काठमाडाैँ । उपत्यकाको खानेपानी प्रदूषित भएको कारणले हैजा देखिएको पाइएको छ । प्रतिनिधिसभाको शिक्षा तथा स्वास्थ्य समितिमा हैजा रोगबारे गरिएको छलफलमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. चुमनलाल दासले खानेपानी प्रदूषित भएकाले हैजा देखिएको बताए ।

महाशाखाले हैजा देखिएको ठाउँ बागबजार, डिल्लीबजार र सानेपामा रहेका पानी परीक्षण गरेको थियो । उनले धारापानी, जार, टु्यूवेल, बोरिङको पानी परीक्षण गर्दा प्रदूषित पाइएको बताए । उनका अनुसार वागबजारको खानेपानी प्रदूषित रहेको छ । यस्तै सानेपामा  परीक्षणका क्रममा ६२ प्रतिशत प्रदूषित भेटिएको उनले जानकारी दिए । “पानी कसरी प्रदूषित भयो भनेर हामीले अध्ययन गरिरहेका छौँ”, उनले भने,“अध्ययनका लागि सबै ठाउँको पानीको नमूना सङ्कलन गरिरहेका छाैँ ।”

यस्तै बूढानीलकण्ठ नगरपालिकाले गरेको पानीको परीक्षणमा ७२ प्रतिशत प्रदूषित र जारको पानी १५ प्रतिशत प्रदूषित भेटिएको छ । नगरपालिकाले जार, ढुङ्गेधारा, बोरिङको पानी परीक्षण गरेको थियो । यस्तै काठमाडौँ उपत्यका खानेपानी लिमिटेडले पनि विभिन्न ठाउँको १० वटा खानेपानीको नमूना परीक्षण गरिरहेको छ । महाशाखाका निर्देशक डा. दासले बल्खु र कोटेश्वरको पानीको सातवटा नमूना लिई परीक्षण भइरहेको जानकारी दिए । उनले महाशाखा र काठमाडौँ उपत्यका खानेपानी कम्पनी लिमिटेडसँग मिलेर खानेपानीको परीक्षण भइरहेको बताए । महाशाखाका निर्देशक डा. दासले हैजाको सम्भावित रोकथाम र नियन्त्रणका लागि अस्पतालहरुलाई तयारी अवस्थामा राखिएको बताए ।

स्वास्थ्य सेवा विभागका महानिर्देशक डा.दीपेन्द्ररमण सिंहले अहिलेसम्म १२ जनामा हैजा पुष्टि भइसकेको जानकारी दिए । तीमध्ये ८ जनाको निको भएर घर फर्किसकेका छन र चार जना उपचाररत रहेका छन् । शुक्रराज ट्रपिकल तथा सरुवा रोग, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान र वयोधा अस्पतालमा ती बिरामीको उपचार भइरहेको छ । सबैभन्दा पहिले असार ५ गते बागबजारका दुई जना युवतीमा हैजा पुष्टि भएको थियो । 

यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।

द मार्जिन

लेखकबाट थप...