मुकारुङकाे जन्म वि.सं. २०२१ साल जेठ २६ गते भोजपुरमा भएको हो । नेपाल प्रज्ञा प्रतिष्ठान मातृभाषा विभागका प्रमुख समेत रहेका मुकारुङ देश खोज्दै जाँदा (२०४९), जीवनको लय (कवितासङ्ग्रह, २०६०); हिउँको दरबार (गीतसङ्ग्रह, २०५३); यलम्बर (नाटक, २०५३); फूलको आवाज (२०५५), निष्कर्ष(२०५७), Geaso Movement for Equality (एलबम, २०६३); बिसे नगर्चीको बयान र अन्य कविता (भीसीडी, २०६३) जस्ता कृतिहरू प्रकाशित छन् । प्रस्तुत कविता उनकाे चर्चित कविता सङ्ग्रह बिसे नगर्चीकाे बयानमा सङ्ग्रहित छ । 

उहिल्यै-उहिल्यै.... 
फूलहरू
कविता लेख्थे

फूलहरू-
आदिकवि थिए 
महाकवि थिए 
युगकवि थिए 
जनकवि थिए

उहिल्यै-उहिल्यै....

एकदिन-
अनायास यौटा फूल हरायो 
सारा फूलहरू रोए 
असङ्ख्य भावुक फूलहरूको जीवन 
दुःखमा डुब्यो !

अर्को दिन
अर्को फूल हरायो !
फूलको संसारभरि
हाहाकार मच्चियो
सारा फूलहरू आगो भए
धर्तीको सौन्दर्य
धूवाँ भएर अक्कासियो !

फूलहरू....
राजा भए
नेता भए 
किसान भए
मजदुर भए
अफसोच ।
फूलले फूललाई नै शोषण गर्न शुरू गर्‍यो ।

कवि फूलहरूले विद्रोह गरे
न्याय र समानताको कविता लेखे
मुक्ति र स्वतन्त्रताको कविता लेखे
शोषित फूलहरू जुरमुराए
उठाए हतियार
र भिरे आ-आफ्ना कम्मरमा
असङ्ख्य फूलहरू
फूलहरूबाटै सहिद भए
सारा फूलबारी रङ्गियो
प्रभाती किरणले
धेरै पछि-
मान्छे फेरि त्यहाँ पुग्यो 
फूलहरू-
आफ्नै हृदयको रगतले पोतिएको झन्डा
फरफराइरहेका थिए-
भीर
पहरा
गमला
र आँगनवरिपरि....

मान्छे चुपचाप फर्कियो
र भन्यो-
हे ईश्वर !
सबै फूलहरू मान्छे भइसकेछन्
मैले तपाईलाई
फूल चढाउन सकिनँ !

उहिल्यै-उहिल्यै....  

यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।

श्रवण मुकारुङ

लेखकबाट थप...

सम्बन्धित समाचार