काठमाडाैँ । मकवानपुरमा डेङ्गुका बिरामी बढ्न थालेका छन् । कोरोना सङ्क्रमणका  बिरामी बढ्दै गएको बेला लामखुट्टेको टोकाइबाट हुने डेँङ्गुका बिरामी बढ्दै गएको जिल्ला स्वास्थ्य कार्यालय  मकवानपुरले जनाएको छ ।

साउनको १५ दिनमा २८ जना डेङ्गु रोगको सङ्क्रमणबाट बिरामी भएको सो कार्यालयका सूचना अधिकारी लक्ष्मण घिमिरेले बताए । हेटौँडा उपमहानगरपालिका–४ र ५ मा सो रोगको बिरामी देखिएको बताइएको छ ।

मकवानपुरको १० स्थानीय तहमध्ये हेटौँडा उपमहानगरपालिकामा बढी  सो रोगका बिरामी रहेको जनाइएको छ । अन्य स्थानीय तहमा छुटपुट रुपमा सो रोगको सङ्क्रमण देखा परेको छ । सूचना अधिकारी घिमिरेले १५ दिनमा उक्त सङ्ख्यामा बिरामी फेला पर्नु ठूलो समस्या भएकाले सर्तकता, सुरक्षा तथा सचेतना आवश्यक रहेको बताए । सङ्क्रमित हेटौँडा वडा नं ४ तथा ५ का रहेको र उनीहरुको उपचार भइरहेको उनले बताए ।

कतिपय निजी अस्पतालमा उपचार गराइरहेको तथ्याङ्क आउन बाँकी रहेको छ । कार्यालयका अनुसार चालु आर्थिक वर्षको सोही अवधिमा जिल्लामा एक जनामा कालाजार भएको छ भने हेटौँडाका ९ जनामा स्क्रवटाइफस सङ्क्रमण भएको बताइएको छ ।  गत आवमा २९५  जना  डेङ्गुको सङ्क्रमणबाट बिरामी भएका थिए । 

यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।

द मार्जिन

लेखकबाट थप...