नयाँ भेरियन्टलाई भेरियन्ट अफ 'कन्सर्न' घोषणा गरी यसलाई 'ओमिक्रोन' नाम दिइयो

एजेन्सी- दक्षिण अफ्रिकी वैज्ञानिकहरूले कोभिड १९ को नयाँ भेरियन्ट पत्ता लगाएका छन् । बी.१.१.५२९ नाम दिइएको उक्त प्रजाति पत्ता लागेपछि वैज्ञानिकले पत्रकार सम्मेलन आयोजना गरेका थिए ।

विश्व स्वास्थ्य सङ्गठनले उक्त भेरियन्टलाई भेरियन्ट अफ 'कन्सर्न' घोषणा गरी यसलाई 'ओमिक्रोन' नाम दिएको छ ।

यो भेरियन्ट पहिलो पटक नोभेम्बर २४ तारिखमा दक्षिण अफ्रिकामा पाइएको थियो । उक्त भेरियन्ट यसअघि नै बढी जनघनत्व भएका अन्य अफ्रिकी सहरमा फैलिएको जनाइएको छ । इजरायल, बेल्जियम र हङकङमा समेत यो भेरिएन्टको संक्रमण पुष्टि भएको जनाइएको छ ।

यो भेरियन्टको ठूलो सङ्ख्यामा उत्परिवर्तित भएको र प्रारम्भिक प्रमाण अनुसार यो भेरिअन्टबाट सङ्क्रमणको जोखिम उच्च रहेको डब्लुएचओले जनाएको छ ।

दक्षिण अफ्रिकाको सेन्टर फर एपिडेमिक रेस्पोन्स एन्ड इनोभेसनका निर्देशक प्रोफेसर टुलियो डे ओलिभेरा भन्छन्‚ ‘यसमा धेरै उत्परिवर्तन छन् । यो  उत्परिवर्तनको असामान्य समूह हो र अन्य भेरियन्टभन्दा निकै पृथक् हो ।’ सञ्चारमाध्यमसँग बोल्दै ओलिभियराले समग्रमा ५० वटा उत्परिवर्तन भएको र ३० भन्दा बढी स्पाइक प्रोटिन भएको बताए।

कैयौँ देशहरूले दक्षिण अफ्रिका जाने वा आउने क्रमलाई पूर्ण प्रतिबन्ध लगाएका वा सीमित पारेका छन् । दक्षिण अफ्रिका, जिम्बाब्वे, बोत्स्वाना, लेसेथो अनि इस्वाटीटीबाट आउने यात्रुहरूमा उनीहरू यूके वा आयरल्यान्डका नागरिक वा यूकेका वासिन्दा रहेको अवस्था बाहेक अन्यलाई प्रवेशमा रोक लगाइएको छ । 

युरोपेली सङ्घ अन्तर्गतका राष्ट्र र स्वीट्जरल्याण्डले पनि अस्थायी रूपमा दक्षिण अफ्रिकी राष्ट्रहरूसँगको हवाई यात्रामा रोक लगाएका छन्।

अमेरिकाले पनि  सोमवारबाट लागु हुने गरी यस्तै खाले व्यवस्था कायम गरेको छ ।  

(एजेन्सीहरुको सहयोगमा) 

यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।

द मार्जिन

लेखकबाट थप...