इलाम पर्यटकीय दृष्टिले सुन्दर त छ नै । यहाँका भूमि पर्यटक र कृषिको लागि उर्वर छ । र, यो उर्वर भूमिमा साहित्य, सृजना, समाजसेवा र संगीत नफष्ट्याउने कुरै छैन । धेरै व्यतित्व छन्, जसले मोफसलमा रहेरै पनि नेपालको साहित्य, सृजना र संगीत फाँटमा योगदान पुर्याएका छन् । उदाहरणका लागि कुवेर राई, बुद्धवीर लामा, लेखु विवश, सन्तवीर लामा, पुजन प्रधान, भूपेन्द्र राई लगायतलाई लिन सकिन्छ ।

ती मध्येकै एक व्यक्ति हुन् सुवास राई । पेशाले उनी करफोक विद्यालयका शिक्षक हुन् । त्यसका अलावा साहित्य र समाजसेवा उनको अर्को परिचय हो ।

नेपाल स्काउट, रेडक्रसजस्ता संस्थासँग आवद्ध रहेर समाजको स्थिति र दृष्टि बदल्न होस् या पक्षी संरक्षण संघ केन्द्रको सदस्य रहेर पक्षी र पर्यावरणीय स्थिति बुझ्न आफूलाई सधैँ तल्लीन पाउछन् उनी ।

मोफसलमै रहेर करिब डेढ दशकदेखि निरन्तर साहित्य कर्म गरिरहेका उनको ‘सृष्टि’ (कविता कृति), ‘दार्जेलिङको हिउँ’ (यात्रा संस्मरण) र ‘मेवाहाङ भाषाको समाज भाषिक अध्ययन’ प्रकाशित छन् ।

उनै राईसँग गरिएको कुराकानीको सम्पादित अंश यहाँ प्रस्तुत गरिएको छः 

पेशाले शिक्षक हुनुहुन्छ, त्यसका अलावा साहित्य, समाज सेवा अनि परिवार यो सबैलाई समय कसरी 'म्यानेज' गर्नु हुन्छ ?

जसले समाजलाई सही व्यवस्थापन गर्न सक्छ त्यही व्यक्ति नै सफल हुन्छ भन्छन् है । म चैँ परिवार बाहेक जब–जब विकासका सामाजिक कार्यका कुराहरू उठ्छ, अति आवश्यक देखिन्छ, त्यतिबेला चै संघ–संस्थासँग आबद्ध रहेर समय उपलब्ध गराउने/गर्ने गरेको छु । 

तपाईंको पहिलो कृति ‘सृष्टि’मा धेरै कवितामा बालमनोविज्ञानलाई जोड दिनु भएको छ । पहिलो कृतिमै बालमनोविज्ञानलाई केन्द्रमा राख्नुको प्रेरणा के हो ?

इङ्ग्लिस रोमान्टिक पोयट विलियम वर्ड्सवर्थले ‘द र्यान्वो’ मा उनी प्रकृतिसँग कति रमाए भन्नेबारे लेखेका छन् । मैले आफ्नो बाल्यवस्थामा प्रकृतिसँग धेरै रमाएको थिएँ । यसकारण म उनको कविताबाट प्रभावित भएको भएर मैले ‘सृष्टि’ मार्फत आफ्नो भावना र अनुभवलाइ सेयर गर्न उचित ठानेको हुँ । 

तपाईंलाई मन परेको आफ्नो कुनै कविता सम्झनु हुन्छ ?

