प्राथमिककालीन कविहरूले गरेका अनुवाद पर्याप्त मौलिकतासहितका भावानुवाद हुन् भन्ने मेरो विश्वास छ । यसरी हेर्दा त अनुवादको इतिहास लामै छ । देवकोटाले अनुवादका क्षेत्रमा गरेको प्रयत्न स्मरणीय छ । तपाईँले भनेजस्तै नेपाली स्रष्टाले अङ्ग्रेजीमा आफैँ अनुवाद गरेका र नेपालीमा लेखिएका साहित्यलाई अङ्ग्रेजीमा अनुवाद गर्ने दुईखाले चलन हामीकहाँ छ र यो हाराहारीमै गइरहेको छ । अझै भन्ने हो भने कतिपय पैसावालाहरूले झुर रचनाको अनुवाद गरेररगराएर नेपाली साहित्यको बदनाम पनि नगराएका हैनन् भने हामीले विश्वलाई गौरवका साथ देखाउन सक्ने धेरै कृतिहरूको अनुवाद हुननसक्नुको गम्भीर विडम्बना पनि यहाँ छँदै छ । स्वदेशी भाषाहरूमा अनुवादबारे त माथि पनि भनिएकै छ ।

नेपाली साहित्यमा अनुवादको बहस कहाँनेर छ ? साथै, अनुवादको व्यावसायिक पक्षबारे तपाईंलाई बोल्ने मुड छ ? अनुवाद व्यक्तिगत कि सामूहिक ? 

यो बहस नेपाली साहित्यमा घनिभूत रूपमा आवश्यक देख्छु म । मेरा विचारमा अनुवाद कार्य सामूहिक भयो भने त्यो बढी आधिकारिक हुन्छ । व्यावसायिकताबाट त अनुवादलाई पनि अछुतो राखिनुहुन्न ।

अनुवादलाई लिएर  स्रष्टा, अनुवादक, समालोचक, समीक्षक, पाठक र प्रकाशकको उपस्थिति, माग र बजार कस्तो हुनुपर्छ ? कृति अनुवाद गर्ने क्रममा देखिने पूर्वाग्रह र पक्षपातहरूलाई तपाईं कसरी हेर्नुहुन्छ ?

गुणात्मक स्रष्टाका स्तरीय कृतिको अनुवाद हुनु र तिनलाई अन्य भाषाका पाठकसम्म पुर्‍याउनु हरेक हिसाबले उपयुक्त हुन्छ नै । यसमा कसैको विमति रहन्छ जस्तो मलाई लाग्दैन । स्रष्टा पनि आफ्ना रचना अन्य भाषामा पुगुन् भन्ने चाहन्छन्, अनुवादक पनि सुन्दर रचनाको अनुवाद गर्न चाहन्छन्, यसमा समालोचक, समीक्षक र  पाठकको सद्भाव पनि उत्तिकै महत्त्वपूर्ण रहन्छ । प्रकाशकले पनि यसलाई प्राथमिकता दिनुपर्छ । र पनि अन्य क्षेत्रजस्तै यो क्षेत्र पनि गुट, पूर्वाग्रह र पक्षपातहरूबाट मुक्त भने म देख्दिनँ । 

एकेडेमीसहित विभिन्न प्रतिष्ठानहरूले अनुवाद विशेषाङ्क प्रकाशित गरिरहेका छन् । यान्त्रिक अनुवाद (गुगल अनुवाद लगायत) पनि प्रचलनमा छन् । यी कार्यहहरू पर्याप्त छन् ? हामीकहाँ ‘अनुवादकहरूको बलियो प्राज्ञिक सेना’को अल्पता साँच्चै नै हो या सतहमा त्यस्तो देखाइएको हो ? अनुवादको क्षेत्रमा गरिनुपर्ने कार्यहरू के-के हुन् ?

