काठमाडौँ - उपत्यकाका तीन प्रमुख जिल्ला अधिकारीहरूले ७ देखि १० दिन लकडाउन थप्ने तयारी गरेका छन् । उपत्यकाका तीन जिल्ला काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारी निषेधाज्ञा थप्ने तयारीमा जुटेका हुन् ।
एकैपटक निषेधाज्ञा हटाइयो भने फेरि महामारी नियन्त्रण बाहिर जाने भन्दै अधिकारीहरूले लकडाउन हटाइहाल्न नहुने बताएका हुन् । त्यस्तै अधिकारीहरूले चरणबद्ध रुपमा निषेधाज्ञा खुकुलो बनाउँदै लैजाने तयारी गरेका छन् ।
अधिकारीहरूले पछिल्लो साताको संक्रमणदरको समीक्षा गर्दै कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)ले असार ७ गतेपछि निषेधाज्ञाको स्वरूप परिवर्तन गर्ने निर्णय गरेअनुरूप अब विस्तारै खुकुलो बनाउँदै लैजाने बताएका हुन् ।
सीसीएमसीको निर्णयअनुसार अहिले खाद्यान्न पसल, डिपार्टमेन्टल स्टोर, पुस्तक, ग्यास पसल, तरकारी पसलहरूलाई प्राथमिकतामा राखेर बिहान ११ बजेसम्म खोल्न दिइएको छ । अब भने अरु क्षेत्रमा पनि निषेधाज्ञा खुकुलो बनाउने तयारी छ ।
यसबारे आइतबार थप छलफल गरिने बताइएको छ । सीसीएमसीको गएको बुधबारको बैठकले निजी तथा सार्वजनिक सवारी–साधन पनि चल्न दिने गरी स्वरूप परिवर्तन गर्ने निर्णय गरेको थियो । यस विषयमा पनि छलफल भइरहेको अधिकारीहरूको भनाइ छ ।
काठमाडौँ उपत्यकामा पछिल्लोपटक जारी निषेधाज्ञा ७ गते राति १२ बजे सकिँदै छ । यसपटक संक्रमण र नियन्त्रणका तमाम आधारहरू हेरी उपत्यकामा थप ७ देखि १० दिन लकडाउन थप्ने तयारी रहेको एक प्रजिअले बताए।
यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।
लेखकबाट थप...