सर्वोच्च अदालतका वरिष्ठ अधिवक्ता महेश नेपालसँग अदालतकाे गतिराेधका सम्बन्धमा गरिएकाे कुराकानीकाे सम्पादित अंशः
नेपाल बार एसोसिएसनले सर्वोच्च अदालतका प्रधानन्यायाधीश चालेन्द्र शमशेर जबराविरुद्ध गरेको आन्दोलनलाई तपाईंले कसरी हेर्नुभएको छ ?
न्यायालयप्रतिको जुन जनविश्वास थियो, न्यायालयले त्यो कायम गर्न सकेन । त्यसमा पात्रहरू को–को हुन् भन्ने कुराहरू पनि छन् । अहिले आएर चोलेन्द्र शमशेरले न्यायपालिकाको नेतृत्व लिन सकेनन् भन्ने मूल विषय हो ।
अर्को कुरा, अदालतमा विभिन्न कालखण्डमा अनियमितता र भ्रष्टाचार भयो भन्ने कुरा उठिरहेको थियो । हरिकृष्ण कार्कीको नेतृत्वमा अदालत आफैंले एउटा समिति गठन गर्याे , त्यसले अदालतभित्रका धेरै विषयहरूलाई उजागर गरेको थियो, सुधारात्मक कदमबारे पनि सुझाएको थियो ।
प्रतिवेदन आएपछि त्यसलाई कार्यान्वयनमा लैजानुपर्छ भनी अदालतभित्रैबाट र बारले पनि यो कुरा उठायो । यी सुधारात्मक कुराहरू प्रधानन्याायाधीशको लेभलबाट गनुपर्ने थियो, गरिएनन् । यसरी विरोधाभाष बढिरहेको अवस्था थियो, समिति गठन हुँदा पनि एक खालको ‘मुभमेन्ट’कै स्थिति थियो ।
एक–डेढ वर्षअघिदेखि नै न्यायापालिका शुद्धीकरण भनेर बारले नै अभियान थालेको थियो । प्रतिवेदन आएपछि त्यसलाई कार्यान्वयनमा लैजानुपर्थ्याे, त्यसो नगर्नु नै अहिलेको आन्दोलनका कारणमध्ये एक हो ।
अर्को, प्रधानन्यायाधीशप्रति जुन खालको विश्वास हुनुपर्थ्याे, त्यो विश्वास उहाँले कायम गर्न सक्नु भएन । अन्तिममा आएर त न्यायापालिकाको प्रमुखले कार्यपालिकाभित्र पनि आफ्ना मानिस प्रवेश गराउनुभयो भन्ने खालका कुराहरू आए । त्यसको उजागर पनि उहाँ आफैंबाट भयो ।
गजेन्द्र हमाललाई क्याबिनेटमा ल्याउनुभन्दा पहिले नै चोलेन्द्रले नामै तोकेर मैले हमाललाई मन्त्री बनाउन खोजेको होइन भन्नुभयो । त्यो भनेको न्यायापालिकाको प्रमुखलाई क्याबिनेटमा कोको आउँदैछन् भन्ने सरोकारको विषय हुँदैन । तर, उहाँले ती कुराहरू गर्नुभयो, उहाँको साँठगाँठ कार्यपालिकासँग छ भन्ने पनि देखियो ।
त्यसकारणले नेपाल बारको आन्दोलन सुधारको लागि हो र शुद्धताका लागि हो भन्नेमा कुनै विवाद छैन । यति हुँदाहुँदै बारभित्र आ–आफ्ना धारणा पनि छन् । समग्रमा न्यायालयको सुधारको बारेमा सोचिनुपर्छ भन्ने एक खालको धारणा छ भने सर्वोच्चको नेतृत्व परिवर्तन गरेपछि हुन्छ भन्ने अर्को धारणा पनि छ । दृष्टिकोणमा केही फरक भए पनि बारको आन्दोलनमा सबैको सहभागिता छ । सर्वोच्च अदालतका प्रधानन्यायाधीशबाहेक सबै न्यायाधीश यो आन्दोलनमा सामेल छन् । यसले चोलेन्द्रको नेतृत्वका ठिक छैन भन्ने कुरालाई स्थापित गराएको छ ।
यो खालको स्थिति आएपछि यसलाई कसरी सम्बोधन गर्ने भनेर सरकारले सोच्नुपर्ने हो, राजनीतिक दलहरूले सोच्नुपर्ने हो । सरकार गठबन्धनका दलहरू यो न्यायालयभित्रको कुरा हो, त्यहीँबाट मिल्नुपर्छ भनेर तिनीहरू भाग्न खोजिरहेका छन् ।
हिजोसम्मको स्थितिलाई हेर्दा सरकारले सार्थक प्रयत्न नगर्ने हो भने हाम्रो न्यायपालिका ‘कोल्याप्स’ हुने स्थितिमा जान्छ । त्यसकारण सरकार र दलहरूले पनि हस्तक्षेपकारी भूमिका निर्वाह गर्नुपर्छ भन्ने मलाई लाग्छ ।
एकजना चोलेन्द्र शमशेर हट्दैमा न्यायालयभित्रका तमाम विकृति र विसंगतिको अन्त्य गर्न सम्भव हुन्छ त ?