गुट, पूर्वाग्रह र पक्षपातहरूबाट मुक्त अनुवाद आजको खाँचो हो । एकेडेमीसहित विभिन्न प्रतिष्ठानहरूले निकाल्ने अनुवाद विशेषाङ्क पनि योजनाबद्ध प्राज्ञिक काम हुन् जस्तो लाग्दैन मलाई । एउटा कालविशेष, प्रवृत्तिविशेष, यदाकदा विशिष्ट प्रतिभाविशेष अनुवाद राज्यले गरेको झैँ मलाई लाग्दैन । खै हाम्रो एकेडेमीले लेखनाथ, सम, देवकोटा, गोपालप्रसाद रिमाल, पारिजात, भूपी आदिलाई विश्वमा पुर्‍याउन सकेको ? नेपाली कविता, कथा, निबन्ध आदि विधाका कालक्रमिक वा अन्य कुनै आधारमा भएका मानक अनुवादका ग्रन्थ खै ? भनसुन, चलखेल र गुटभन्दा माथि उठ्न नसकेसम्म कुनै पनि क्षेत्रमा स्तरीयाको अपेक्षा गर्न सकिन्न । गुगलले साहित्यको अनुवाद गर्न सक्दैन । अनुवाद सेना तयार पारेर मात्र पनि के गर्ने होला र ? मूल दायित्व राज्यको नै हो तर......!

नेपाली साहित्यको नाममा संसारका पाठकलाई कस्तो कृति देखाउने भन्ने हामीले निर्क्यौल गर्न नसकेका हौँ ? नेपाली साहित्यको अन्तर्राष्ट्रियकरणमा हामी लगातार किन चुकिरहेका छौँ ?

पारिजातको ‘शिरीषको फूल’ मेरिल्यान्ड युनिभर्सिटीले पढाएकै हो त ! त्यहाँ त पक्कै भनसुनले काम गरेन होला । मेरो सङ्केत बुझ्नुभयो होला । अक्सफोर्डका प्रोफेसर माइकल हटले भूपीको कवित्वलाई चिनेर ‘द लाइफ अफ भूपी शेरचन’ लेखेका हैनन् र ? हामीसँग पुरानादेखि नयाँसम्म विश्वबजारमा जान सक्ने धेरै कृतिहरू छन् । आधिकारिक संस्थाहरूले त्यता काम गर्नुपर्‍यो । तर, हामीलाई त कोइराला, भूपी, पारिजात, रिमालभन्दा अगाडि आफैँलाई त्यहाँ पुग्न/पुर्‍याउन हतार छ अनि कसरी चिन्छ विश्वसाहित्यले हामीलाई ?

मैले त सक्काएँ, तपाईंको पो केही प्रश्नहरू छन् कि ?

मैले पनि सकेँ राजुजी । तपाईंका प्रश्नसँग जुध्न धेरै समय लिएँ । तर मजा आयो । अनुवादमा हाम्रा अग्रजलाई हामीले विश्वबजारमा पुर्‍याउन नसकेसम्म हामी यो देशबाहिर पुग्न सक्तैनौँ । यसमा सामूहिकताको खाँचो छ मिलेर काम गरौँ ।
धन्यवाद !
 
प्रस्तुत छन्, उनको अनुवादमा तीन कविताः

जनतन्त्रको सूर्योदयमा
-धूमिल

रक्तपात-
हुने छैन कहीँकतै
मात्र, एउटा पात खस्ने छ !
मात्र, एउटा काँध झुकेर जाने छ !
छटपटाइरहेका पाखुरा र
पीडाले रोइरहेका आँखालाई
बेरबार पारेर राता फित्ताहरूमा एकसाथ
राखिदिने छन्-
काला दराजका निश्चल एकान्तमा
जहाँ रातारात
संविधानका धाराहरू
क्रोधित मान्छेका प्रतिबिम्बहरूलाई
फेरिदिन्छन्
देशको मानचित्रमा
पूरै आकाशलाई
विभाजन गरेर दुई भागमा
एउटा निःशब्द प्रतिबिम्ब बढ्ने छ अगाडि
पर्खालहरूमा बजिरहने छन्
हवाइ हमलाबाट सुरक्षित रहने विज्ञापनहरू
या
ता
या

