काठमाडौँ- नेपाल सरकारले दैनिक दुई लाख जनालाई कोरोना भाइरस विरुद्धको खोप लगाउने गरी तयारी गरेको छ । यसका सरकारले लागि आवश्यक  खोप, खोपकेन्द्र र जनशक्तिको व्यवस्था गरिसकेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । मन्त्रिपरिषद्को यही मङ्सिर १३ गते बसेको बैठकले सबै नागरिकलाई निःशुल्क रुपमा कोभिड–१९ खोप उपलब्ध गराउने निर्णय गरेको थियो  । 
मन्त्रालयले जनताको घरदैलोसम्म खोप पुर्याउनको लागि सम्बन्धित जिल्लाका स्वास्थ्य कार्यालयलाई निर्देशन दिइसकेको छ । 
सर्वसाधारणमा कोभिड–१९ विरुद्धको खोप पुर्याउनका लागि नियमित सञ्चालन हुने खोप केन्द्रबाट नै खोप लगाइने छ । अहिलेसम्म नेपालमा दुई करोड ७३ लाख ५६ हजार ५३० मात्रा खोप आइसकेको छ । तीन करोड ५० लाख खोप आउने क्रममा छ । 

अहिलेसम्म एक करोड ८८ लाख ६२ हजार २१६ जनाले खोप लगाइसकेका छन् । तीमध्ये एक करोड दुई लाख ४८ हजार ३६९ पहिलो मात्रा र ८६ लाख १३ हजार ८४७ जनाले पूर्ण मात्राको खोप लगाइसकेका छन् । कूल जनसङ्ख्यामध्ये ३३.७ प्रतिशतले पहिलो मात्रा र २८.४ प्रतिशतले पूर्ण मात्रा खोप लगाइसकेका छन् । 

सरकारले पुस मसान्तभित्र कूल लक्षितको दुई तिहाई र चैतमसान्तसम्म लक्षित सबै नागरिकलाई खोप लगाउने लक्ष्य लिएको छ । सरकारले खरिद गरेर र कोभ्याक्स सुविधामार्फत दैनिक खोप ल्याइरहेको छ । हिजो मात्रै एक लाख ७५ हजार ५६७ जनाले खोप लगाएका थिए । यस्तै मङ्सिर १० गते  एक लाख ९६ हजार ८५३ जनाले मङ्सिर ११ गते एक लाख १५ हजार ४३४, मङ्सिर १२ गते एक लाख २७ हजार ६११ जनाले, मङ्सिर १३ गते एक लाख ४४ हजार ५३४ जनाले, मङ्सिर १४ गते  दुई लाख ११ हजार ५५३ जनाले, मङ्सिर १५ गते दुई लाख २७ हजार ५८४ जनाले र मङ्सिर १६ गते एक लाख ४१ हजार ५५७ जनाले खोप लगाइसकेका छन् । 
सरकारले बालबालिकालाई लगाउनका लागि मोडर्ना र फाइजर खोप ल्याउने तयारीमा गरेको छ । फाइजर खोप एक लाख मात्रा आइसकेको छ ।

यही पुस १५ गतेभित्र मोडर्ना र फाइजर खोप ल्याउने मन्त्रालयको तयारी रहेको छ । मोडर्ना ७७ लाख र फाइजर ६० लाख ल्याउनका लागि सबै प्रक्रिया पूरा गरिएको मन्त्रालयले जनाएको छ। 

यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।

द मार्जिन

लेखकबाट थप...