ओ ! हिंसा
अब मेरा कविताहरूको हत्या नगर 
मेरा अक्षरहरूको रक्तपात नगर
फेरि शब्दहरू युद्ध मोर्चामा उत्रने छैनन् 
बम र बारुद बन्ने छैनन् ।
विगतमा मेरा कविता तिम्रा हत्केलाहरूसँग डराउथे
अब यो भन्दा बढी घृणा, क्रास र धम्की नदिनू
दुर्भावना, इर्ष्या, वैमनस्यता नल्याउनू
मेरा अक्षरहरूलाई अझ टुहुरा नबनाउनू
द्वन्द्व विस्थापित नगर्नू
मानवताको परकाष्ट शरणार्थी नबनाउनू
जुलुस र कालो झण्डा नहल्लाउनू ।
कोपिलाहरू अकालै चुडिँदा, सगरमाथाले हेरिरह्यो
केवल हेरिरह्यो ।
नदी पनि अविरल बगिरह्यो
केवल बगिरह्यो ।
माटो कसम खाएर भन
अब तिमीले मेरा कविताहरूलाई नतर्साउनू
मानसिक पीडाको बादलले, फेरि आकाश नढाकोस् यहाँ
यहाँ नारी अश्रुधारा नबगोस्, क्रोध नहोस्, हृदय नफाटोस्
मेरा कविताहरू नच्यातिउन
कविताहरू नाङ्गै छन् र हुन्छन् पनि
तर मेरा कविताको ओठमा, सारा नेपालीको मुस्कान छ
भर्खर बिहानी हुँदैछ, अब मेरा शब्द पनि बन्न सक्छ हतियार
होसियार,
नत्र मेरा कविता गोमन भई उठ्ने छन्, तिम्रो तिरस्कारमा ।
नयाँ संसार सृजना गर्ने कविताहरू अनमोल छन्
जीवनहरू अमूल्य छन्, बालकहरू ईश्वर समान छन्
हिनताबाेधलाई जीवन शक्तिमा बदलौँ
काव्य मेरो कर्म भूमि, यो उर्वर भूमि मैले छामे
कमजाेर हुन्छन् जिन्दगी, कतै कठोर हुन्छन् जिन्दगी
बतासले फलेदोको फूल उडाइ लग्यो
अब मेरा कविताहरू नाङ्गै छन्
हिंसा बन्द गर
अब मेरा कविताहरूको हत्या नगर ।

नगर साहित्य तथा संगीत प्रतिस्ठानको सदस्य रहनुभएको नाताले नगरको साहित्यको वर्तमान स्थिति कस्तो छ, यो पनि बताइदिनुस् न ?

हामीले नगरभित्रका साहित्य र संगीतमा आबद्ध व्यक्तिहरूको संख्या संकलन गर्ने कार्य थालेका छौँ । यो कार्य पूरा भई नसकेको स्थिति छ, त्यसैले यकिन तथ्याङ्क छैन । बावजुद नगरले आयोजना गरिरहने कार्यक्रमको उपस्थितिलाई हेर्ने हो भने उल्लेख्य र उत्साहित उपस्थिति रहेको छ । र, अर्को कुरा भनेको हामीले नगरको १४ वटै वडामा, जुनसुकै जातबाट रहने गरी पञ्चेबाजा बजाउने कलाकार टोली बनाउने कार्ययोजनामा काम भइरहेको पनि छ । नाट्य क्षेत्रतर्फ चैँ हाम्रो पहिलो कोशिस भनौँ हामीले यस वर्ष नगरको सहभागितामा, नगरकै सभा हलमा ब्लयाक बक्स बनाएर ३ वटा नाटक प्रस्तुत गर्याैं । ‘सूर्योदय रंगमञ्च’ नामक नाट्य समूह पनि गठन गर्न सफल भयौँ । आगामी दिनमा नाटकघर बनाएरै नाटक प्रदर्शन गर्ने योजनाहरू छ । 

कोरोनाले गर्दा केन्द्रकै थिएटरहरू नाजुक स्थितिमा पुगेको खबर हामीलाई अवगतै छ । इलामका अन्य दुईवटा थिएटरको स्थिति पनि त्यति सशक्त देखिँदैन । त्यसो भए यस नगरमा थिएटरको सम्भावना र भविष्य कस्तो देख्नु हुन्छ ?

अहिलेसम्म चैँ भविष्य के होला कसरी अघि बढ्ने भन्नेबारे गुरुयोजना त तयार गरेका छैनौँ तर यदि सबै विभागले प्रतिबद्ध भएर लागि परे त्यति असम्भव पनि नहोला भन्ने लाग्छ । तर, यो काम त्यति सजिलो भने पक्कै छैन ।

पछिल्ला पुस्तालाइ कतिको पढ्नु हुन्छ ?

पढ्छु नि । साहित्य सम्मेलनमा सबै उमेरका सबै सिर्जनशील पुस्तासँग भेट्ने सुन्ने अवसर जुरिरहन्छ । खुब राम्रो लग्छ । पछिल्ला पुस्ताहरू निकै नै सिर्जनशील र वौद्धिक छन् । 

यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।

पवित्र राई

लेखकबाट थप...

सम्बन्धित समाचार