मैले अघि नै भनेँ नि सर्वप्रथम अहिलेको समस्या समाधान गर्नुपर्याे, त्यो भनेको चोलेन्द्रबाट अब न्यायालय चल्न सक्दैन भन्ने हो । त्यसपछि एउटा समिति बनाएर न्यायालयको विकृति अन्त्य गर्नका लागि काम अगाडि बढाउनुपर्छ, त्यो समितिले हरिकृष्ण कार्कीको प्रतिवेदनलाई कसरी कार्यान्वयन गर्ने भन्नेबारे पनि छलफल गर्नुपर्छ ।
नेपाल बार एसोसिएसनले २०५१–५२ सालतिर मल्ल होटलमा एउटा कार्यक्रम गरेको थियो, त्यो चाहिँ बन्द सेसनजस्तो गरेर छलफल चलाइएको थियो । त्यहाँ दुई–तीन दिनसम्म भ्रष्टाचारको बारेमा मात्र छलफल भएको थियो । भ्रष्टाचार छ भन्ने निचोड निकाल्दै त्यसबेला अदालतमा सुधार गर्नुपर्छ भन्दै तत्कालीन राजालाई पनि प्रतिवेदन दिएको थियो ।
हिजो पनि बारले भ्रष्टाचारको विरुद्धमा भूमिका खेलेको थियो, आज पनि खेलिरहेको छ । अहिलेको कुरा भनेको न्यायालयको मूल मान्छे नै भ्रष्टाचारमा छन् भन्ने कुराहरू आए । मिडियाले पनि ती कुरा उठाए । नेतृत्वकर्ताको बहिगर्मनपछि अन्य कामहरू गर्दै जाने भन्ने बारको कुरा होला, न्याायाधीशहरूको पनि त्यही होला । समग्रमा जहाँ–जहाँ प्रश्नहरू उठेका छन्, त्यहाँ–त्यहाँ समाधान गर्नुपर्छ भन्ने लाग्छ ।
बारको आन्दोलनमा भएका पछिल्ला गतिविधिहरू उग्र बन्दै गएको छ । त्यसबाट आन्दोलनका नाममा अराजक गतिविधिहरू बढ्ने सम्भावना पनि देखिन्छ, यसलाई चाहिँ कसरी हेर्नुहुन्छ ?
आन्दोलनका नेतृत्वदायी भूमिकामा बसेका मानिसहरूले त्यो खालको गतिविधि गरेका छैनन् । तर, के भइदियो भने आन्दोलनमा दुवै खालका मानिसहरू छन् । आन्दोलनलाई डिफ्युज गर्न पनि मानिसहरू लागेका छन्, मण्डलामा आन्दोलनविरोधी केही व्यक्तिहरू देखिन थालेका छन् ।
बारको नेतृत्वले त्यस्तो गतिविधि गरेको हो भन्ने मलाई लाग्दैन । आन्दोलनलाई व्यवस्थित तरिकाले आन्दोलनकै रूपमा कसरी बढाउने भन्ने एउटा कुरा हो, अर्को चाहिँ घुसपेठियाहरूका गतिविधिलाई निस्तेज पार्न सक्नुपर्छ ।
आन्दोलनमा धेरै खालका मानिस हुन्छन्, त्यसलाई पहिचान गर्दै नेतृत्वकर्ताले आन्दोलन अगाडि बढाउनुपर्छ ।
प्रधानन्यायाधीशले त राजीनामा दिँदै दिन्न भनेर अडान लिइरहनुभएको छ, न्यायालयमा थिति बसाउन आफू अहोरात्र लागिपरेको भन्दै उहाँले मिडियामै बोलिसक्नु भएको छ । यो अडानबीच कसरी आन्दोलनको निष्कर्ष निस्कएला ?
प्रधानन्यायाधीशलाई कसको ब्याकिङ छ भनी म भन्न सक्ने अवस्थामा छैन । तर, प्रश्न के हो भन्दाखेरि न्यायपालिकाको प्रमुखले यो खालको स्थिति भइसक्दा म अझै पनि लिडिरसिपमा बस्छु भन्नु त्यति औचित्यपूर्ण रहँदैन ।
उहाँको विरुद्धमा जुन खालका नाराहरू लागिरहेका छन्, जुन खालका अभियोगहरू लागिरहेका छन् । यी अभियोगहरूको भारी बोकेर उहाँले न्याय दिन सक्नुहुन्छ भन्ने लाग्दैन ।
उहाँप्रतिको जनविश्वास खण्डित भइसकेको अवस्थामा अब म नै रहनुपर्छ भन्ने कुरा गर्नु औचित्यपूर्ण हुन्छजस्तो मलाई लाग्दैन ।
यो प्रकरणमा राजनीतिक दलहरूको मौनताको अर्थ चाहिँ के हो जस्तो लाग्छ तपाईंलाई ?
यो आन्दोलन कानुन व्यवसायीले भन्दा पहिले न्यायाधीशहरूले सुरु गरे । त्यसमा प्रमुख कारकका रूपमा मन्त्रीको नियुक्तिलाई लिइयो । यसले चोलेन्द्रको राजनीतिक पार्टीका नेताहरूसँगको नेक्ससलाई उजागर गरिसकेको छ । साथै, प्रधानन्यायाधीशले भागबन्डा खोजेको भन्ने कुरा आएका छन् ।
अर्कोतर्फ, प्रधानन्यायाधीशले नेताहरूको पोल खोल्दिन्छु भनेर बोलेका कुरा मिडियाले लेखिरहेका छन् । यी कुरालाई पनि हामीले हेर्नुपर्छ । यसले राजनीतिक दलसँग प्रधानन्यायाधीशको राजनीतिक दलसँग नेक्सस छ भन्ने देखाउँछ । न्यायपालिका प्रमुखको राजनीतिक दलसँग नेक्सस हुनु न्यायका लागि स्वस्थ होइन ।
यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।
लेखकबाट थप...