लाई
बा
टो
दिँदै बलिरहेका हुने छन्
चौबाटाका बत्तीहरू

लोकमार्गको पछिल्लो भागले
ओढिरहेको हुने छ
पहेँलो अन्धकार
सहरका समस्त
पशुवृत्तिहरूका विरुद्ध
गल्लीहरूमा नाङ्गै घुमिरहेकी
बौलाही महिलाको ‘गर्भिणी पेट’ जसरी
लोकमार्गको पछिल्लो भागले
ओढिरहेको हुने छ पहेँलो अन्धकार
र, तिमी
अनुभव गर्दै हुने छौ- अवश्यकताका
हरेक मोर्चामा
तिम्रो शङ्का
एउटाको निद्रा र
अर्काको तिरस्कारसँग
युद्ध गरिरहेछ
मिसिएर अपराधीहरूको झुन्डमा
आफ्नै आवाजको अनुहार छाम्नका लागि
कवितामा
अब कुनै शब्द तुच्छ भइरहेको छैनः
तर मौन रहने छौ तिमी,
तिमी मौन रहने छौ र त्यो लज्जालाई
अर्थहीन मौनताका साथ सहन गर्ने छौ-
यो जानेर कि तिम्रो मातृभाषा
त्यो भाँडा माझ्ने आइमाईको जस्तो छ, जो
महाजनसित रातभरि
सुत्नका लागि सहमत छे-
केवल एउटा साडीका लागि
टाउको काटिएको कुखुराजस्तै तड्पिँदै ।
जनतन्त्रमा

बिहानी भन्नु-
मात्र, चम्किरहेका रङहरूको तिरिमिरी हो
र, यो जानेर पनि, मौन रहने छौ तिमी
वा कदाचित्, पुनरागमनका लागि पहल गर्ने मान्छेको
खोजीमा
एकपल्ट फेरि
तिमी फर्किन चाहने छौ मृत इतिहासमा
तर ठिक त्यसै बेला-
स्मृतिहरूमा बिहानीको पर्दा हाल्दै
अयातित हावा चल्न थाल्ने छ
समाचारपत्रहरूको प्रखर ताप र
वनस्पतिहरूका हरिया उखानटुक्काले
सान्त्वना दिने छन् तिमीलाई
र, समावेश हुनका लागि
रापिँदै गरेको जनतन्त्रको सूर्योदयमा
चुपचाप खोलेर पछिल्लो ढोका-
आफ्ना दिनचर्याको
आउने छौ बाहिर तिमीर त
जहाँ घाँसको टुप्पामा
थर्थराइरहेको टल्पलाइरहेको शीतको एउटा थोपा
झरेर जानका लागि
प्रतीक्षा गरिरहेको छ-
तिम्रो सहमतिको ।

‘संसद से सडक तक’ बाट

गरिबी हटाऔँ

-सर्वेश्वरदयाल सक्सेना

सुन्नासाथ गरिबी हटाऔँ
उसले माटोले आफ्नो टाउको पखाली
र, बसी घरमै पालेको बाँदरअगाडि
जसले खान थाल्यो उसका जुम्राहरू ।
पँधेराको ढुङ्गामा निकै पछारी 
उसले आफ्नो लुङ्गी
धुजाधुजा भएपछि 
त्यसको मयल झन्डाको अकारमा बगेर निस्कियो,
तन्किएर उभिई ऊ घाममा,
उसले ओढेको मजेत्रो कुनै किल्लामा लागेको
शत्रुको सिँढीजसरी
अडिएको थियो उसमा
जहाँबाट ऊ समृद्धि उक्लिँदै गरेको हेर्दै थिई ।

