काठमाडाैँ । इलाममा भाइरल ज्वरोका बिरामी बढ्न थालेका छन् । गाउँगाउँमा बिरामी हुने क्रम बढेपछि अस्पतालमा बिरामीको चाप बढ्दै गएको छ ।
इलाम अस्पतालसहित फिक्कल बजारमा रहेको प्राथमिक स्वास्थ्य केन्द्र, प्राथमिक स्वास्थ्य केन्द्र मङ्गलबारेलगायतका स्वास्थ्य संस्थामा बिरामीको भिड लाग्ने गरेको छ । साथै निजी अस्पताल तथा मेडिकलमा समेत बिरामीको उत्तिकै चाप बढेको छ । ज्वरो आउने, रुघाखोकी लाग्ने, जिउ दुख्ने, हातखुट्टा करकर खाने, छाती र घाँटी दुख्नेलगायतका लक्षण बिरामीमा छ ।
बालबालिकामा समेत क्षणमा ज्वरो आउने क्षणमै ज्वरो घट्ने, शरीरका केही भागमा तापक्रम बढे पनि केही भागमा चिसोपना नै रहनेलगायतका लक्षण देखिएको छ । कतिपय बिरामीमा अधिक टाउको दुख्ने, बान्ता हुने लक्षणसमेत देखापरेको छ । अस्पतालमा शय्या अभाव हुँदा बिरामीलाई भुइँमा राखेरसमेत उपचार गराइँदै आएको छ ।
डाक्टरले भिडभाडमा नजान र मास्कको प्रयोग गर्न सुझाव दिँदै आएका छन् । पानी उमालेर मात्र पिउन र चिसोबाट जोगिनसमेत स्वास्थ्यकर्मीको आग्रह छ । भाइरल ज्वरोका बिरामी बढेपछि इलाम नगरपालिकाभित्रका केही निजी विद्यालय एक हप्ताका लागि बन्द भएका छन् ।
यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।
लेखकबाट थप...