ल्यानमा जन्मेर–हुर्केर आफ्नो कृति र कीर्ति फैलाउन सफल लेखक उषा हमालको दोस्रो निबन्धात्मक कृति ‘भिक्षुसँग प्रेम’ बजारमा आउँदैछ । साहित्यका नाटकबाहेक सबै विधामा कलम चलाएकी हमालका ‘क्यानभास नपाएका चित्र (कविता सँग्रह- २०५८)’, ‘सागआल अजरबैजान (यात्रा निबन्ध सँग्रह- २०७२)’, ‘समय समुद्र (कविता सँग्रह- २०७२)’, ‘बाल' (बाल उपन्यास)’, ‘लोप्पा (कथा सँग्रह- २०७४), ‘ ‘स्कुलभित्र स्कुलबाहिर (शैक्षिक लेख सँग्रह)’ लगायत कृतिहरू प्रकाशित छन् ।

काठमाडौँ विश्वविद्यालयबाट शिक्षाशास्त्रमा एमफिल हमालसँग द मार्जिनका लागि राजु झल्लु प्रसादले गरेको कुराकानीको सम्पादित अंशः

आज लेख्नेहरूभन्दा पढ्नेहरू ज्यादा मर्मज्ञ छन्, यतिबेला  सङ्ग्रह निकाल्नु भनेको अवसर रहेछ कि चुनौती ? सँगै, उपन्यासको बजारमा यात्रा संस्मरण (निबन्ध) लिएर आउनु कत्तिको चुनौतीपूर्ण रहला ?

लेख्नेहरू भन्दा पढने ज्यादा मर्मज्ञ हुनु स्वाभाविक हो किनभने पुस्तक बजारमा छनौटको अवसर छ । गुगल सर्च गर्दा आफ्ना रुचिका किताब पढ्न पाइन्छ । पाठकलाई  जुन किताब पनि पढिरहने बाध्यता छैन । पाठकको रुचिको दायरा फराकिँदै गइरहेको छ । यो लेखकका लागि चुनौतीपूर्ण कुरा हो । 

उपन्यासले बजार पाइरहेको होला तर उपन्यास भन्दैमा जुनै उपन्यासले पनि पाठकको मन जित्छन् भन्ने होइन । यात्रा निबन्ध प्रकाशन गर्दाको मेरो आफ्नै अनुभव पनि राम्रो छ । यस विधाबाट पनि पाठकको अन्तर्मन छुन सकिन्छ ।

‘भिक्षुसँग प्रेम’मार्फत नेपाली साहित्यलाई तपाईंं के दिँदै हुनुहुन्छ ?

नेपाली साहित्य आफैँमा समृद्ध साहित्य हो । जुनसुकै विधामा भने जस्ता किताब उपलब्ध छन् तथापि यो यात्रा निबन्ध पुस्तकले पाठक समक्ष नयाँ सन्दर्भ र स्वाद लिएर आएको म ठान्दछु, यद्यपि यो प्रमाणित हुन बाँकी छ । पाठकहरूका हातमा पुगिसकेकै छैन । यस किताबमा दसवटा फरक विषयवस्तु र प्रकृतिका निबन्ध छन् । पाठकहरूले यी यात्रा निबन्धहरू पढ्दा उहाँहरूलाई म आफैँ सँगसँगै यात्रा गराउन सके भने म आफूलाई सफल ठान्ने छु । 

धुलिखेलदेखि भक्तपुरको सल्लाघारीसम्मको यात्रा नै यस पुस्तकको लेखनको प्रेरणा रहेको बताउनुभयो । यात्राको क्रममा के भएको थियो ? भिक्षुसँग प्रेमको पृष्ठभूमिबारे थोरै कुराहरू बताइदिनुहोस् न ।  

“भिक्षुसँग प्रेम” पुस्तकभित्रको एउटा निबन्ध हो र सबैभन्दा छोटो यात्रामा लेखिएको तर सघन अनुभूति अभिव्यक्त भएको निबन्ध हो । यसबाट मेरो सिकाइ, यात्रा निबन्ध ठूलो ठाउँ र विकसित देश वा रमझमपूर्ण यात्राबारे लेखिनु पर्छ भन्ने होइन रहेछ । धुलिखेलदेखि भक्तपुर सल्लाघारीसम्मको बसको छोटो यात्राबारे पनि लेख्न सकिँदो रहेछ । त्यो बसभित्रको भीडमा कोचाकोच गरी उभिरहेका भिक्षुहरूसँगको मौन संवाद र त्यसबाट उत्पन्न शान्ति  प्रतिको चाहानाले प्रभावित भएर लेखिएको हो यो निबन्ध । यस निबन्धमा द्वन्द्वग्रस्त वातावरणले उत्पन्न अशान्त मानसिकतामा शान्ति प्रतिको आर्कषण व्यक्त भएको छ ।

नाटकबाहेक सबै विधामा कलम चलाउनुभएको तपाईंका ११ वटा पुस्तकहरू प्रकाशित छन् । ती पुस्तकभन्दा यो पुस्तक कसरी अलग छ ?