सुन्नासाथ गरिबी हटाऔँ
साराका सारा मान्छे फाटेका जुत्ता सिएर
अनि, चप्पलमा काँटी ठोकेर हिँडे,
निकैबेर हिँडेपछि
जब ती सोच्नका लागि बसे- कता जाने ?
तबसम्म फेरि फाटिसकेका थिए तिनका जुत्ता 
र, उनीहरू नाङ्गै खुट्टा मोचीको खोजीमा थिए ।

सुन्नासाथ गरिबी हटाऔँ
तिनीहरूले एक वृद्धलाई समाते-
जो त्यताबाट जाँदै थियो कतै
र, गन्न थाले उसका चाउरीहरू,
तेइस वर्षसम्म गनेपछि
जब ती अल्मलिए हिसाबमा
त्यसपछि फेरि सुरू गरे गन्ती
त्यति बेलासम्म कम भइसकेको थियो तिनका आँखाको ज्योति
आँखीभौँहरूमा अस्ताइसकेको थियो घाम,
तिनले सोधे वृद्धसँग-
‘के उसले ल्याउन सक्छ राँको ?’
जब उसले गरेन कुनै हलचल
ढल्किएर ढल्यो शरीर एकातिर
अन्ततः तिनले त्यसलाई नै राँकोजसरी 
लिएर हिँड्नेबारे सोच्न थाले
अनि पो थाहा भो तिनलाई-
तिनीहरूका काँधमा मासु नै छैन
र, तिनलाई प्रतीक्षा गर्नु छ- शववाहनको ।

सुन्नासाथ गरिबी हटाऔँ
ती लम्किए चिहानहरूतिर
र, शवहरूबाट निकाल्न थाले कात्रो
जो फोहोर र पुराना थिए,
फेरि ती गए नयाँ कात्रो किन्न
जब आए फर्केर
शवहरूका ठाउँमा बसेका थिए गिद्ध ।

सुन्नासाथ गरिबी हटाऔँ
तिनीहरू बाँधेर चाउरिएका पेटमा सिरानी
घाँसे चौरमा ठिङ्ग उभिए,
आफ्नो आधा शरीर गाई
र, आधा बाँधेर घोडाको पुच्छरमा
चौरभरि घिस्रिएपछि
जब रोकिए ती-
तिनका सबै दाँत झरिसकेका थिए
र, तिनीहरू तातो पानी उमालिरहेका थिए ।

सुन्नासाथ गरिबी हटाऔँ
उनीहरू एउटा अग्लो रूखमा चढ्न र झर्न थाले
कहिले टाउको तल हुन्थ्यो र खुट्टा माथि
कहिले खुट्टा तल हुन्थे र टाउको माथि,
केही दिनपश्चात जब टाउको र खुट्टा
दुवैको चेतना समाप्त भयो
तब ती त्यसै रूखको ठूलो टोड्कामा अड्किए
जहाँ एउटा पुरानो सर्पले फुल पारिराखेको थियो
जो फुट्नै लागेका थिए ।

सुन्नासाथ गरिबी हटाऔँ
तिनीहरू अँध्यारो इनारमा उत्रिए
र गर्न थाले सरसफाइ
इटा, रोडा, फुटेका गाग्रा, खिया लागेका लोहोटा
जम्मा गरिसकेपछि
जब हिलोमा लत्पतिएका ती आउन खोजे बाहिर
तब विभिन्न उपाधिद्वारा अलङ्कृत गर्न थालियो तिनलाई 
र त्यो डोरी काटियो-
जसको सहाराले ती उत्रेका थिए इनारमा ।

सुन्नासाथ गरिबी हटाऔँ
उनीहरू निकै ठुलो रोटी बेल्न थाले,
निकै बेलिसकेपछि
तिनले थाहा पाए- तावा सानो छ
र छैनन् कतै चुलाहरू,
फेरि ती हात बाँधेर बसे
जब पिठोमा फोका देखिन थाले
ती सोच्न थाले फोकाहरूबाट अ‍ैषधी बनाउने विषयमा
जसले गर्न सकोस् भोकको उपचार ।

