काठमाडौँ – उपत्यकामा लकडाउनको मोडालिटी केही परिर्वतन हुने भएको छ । उपत्यकाका तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूबीचको बैठकमा लकडाउन केही खुकुलो पार्दै असार ७ गतेसम्म लम्बाउने निर्णय भएकाे हाे ।
लकडाउनको नयाँ मोडालिटीअनुसार असार १ गतेबाट मास्क लगाएर हिँडडुल गर्न पाइने भएको छ । यसबाहेक ९ बजेसम्म खुल्दै आएका खाद्यान्न र तरकारी पसललाई ११ बजेसम्म खोल्न दिइने छ ।
गत वैैशाख १६ गतेबाट जारी निषेधाज्ञा जेठ ३१ गते सकिँदैछ । असार १ गतेदेखि विकास निर्माणका कार्यहरू सञ्चालन गर्न पाइने भएको छ ।
त्यस्तै बैंक तथा वित्तीय संस्था, सरकारी कार्यालय लगायत अन्य क्षेत्रमा काम गर्ने कर्मचारीको निजी सवारी–साधनको आवतजावतमा समेत सहजीकरण हुने गरी निर्णय गरिएको छ । तर, सवारीमा आवतजावतमा पूर्ण स्वास्थ्य मापदण्ड अनिवार्य पालना गर्नुपर्नेछ । सार्वजनिक सवारी–साधनको हकमा पहिलाकै मोडालिटी रहेको छ ।
व्यावसायिक गतिविधि लामो समयदेखि ठप्प रहेकाले बजार, पसल खुला गर्ने नयाँ नियम जारी गरिएको छ । होटल–रेस्टुरेन्ट अहिलेसम्म पूर्ण प्रतिवन्धित रहेको अबदेखि टेक अवे र होम डेलिभरी सेवा दिन अनुमति दिइएको छ । बिहान सातबजेदेखि होटल–रेस्टुरेन्टले टेक अवे र होम डेलिभरी सेवा दिन सक्नेछन् । इलेक्ट्रिक र हार्डवेर पसल बेलुका ४ बजेपछि खोल्न पाइने भएको छ ।
यसअघि भएका प्रमुख जिल्ला अधिकारीहरुको छलफलमा जोर–विजोर प्रणालीमा यातायात सञ्चालन गर्न दिने भन्नेबारे समेत कुराकानी भएको थियो । तर, यसबारे कुनै निर्णय भने हुन सकेन ।
यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।
लेखकबाट थप...