विधागतरूपले यो मेरो दोस्रो यात्रा निबन्ध कृति हो । पहिलो यात्रा निबन्ध “सागओल अजरबैजान” पाठकहरूले मन पराइदिनु भयो । यसै प्रेरणाले मैले यो दोस्रो कृति पाठकसमक्ष ल्याएकी हुँ । अरू विधाका पुस्तक भन्दा त यो पुस्तक विधाकै कारण पनि फरक हुने नै भयो । “सागओल अजरबैजान” यात्रा निबन्ध पुस्तक भन्दा यो पुस्तक कसरी अलग छ भन्नु सान्दर्भिक होला । लेखन शैली र विषयवस्तु दुबैमा फरक छ यो पुस्तक । म आफ्नो लेखनलाई पाठकको दृष्टिबाट मूल्याङकन गर्न मन पराउछु । सार्वजनिक हुने क्रममा रहेको यो पुस्तक हालसम्म केही पाठकले मात्र पढनु भएको छ । उहाँहरूको प्रतिक्रिया यति उत्साहप्रद छ कि म शब्दमा व्याख्या गर्न पनि सक्दिन । यसरी म आम पाठकबाट यो पुस्तक रुचाइने कुरामा विश्वस्त छु ।



तपाईंको २०३० सालदेखि विभिन्न पत्रपत्रिकाहरूमा लेखरचना, पुस्तक समीक्षा प्रकाशित हुँदै आइरहेका छन् । महिला विचार र समावेशीताको सवालमा नेपाली मिडिया, साहित्यिक सर्कलको रवैया कस्तो पाउनुहुन्छ ?

महिला साहित्यकार, लेखकहरू आफैँ सक्षम र अग्रसर नभएसम्म अरूले उठाइदिएर अगाडि बढन सम्भव छैन । क्षणिक सहयोगको आधारमा महिला लेखनमा दिगो प्रगति हुन्छ जस्तो मलाई लाग्दैन । महिला लेखन केही समय यता सशक्त हुँदै आएको छ । महिला लेखनलाई अघि बढाउन मिडियाहरूको भूमिका महत्वपूर्ण हुन्छ र मिडियाहरूले सहयोग पनि गरिहेका छन् । 

प्रजातन्त्र आएपछि समेत पनि छद्म नामबाट नै तपाईंका लेखहरू प्रकाशित भइरहेका थिए ।  ‘यसको पछाडि लामो कथाव्यथा छ’ भन्नुहुन्थ्यो, त्यो पीडा के हो, भन्न  मिल्छ ?

प्रजातन्त्रको शुरुआतताका सत्ता पक्ष र विपक्ष बीचको व्यवहार भनेको देवा–शुरको जस्तो थियो । सत्ता पक्षरुपी देवहरूबाट म असुर जातको त्यो पनि जागिरे लेखक कति खेदिए होला, अनुमान लगाउन सकिन्छ ।

पछिल्ला किताबहरूलाई केवल लेखकको एकाङ्गी अनुभूतिमा सीमित भएको आरोप लागिरहेको छ ? यसमा तपाईंंको मत के छ ?

त्यो सही हो । खासगरी आख्यान विधा यो समस्याबाट मुक्त हुनु पर्छ । अब लेखकहरूले अघिल्लाे पुस्ताको लेखनको गहन अध्ययन गर्ने बेला आएको छ । अघिल्नो पुस्ताले लेखेको साहित्य कालजयी साहित्य हो । 

समकालीन नेपाली साहित्यले लेख्न छुटाइरहेको विषयवस्तुहरू के-के हुन् ? लेखिएकाहरूमा देखिएका समस्याहरू रु लैङ्गिकताको सवालमा, स्वतन्त्रता र समानताको सवालमा एवम् नारी/अपाङ्ग/प्रौढ/सीमान्तकृत समुदायको सवालमा हाम्रा लेखकहरू कता छन् ?

लेखन विषयवस्तुको सीमा हुँदैन । कहिलेकाहीँ हामीले नसोचेको विषयमा पुस्तक नै प्रकाशित भएको हुन्छ । समाजमा दिनहुँ नयाँनयाँ घटनाहरू घटित भैरहेका छन्  । ती घटनाहरूबाट लेखक कसरी प्रभावित हुन्छ, लेखन त्यसमा आधारित हुन्छ ।

तपाईंंले खोजेका किताबहरू कत्तिको भेटिएका छन ? तपाईंं कस्ता किताबहरू खोज्दै हुनुहुन्छ ? पुस्तक छनौटको आधार केलाई बनाउनुहुन्छ ? पढेकामध्ये सबैभन्दा मन परेका पुस्तकहरू ?

मैले खोजे जस्तो किताब भेटाउन म यही लेखक कै किताब भनेर खोज्दिन । कहिलेकाहीँ नसोचेका किताबहरूले पनि खोजेका कुराहरू दिन्छन् । म लेखकका नामका आधारमा किताब छनाैट गर्दिन । पाठकका लागि किताब छनोट चुनौतीपूर्ण त हुन्छ नै ।

यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।

द मार्जिन

लेखकबाट थप...

सम्बन्धित समाचार