सुन्नासाथ गरिबी हटाऔँ
तिनीहरूले समाते किराहरू
र छाडिदिए फोहोर बस्तीहरूमा
अनि, बाहिर पालहरूमा बसेर
ती प्रतीक्षा गर्न थाले किराहरू फर्किने
जब सुन्निन थाले किराहरू
र, भाग्न थाले मान्छेहरू बस्ती छाडेर
तब तिनीहरू पनि पाल उठाएर हिँडे ।

सुन्नासाथ गरिबी हटाऔँ
तिनले बनाए बडेमानका नक्साहरू
अँकडाहरू जम्मा पारे
र, रट्न थाले तिनलाई
नक्साका पोसाक लगाएर
जब लहरै उभिए तिनीहरू
बज्न थाल्यो राष्ट्रिय धुन
तिनले सुरु गरे परेड
र, एकै ठाउँमा पछार्न लागे खुट्टाहरू ।

सुन्नासाथ गरिबी हटाऔँ
हरेक घाइते कानहरूलाई चाट्न थाले ती आफ्नो जिब्राले 
र, बोल्न थाले( ठिक तिनैको नापका शब्दहरू 
जब साना हुन्थे कान ती शब्दलाई सानो बनाइदिन्थे
जब ठुला हुन्थे कान ती शब्दलाई ठुलो बनाइदिन्थे
यो तानातानमा चकनाचुर भएर फुटे शब्दहरू
र, चिन्नै नसकिने भए
फेरि तिनीहरूले आफ्नो जिब्रो सिलाए
र, कानलाई बन्द गर्नका लागि
कपासको खेती गर्न थाले ।

(‘कुआनो नदी’बाट)
 
इच्छापत्र....
-बाबुषा कोहली

सफा गर्नू मेरो कोठा म मरेपछि 
खोज्नू एक एक चीज
घरभरि बिनाताल्चा छरिएका छन् मेरा सामानहरू

मेरा सपनाहरू ती महिलाहरूलाई दिएर पठाउनू-
जो भान्सादेखि सुत्ने कोठासम्म खुम्चिएको आफ्नो संसारमा हराएका छन् 

मेरा हाँसोका खित्काहरू वृद्धाश्रमका ती बुढाहरूलाई दिनू-
जसका छोराछोरी हराएका छन् अमेरिकाका जगमगाउँदा सहरहरूमा

हेर्नू मेरो टेबलमा- केही रङहरू होलान् त्यहाँ
ती रङले रङ्गाइदिनू त्यो बिधवाको साडी-
जसको पतिको रगतले रङ्गिएको छ देशको सिमाना
जो हिजै मात्र सुतेको हो देशको झन्डा ओडेर

मेरो चञ्चलता मेरो आनन्द
भरिदिनू तिनका नसा नसामा-
झुकेका छन् जसका काँध गह्रौँ किताबका झोलाले 

मेरा आँसु दिनू ती सबै कविहरूलाई
मलाई विश्वास छ- हरेक थोपाले उत्पन्न गर्ने छन् कविता !

मेरो मान मेरो इज्जत त्यो यौनकर्मी महिलाको नाममा समर्पित होस्-
छोरी पढाउनका लागि बेच्छे शरीर जसले

यो देशका हरेक युवकलाई
समातेर लगाइदिनू इन्जेक्सन मेरो आक्रोशको
यो आवश्यक पर्ने छ तिनलाई क्रान्तिको समयमा

मेरो पागलपन त्यो भक्त सुफीको भागमा पर्छ-
सबैथोक त्यागेर जो निस्केको छ ईश्वर अल्लाहको खोजीमा

अब बाँकी रहे-

मेरा ईष्या, मेरो लालच, मेरो क्रोध
मेरा मिथ्याहरू, मेरो स्वार्थ

यसो गर्नू-
तिनलाई मसँगै जलाइदिनू....

यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।

द मार्जिन

लेखकबाट थप...

सम्बन्धित समाचार